banner
banner

अव ई पासपोर्ट

पदम हमाल -
 नेपालले पनि ई पासपोर्ट पद्धतिमा जाने निर्णय गरेको छ । यसको तैयारी भइरहेको परराष्ट्रका अधिकारीले जानकारी दिएका छन् । प्राप्त सूचनाअनुसार परराष्ट्र मन्त्रालयले आगामी असारभित्र पहिलो चरणमा ५० लाख विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण थाल्ने योजना बनाएको छ । एक वर्षपछि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नवीकरण गर्न वा नयाँ लिन पनि ई–पासपोर्ट पद्धतिमै जानुपर्ने देखिन्छ किनकी अहिले जारी भएको एमआरपीले फोटो रिड गर्न नसक्ने भएकाले व्यक्तिगत पहिचान झुक्किन सक्ने सम्भावना हुँदा ई–पासपोर्टमा रहेको चिप्स मार्फत व्यक्तिको मुहार पहिचान गर्न यो प्रविधि निकै विश्वसनीय मानिन्छ । तर मेरो अनुभवमा नेपाली पासपोर्टको रङ हरियो भएकोले गन्तब्य पुग्दासम्म सर्बसाधारणले थप प्रकारका केही झन्झट भने ब्यहोर्न सक्छन, यसतिर परराष्ट्रले ध्यान दिन जरुरी देखिन्छ । विश्वले नै आधुनिक पद्धतिमा गएपछि नेपालले त्यसको अनुशरण गर्नु स्वभाविक हो, अनुशरण गर्दा कमजोरी हुने र पछि सच्याउँदा ठूलो घाटा हुने गरेका अनुभवहरु पनि छन् । यसकारण ई पासपोर्टमा के के सुधार गर्न सकिन्छ, ध्यान दिनुपर्छ । पछि आउन सक्ने समस्या अहिले नै पहिचान गर्नु उचित हुनेछ ।
ई पासपोर्ट सिस्टममा त जाने । वैदेशिक रोजगारी र अन्य कामका लागि गएकाहरुको पासपोर्टको समय सकिएपछि उनीहरुलाई गन्तव्यमै ई पासपोर्ट उपलव्ध गराउने प्रवन्धमा पनि ध्यान जानुपर्छ । कारण ६२ लाखभन्दा बढी नेपाली विदेशमा छन् । उनीहरुलाई सुविधा दिने व्यवस्था गरिएन भने थप समस्याहरु आउन सक्छ र अहिलेजस्तै दलालको बिगबिगी हुनजानेछ ।
विदेशमा रहेका नेपालीहरुले साना साना सुधारमा समेत दलालको भर पर्नुपर्ने र दूतावासहरुले समेत दलालमार्फत आउने काममा बढी ध्यान दिने गरेका छन् । यो भ्रष्टाचारको जालो नेपालदेखि विदेशसम्म फैलिएको छ, यो नेपालीबाटै नेपाली ठगिने क्रमलाई रोक्न पनि जरुरी छ । खासगरी इमानदार प्रशासनको अभावमा स्वदेशमा भ्रष्टाचार र विदेशमा समेत ठगीमा पर्ने नेपालीहरु कति छन् कति ? नेपालीको स्थानीय संरक्षकका रुपमा दूतावासहरुले काम गर्ने पद्धतिको विकास लोकतन्त्रले गरिहाल्नुपर्छ । अन्यथा घूस खुवाएर र नाता लगाएर राजदूत बनेकाहरुले अहिलेजस्तै ठगहरुलाई परिचालित गरेर ठगी धन्दा चलाइरहने छन् । त्यसै पनि नेपाली राजदूतहरु आराम गर्न जाने, यताबाट गएका नेताहरुलाई मार्केटिङ गराउने, मानव बेचबिखनमा समेत बदनाम भइरहेका छन् । हामीले सुशासन खोजेका हौं । सुशासन परराष्ट्रमा पनि देखिन्न र राजनीतिकरणको व्यापक दुस्प्रभावबाट परराष्ट्र पनि अछुत छैन ।
त्यसैले ई पासपोर्ट प्रणालीमा जानु उचित छ । ई पासपोर्ट प्रणालीमा गएपछि आउनसक्ने चुनौती र त्यसको समाधानका लागि तम्तैयार हुनु पनि जरुरी छ । यसबारेमा समयमै व्यापक बहस गरे समस्या कम आउला ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper