banner
banner

मेघौली ः किन उपेक्षित ?

शाश्वत शर्मा -
मेघाँैली । नारायणघाट बजारको पुलचोकबाट करीव एकतीस किलोमिटर पश्चिममा पर्छ मेघौली  करीव सात, आठ वर्ष अघिसम्म चालुरहेको मेघौली विमानस्थल निजीक्षेत्रको टाइगर टप्स होटल बन्द भएसँगै आन्तरिक बाह्य पर्यटकहरुको कमीका कारण एयरपोर्ट पनि बन्द हुनपुग्यो । एकताका सधैंजसो गुलजार, पर्यटकहरुको खचाखच आगमन हुने मेघौली यतिबेला चकमन्न छ । मानौं मेघौलीले जिवन्तता हराइसक्यो ।
आदिवासी थारु जातिको बाहुल्यता रहेको यो क्षेत्रमा खेती किसानीबाहेक रोजीरोटीको अर्को बिकल्प भनेको पर्यटन प्रवद्र्धन नै हो । पर्यटन नाममात्रमा सिमित छ । पर्यटन विकासका लागि सरकार र सम्बन्धित निकायले माखो पनि मारेको छैन । नेपाल भ्रमणवर्ष २०२० संघारमै आइसक्यो, मेघौली पर्यटन वर्ष कुरेर बसेको छ । मेघौलीतिर पर्यटन प्रवद्र्धनको कुनै काम भइरहेको छैन ।
एकताका टाइगर टप्समा बार टेन्डरको जागीरबाट आफ्नो गुजारा चलाएकाहरु धेरै छन् । हुन त मेघौली महानगरक्षेत्र हो । भरतपुर महानगरपालिकाको २७ वडा हो मेघौली । यहीं बसोबास गर्छन् ४९ वर्षका सोमलाल महतो । जागीर छुटेपछि २०६७ मा जागीर छुटेपछि उनी र यस क्षेत्रका अन्य व्यक्तिहरु थारु सामुदायिक होम स्टे सुरु गरेर जीवनयापन गरिरहेका छन् । पहिला ५ घरबाट सुरु भएको होम स्टे अहिले दोब्बर भइसकेको छ ।
आगन्तुक पर्यटकहरुलाई थारु संस्कृतिको पहिचान गराउनेदेखि थारु संस्कृतिको जगर्नो गर्नसमेत यो होम स्टे कार्यरत रहेको देखिन्छ । होम स्टे स्थानीय तहमा रोजगारीको राम्रो माध्यम बनेको छ । यसबाहेक आदिवासी थारुहरुको कलासंस्कृति, रितिरिवाज झल्कने किसिमले संग्रहालयसमेत संचालन गरिएको छ । थारु सामुदायिक होम स्टेले बस्न, घुम्न, थारु संस्कार देखाउन बुझाउन विभिन्न किसिमका सेवाहरु दिदै आएको छ । यतिमात्र होइन, सस्तो, सुलभ र सांस्कृतिक बसोबासका साथै मेघौली वरिपरि जीप सफारी, हात्ती सफारी, घुमघामलगायतका सेवा दिदा सयौंले रोजगारी पाएका छन् ।
मेघौली सामुदायिक होम स्टेको सबैभन्दा राम्रो पक्ष भनेको जे जति आम्दानी हुन्छ, त्यसको दश प्रतिशत सामुदायिक कोषमा र दश प्रतिशत समुदायको विकासमा संचिति र खर्च गर्ने प्रवन्धसमेत गरेको छ । हालसम्म ३ नम्बर प्रदेश सरकारबाट यो कोषलाई ३ लाख, वडा कार्यलयबाट १ लाख सहयोग प्राप्त भएको छ । मेघौली विमानस्थल पुनः सञ्चालनमा आए हामीलाई मात्रै होइन, यो क्षेत्रलाई नै आर्थिक लाभ र विकास हुनसक्ने थियो भन्छन् सोमलाल महतो ।
जागीर छुटेपछि खाडी मुलुक, मलेसियाजस्ता स्थानहरुमा गएर जोखिमपूर्ण कार्य गर्ने नेपाली युवायुवतीका लागि थारु होम स्टे नेपालमै केही गरेर बाँच्न सकिन्छ भन्ने उदाहरण बनेको छ ।
नेपाल भ्रमणवर्ष २०२० को तैयारीमा जुटेको नेपाल सरकार, पर्यटन प्रवद्र्धन बोर्डको ध्यान मेघौलीतिर पनि जानु जरुरी छ । बाटो, यातायातको सुविधामात्र दिने हो भने मेघौली होम स्टेजस्ता अनेक रोजगारीका विकल्पहरु खुल्ने थिए ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper