banner
banner

बाबुरामभित्र मदन भण्डारी बन्ने रहर जागेछ

गोविन्दप्रसाद पौडेल -
कहाँ राजा भोज, कहाँ ंगंगु तेली । कहाँ मदन भण्डारी, कहाँ बाबुराम ।
मदन भण्डारीले खुलामञ्चबाट राजालाई चुनाव लड्ने चुनौति दिएका थिए, जब उनले राजालाई भेटे, उनको विचार नै बदलियो । त्यसपछि उनले फेरि फेरि राजालाई यसरी ललकार्ने गल्ती गरेनन् । उनको आदरभावले नेकपाभित्र अर्कै तरङ्ग उत्पन्न भएको देखिन्छ ।
प्रचण्डसँग छुट्टिएर नयाँ शक्ति पार्र्टी खोलेका बाबुरामले पार्टी चलाउन नसकेपछि विवेकशीलमा गएर टाँसिए । त्यसमा पनि टिक्न नसकेर अहिले संघीय समाजवादीका उपेन्द्र यादवसँग मिल्न पुगेका छन् । त्यहाँ पनि उनले राजनीतिक भविष्य कमजोर देखेपछि कसरी चर्चामा आउने भनेर बिरालोलाई रिस उठ्यो भने खावाँ चिथोर्छ भनेझैं राजामाथि जाइलाग्न पुगेका छन् । उनले पार्टी खोलेर चुनाव लड्न पूर्वराजालाई ललकारेका छन् ।
असोज ३० गते गोरखा पुगेका डा.बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर खुला राजनीतिमा आउन ललकारेका हुन् ।
त्यही गोर्खामा पूर्वराजा जाँदा सिंगो गोरखा उल्टिएको थियो, त्यही गोर्खा, बाबुरामको चुनाव क्षेत्रमा २ जनाका वीचमा उभिएर बाबुरामले आफू चर्चामा आउन ठूलो कुरा गरेका छन् ।
राजतन्त्र फर्कन्छ फर्कन्न, त्यो जनताको कुरा हो । जनताले चाहँदा पटक पटक परिवर्तन भएको छ । ०४७ को उत्कृष्ठ र निर्विकल्प संविधान जनताले च्यातेका हुन् भन्ने बाबुरामले बिर्सनु हुन्न, किनकि अन्तिम सत्य जनता हुन् ।
जनताले चाहे राजतन्त्र फर्केला, नचाहे नफर्केला । राजाले पार्टी खोलेर राजनीतिमा आउने गर्दैनन् । नेपालका राजा, नेपाल निर्माताका सन्तान हुन् र परिवर्तनको १३ वर्षपछि पनि उनको यश, गौरव र लोकप्रियता कत्ति घटेको छैन, झन झन बढेर गएको छ ।
यसैपालीको दशैंमा निर्मल निवासमा आमनागरिकमाथि लाठी चार्ज गर्नुपर्ने अवस्था आयो, अगाडिको शितल निवास अथवा बालुवाटारमा दुई सय जनाले पनि टीका थाप्न गएनन् । यत्तिबाट थाहा हुन्छ, राजाले चुनाव लड्नुपर्छ कि पर्दैन ?
राजाले चुनाव नलड्दा लोकप्रियताको त्यो स्थिति छ । राजाले निर्मल निवासबाट झापा, पर्सा, जनकपुर, पोखरा, नेपालगञ्ज जता गए पनि माहुरीहरु रानोलाई घेरेझैं घेर्छन्, डा.बाबुराम भट्टराई अथवा लोकतन्त्रका कुनै नेतालाई आमनागरिकले त्यसरी घेरेको देखिन्छ ?
शुक्रवार नेकपाका अध्यक्ष प्रचण्ड धनगडी गए, त्यसअघि चितवन पुगेका थिए । अथवा भृकुटी मण्डपमा नेकपाका चियापान समारोह भएको थियो । त्यहाँ भीड त देखियो तर नेकपाका कार्यकर्ताको । एकजना पनि सर्वसाधारण थिएनन् त्यहाँ । डा. बाबुरामजी यत्तिमात्र भनौं– लोकतन्त्रवादी कुनै नेता बिना प्रहरी सुरक्षा कतै जान सक्छन् ? जनताका प्रतिनिधि जनतासँग घुलमिल गर्न जान पनि सुरक्षा बन्दोबस्त मिलाएर जानुपर्ने कस्ता नेता हुन् ?
पूर्वराजा जता जान्छन्, बिना सुरक्षा जान्छन् र सरकार उनलाई सुरक्षा दिन बाध्य भइरहेको छ । यो लोकप्रियता देखिसकेपछि राजालाई चुनाव लड्न आउ भनेर ललकार्नुको अर्थ छ ?
डा.बाबुरामले भनेका छन्– ‘राजतन्त्र आवश्यक छैन भनेर गणतन्त्र ल्याएका हौ, राजतन्त्र फर्कन्छ भनेर शंका गर्नुपर्र्दैन, कुनै हालतमा आउँदैन, आउन पनि हुँदैन । जातीय र वंशीयय आधारमा देश चलाउने दिन समाप्त भइसक्यो । लोकतान्त्रिक गणतन्त्र पश्चात मुलुक विकास र समृद्धिको नयाँ चरणमा पुगेको र एजेण्डा समेत फेरिएको छ । पूर्वराजा ज्ञानेन्द्रलाइ मेरो पद आवश्यक छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडे हुन्छ, पारस र हिमानीलाइ पनि उठाए हुन्छ । जनताले चुनाव जिताए भने देश चलाए हुन्छ, हामीलाई त्यसमा कुनै आपत्ति छैन । दशैंमा जनता टिका लगाउन गए भन्दैमा राजतन्त्र आउँछ भन्नु गलत हो । त्यो ठूलो कुरा होइन, हामी अव गणतन्त्रबाट पछाडि फर्कन सक्दैनौं । गणतन्त्रलाई टेकेर समृद्ध नेपाल बनाउने एजेण्डामा अघि बढ्न सबैलाई आग्रह गर्दछु । यसका लागि दलहरु बीच एकता हुनु जरुरी छ ।
एकता भएकैले परिवर्तन भएको हो । नढाँटी भन्ने हो भने राजनीतिक एकता दिल्लीले गराइदिएको हो । यसको प्रमाण प्रणव मुखर्जी हुन् कि रअका पदाधिकारी, उनीहरुले पुस्तक लेखेर, प्रतिक्रिया दिएर वा अल जजिरा टीभीमा अन्तरवार्ता दिएरै भनिसकेका छन्, नेपालको परिवर्तन हामीले गराइदिएका हौं । यसकारण त भारतका कुनै पनि हेपाह प्रवृत्ति, अतिक्रमण अथवा हस्तक्षेपमा बाबुरामहरु आँखा चिम्लेर बस्ने गरेका छन् । लोकतन्त्रको स्याल हुइयाँ गर्ने बाबुरामहरु लोकतन्त्रले जनताले के दियो ? देश कति सुरक्षित भयो ? देशमा शान्ति र समृद्धि आयो कि आएन ? भन्न सक्छन् ?
हो, समृद्धि आयो बाबुरामजस्ता सबै नेता र तिनका पिछलग्गुहरुलाई आयो, आमनागरिक पीडामा छन्, छटपटीमा छन्, करको भारमाथि भारमा छन् । युवाले गरिखान पाएका छैनन् । युवतीहरु विदेशमा शरीर बेच्न बाध्य छन् । यो निर्लज्जता यिनै नेताको देन होइन र ? 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper