banner
banner

शासन प्रशासन ठेक्कामा

काठमाडौं । सत्ता नेकपाको छ र नेकपाका दुई पाइलट ओली र प्रचण्डप्रति आमनागरिक राजा फालेर महाराजा बनेको तीतो पोखिरहेछन् ।
शासन प्रशासन ठेक्का बनेको छ, भ्रष्टाचारी, कमिशन एजेण्ड, तस्कर माफियाको ठेकेदारी चम्कदो छ ।
पत्रकार सालिकरामको आत्महत्या प्रकरणमा चितवनदेखि बाँकी देशभरि नेकपाको सरकार, प्रचण्ड र प्रधानमन्त्री ओलीको जुन जनविरोध देखियो, त्यो छिःछिः दूर दूरले पनि यी नेतामा सद्बुद्धि पलाएन भने जनताले यिनलाई पन्छाउने निश्चित छ । जनताको प्रतिकार देख्दा लाग्यो, अर्को जनआन्दोलन सडकमा उत्रियो, आँधी आउने संकेत दियो ।
प्रधानमन्त्रीको उपचार भोलि सकिदैछ, उनी सकुसल आउन्, कामना यही गर्नुपर्छ । ओली व्यक्तिमात्र होइन, हाम्रा सम्मानित प्रधानमन्त्री पनि हुन् ।
आलोचना उनको गलत कार्यशैली, अहंकारी बोली र निरंकूश प्रवृत्तिको हो, यसमा अर्का अध्यक्ष प्रचण्ड पनि जिम्मेवार छन्, सत्ताको असफलतामा उनले पनि जवाफ दिनैपर्छ ।
प्रधानमन्त्री, मन्त्री, सचिवदेखि मातहतका सबै कर्मचारीहरुसँग कार्यसम्पादन सम्झौता गरेर चलाउन खोजिएको शासन प्रशासन ठेकेदारले ठेक्का लिएर पिटी ठेकेदार खडा गराएर काम गराउँदा देशका २२ सय ठेक्कामा आधाभन्दा बढी ठेक्का तोड्नुपर्ने स्थितिजस्तो बनेको छ ।
अनौठो छ दुई तिहाइको सरकारको कार्यशैली । ढोल पिटेजस्तो हल्ला छ, कामको नतिजा शून्य । संसारमै यसखाले कार्यसम्पादन सम्झौता गरेर शासन, प्रशासन चल्दैन, चलेको छैन । हुन त सिंहदरवार नै बोकेर सिंगापुर पुगेका प्रधानमन्त्रीले हाईटेक प्रविधिमा मन्त्रिपरिषदको वैठक गर्ने चलन पनि चलाए । तर यो निर्णयमा पनि मार खायो सरकार । फुरफुर साबित भयो । हाईहेलो गरेको मन्त्रिपरिषदको वैठक बसेको होइन, कुनै निर्णय गरिएन भनेर झूठ बोलेर खुस्केको धोती तानतुन पारेर लाज छोप्ने स्थितिमा पुग्यो ।
प्रधानमन्त्रीको सपथ खाएपछि भ्रष्टाचारी देख्यो कि टपाटप टिपेर फाल्छु भन्थे केपी ओली । १८ महिने शासनमा भ्रष्टाचारीको संरक्षक नै प्रधानमन्त्री बने । सिंहदरवार भ्रष्टाचारी लुक्ने गुँड पो बन्न पुग्यो । सरकारको बिरोध गर्नेलाई छौंडा लगाइदिने, अरिंगाल लगाइदिने अपशव्द पनि बोले ।
ओली शासनमा कसैको नियन्त्रण कसैमाथि छैन । कार्य सम्पादन सम्झौता गरेर ठेकेदारीमा चलेको शासन व्यवस्थामा त सबै जवाफदेहीता बोकेका मन्त्रीदेखि सहायक कर्मचारीसम्म सबै मनमौजी बनेका छन् । लाग्छ, रिमोट नेतामा छ, कार्यकर्ता र बुद्धिजीवी त्यसै त्यसै रमाएर फुरुक फुरुक उफ्रेका मात्र हुन् । हुन पनि ५ वर्षे म्याण्डेट पाएको सरकारलाई हल्लाउने कसले ?
तैपनि नेकपा थरहरि छ । पहिले नेकपाका अध्यक्ष प्रचण्डले पूर्वराजालाई नागार्जुनबाट धपाउने धमास दिएका थिए, ओलीले पनि धम्क्याएकै हुन्, १६ महिनापछि बल्ल अध्यक्षता गर्न पाएका प्रचण्डले जनहितलाई केन्द्रमा राखेर काम गर्न नसके सत्ता उल्टने खतरा देखियो भन्न पुगे । यी तिनै नेता हुन्, जो उपचार गर्न अमेरिका, थाइलेण्ड र आराम गर्न दुबई गएका थिए र अहिले भन्दैछन्– जनतासँग गरेका प्रतिवद्धता भुल्दै जाने हो भने प्राप्त उपलव्धि सजिलै गुम्न सक्छ । कम्युनिष्टको कार्यशैली बुर्जुवा हुँदै अनुशासनहीन बन्दै गएको टिप्पणी पनि प्रचण्डले गरेका छन् । बुझेका छन् तर आफ्नै अनुहार ऐनामा हेर्दैनन् र चर्का कुरा गरेर के हुन्छ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper