banner
banner

धन्यवाद नेपाल राष्ट्र बैंक

धर्मरत्न श्रेष्ठ -
नेपाली सयको नोटमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’, लेखियो र चलनचल्तीमा आएको छ । नहुनु मामाभन्दा कानो मामा निको । कम्तिमा यतिसम्म त गरियो । यति गर्नका लागि समेत राष्ट्र बैंकलाई गाँडफत्ते परेको थियो ।
यद्यपि नेपाली नोट अन्य मुलुकमा चल्दैन । हाम्रो कमजोर अर्थतन्त्रका कारणले पनि नेपाली नोटको ओजन कम छ । यसकारण आलोचना गर्नेहरुले भन्छन्– बुद्ध नेपालमा जन्मेका हुन्, यो स्वतःशिद्ध विषय किन उठाइरहनु पर्छ र ?
बुद्ध नेपालमा जन्मेका हुन् भनेर हामीले नोटमा मात्र होइन, विश्वभरि नगारा बजाउन सके बजाउनु पर्छ । यो यस्तो विषय हो, जुन नेपाली गौरव त हो नै, नेपाली पर्यटन प्रवद्र्धन, नेपालको आर्थिक उन्नयनदेखि नेपाली पहिचानसम्मका विषयबस्तुहरु जोडिएका छन् । बुद्ध शान्तिका प्रतीकमात्र होइनन्, नेपालको पहिचानका अनेकमाध्यमहरुमध्ये एक हुन् । बुद्धको प्रचार हामीले गर्नै सकेका छैनौं, गर्न सके यही कार्यबाट समेत नेपाली पहिचान अरु उजेलिने र चम्किनेछ ।
नयाँ नोटमा सगरमाथा छ, नेपालको नक्सा छ, अशोक स्तम्भ पनि देखिन्छ ।  र लुम्बिनी दी बर्थ प्लेस अफ लर्ड बुद्ध लेखिएको छ । यसपटकको नोट दृष्टिबिहीनहरुले छामेरसमेत पत्ता लगाउन सकिने चिन्हहरु अंकित छन् ।
अहा, सयको नोटमा मायाँदेवीको पानीचित्र दायाँतर्फ लालीगुराँस । यतिमात्र होइन, नोटको मध्यभागमा एकसिंगे गैंडा र बच्चासमेत अंकित छ ।
सयको नोट नेपाली पहिचानसहितको नोट मान्न सकिन्छ । पर्यवटन वर्ष सुरु हुनुअघि प्रशारण भएको यो नोटले धेरै विशेषता बोकेको छ । यही प्रकारले नेपालको राष्ट्रिय नीति नै हुनुपर्छ कि बुद्धबारेमा व्यापक प्रचारप्रसार गर्ने । प्रचारका नाममा कमिशनको लोभमा विज्ञापन दिने र हुनुपर्नेजति प्रचार नभएका धेरै उदाहरणहरु बिगतमा पनि थिए, अहिले पनि छन् । पर्यटन प्रवद्र्धन बोर्डभित्र लोभीपापी र कमिशनको चक्करमा लाग्ने प्राणीहरु भएकाकारणले प्रचारमा खोट रहदै आएको देखिन्छ । आइन्दा त्यस्तो नहोस् भन्नेतिर विशेष ध्यान जान जरुरी छ ।
नोटमात्र भएर हुन्न । अर्थनीति गलत हुँदा, मौद्रिक नीति असफल हुँदा नोटको क्रयशक्ति झन झन घटेर गएको छ । बजेटको आकारजति नै व्यापार घाटा हुँदा यसको नकारात्मक असर नेपाली नोटमाथि पनि परेको छ । उत्पादनमूलक र रोजगारीमूलक उद्यमहरु फस्टाउन सके आर्थिकस्थिति मजबुत हुनेछ र नोटको क्रयशक्तिसमेत बढेर जानेछ । जति जति नोटको क्रयशक्ति बढ्छ, उति उति नेपाली अर्थतन्त्र बलियो भएको संकेत दिन्छ । केही वर्ष अघिसम्म थाइलेण्डको भाट नेपालीभन्दा कमजोर थियो, आज चारदोब्बर महगो भएको छ । यसबाट के देखिन्छ भने नेपाली नोटको स्थिति धेरै नै खस्केर गएको छ ।
पर्यटन र जलस्रोत नेपाली अर्थतन्त्र सुधार्ने मुख्य स्रोत हुन् । यसबाहेक सगरमाथा र बुद्ध अर्का होनहार विषयबस्तु हुन् । शान्ति खोज्नेदेखि मनोरञ्जन गर्नेसम्मका विश्व जनमानस नेपालमा आउनसक्छन् । आज प्रतिव्यक्ति विदेशी ऋणभार ३६ हजार नाघेको छ । यो बढ्दो क्रममा रहेकाले आत्तिनुपर्ने विषय हो । शान्ति र समृद्धि अनि आर्थिक मेरुदण्ड बलियो पार्नका लागि बुद्ध विश्वका आकर्षण हुन् । बुद्धको जति प्रचार गर्नसक्यो पर्यटन व्यवसाय उति फस्टाउने निश्चित छ ।
धन्यवाद नेपाल राष्ट्र बैंक । अव नेपाल निर्माता पृथ्वीनारायण शाहलाई समेत नोटमा अंकित गर्नसके नेपालको इतिहास पनि समेटिने थियो । यसतिर गभर्नरले ध्यान दिएका छैनन् । राजनीतिक पूर्वाग्रह समेत कायमै छ । इतिहास पूर्वाग्रहले जगर्नो गर्न सकिन्न । इतिहास त इतिहास नै हो, पुर्षा त पुर्षा नै हुन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper