banner
banner

विदेशीने भीड कसले रोक्ने ?

शाश्वत शर्मा - 
मीठो खान, परिवार पाल्न, लत्ताकपडाको व्यवस्था गन, बिरामी हुँदा उपचार गराउनका लागि प्रत्येक घरका छोराछोरी रोजगारी खोज्दै बिदेशीने क्रम रोकिएको छैन ।
हरेक दिन बैदेशिक रोजगारीका लागि जाने हजारौं युवाहरु र प्रत्येक दिन बाकसमा बन्द भएर आउने दर्जनौं शवहरु हेर्ने र यो संवेदनशीलतालाई बुझ्ने शासक आजसम्म आएनन् ।
नयाँ नेपाल बनाउने भनेर जनयुद्ध भयो, जनआन्दोलन सफल पारेर परिवर्तन पनि भयो । यही जनसमर्थनको आडमा राजनीतिक दलहरुले राजतन्त्र फाले, हिन्दु धर्म मिल्काए । होली वाइन खाए । आखिर भयो के त ?
वर्तमान नेपालको विकास भनेको एउटै छ, त्यो हो सय पचास चर्चहरु बढेर १३ वर्षमा १३ हजार पुगिसकेको छ र संसदलाई आफ्नो पक्षमा बनाउने, आफ्ना लागि निर्णय गराउन सक्ने मजबुत स्थितिमा पुगिसकेका छन् । जुन देशमा ९५ प्रतिशत ॐकार परिवार छन्, त्यो देशमा इसाइहरुको यतिसम्मको प्रभावकारिता । आखिर कुन कारण हो, जसले इसाइका इसारामा निर्णय गर्न र आफूलाई हिन्दुवादी संस्करणमा उतार्न परिवर्तनकारीहरुलाई प्रोत्साहित गरिरहेको छ ।
धर्मनिरपेक्ष संविधान लेख्ने दलका दलपतिहरु आज पूजा गर्छन्, हिन्दु परम्परामा आफूलाई भिजाउँछन् । देखाउँछन् । काम इसाईका लागि गर्ने र देखावटी हिन्दु परम्परामा देखिने । यो नाटकको पटाक्षेप हुन जरुरी छ ।
धर्मपरिवर्तन र राजसंस्था फालिएपछि नेपालमा नेपालीले गरिखान नपाएका हुन् । भएका उद्योगधन्दा बिक्री गरिए, निजीकरण गरिए । नयाँ उद्यम खोलिएन । पेट भर्नै प¥यो, परिवार हेर्नैप¥यो र यसका लागि रोजगारी खोज्दै विदेश जाने बाध्यता हुनेनै भयो ।
यहीकारण हरेक दिन एयरपोर्टमा देखिने यो भीड कम गर्नेतिर संसद, सरकार, उद्यमी, व्यापारी, चिन्तक कसैको पनि ध्यान गएको छैन । होनहार युवायुवतीहरु प्रत्येक दिन यसैगरी एयरपोर्टको ढोकाबाट छिरेर विदेशीन्छन् । उज्यालो आशा लिएर जानेहरुले अन्धकार भविष्य देखेका हुँदैनन् र अनेकन समस्याहरुमा जुधिरहेका छन् । यिनीहरु वैदेशिक रोजगारीमा जान लागेका हुन्, फर्कनेको यस्तो भीड आजसम्म देखिएको छैन । जो फर्केका छन्, लाश भएर फर्केका छन् र ती लाशका कथा व्यथाको विश्लेषण गर्नेसम्म कोही छैन, सरकार छ, माफिया बनेर चलिरहेको छ । जनताको सरकार छैन ।
प्रत्येक दिन हजारदेखि २५ सयसम्मको भीड यसैगरी विदेशीन थालेको वर्षौं भइसक्यो । कुनै तथ्यांक छैन सरकारसँग । विदेशीएका युवायुवतीलाई फिर्ता ल्याउने कार्यक्रम, आकर्षण पनि छैन । विदेशमा कति मर्छन्, जेलमा कोचिन्छन्, मृत्युदण्ड कुरिरहेका छन्, शोषणमा परेर असरल्ल छन्, तिनको रेखदेख गर्ने सक्रियता पनि सरकारमा देखिदैन । सरकार खाली सत्ता र शक्तिको आर्जनमात्र लागेको छ । देशबाट यसैगरी युवा समूह रित्तिदै गएको छ । अहिले त पहाड र तराईमात्र रित्तिदैछ, केही वर्ष यस्तै हुने हो भने देशमा बृद्ध र बालबालिकामात्र देखिने छन् । लोकतान्त्रिक सरकारले सोच्नुपर्ने देशको विकास र भावी पुस्ताका लागि पनि हो । तर आफूले र आफन्तले खान पाए भइहाल्यो भनेर सरकार जनताका लागि सोचिरहेको छैन ।
समाजशास्त्री र राष्ट्रवादीहरुले देश निर्माणमा देशकै युवाहरु आवश्यक छन् भनेर नसोच्ने हो भने नेपाल अन्धकार भविष्यतिर लाग्यो भनेर भन्दा हुन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper