banner
banner

ट्रली बस नै उपयुक्त हो

गंगा दाहाल -
सन १९७५ मा चीनले त्रिपुरेश्वर सूर्यविनायकसम्म ट्रली बस बनाइयो । ३४ वर्षसम्म यो बस साह्रै सस्तो, सुलभ र आकर्षकको रुपमा चल्यो । त्यसपछि राजनीतिक परिवर्तनसँगै ट्रली बस चल्न छाड्यो । ट्रली बसका खम्बाहरु आज पनि सडकमा ठडिएका छन् । बस चल्ने विद्युतीय तारहरु पनि आन्द्रा जसरी जेलिएको देखिन्छ । छैन त ट्रली बस चलेको छैन । ट्रली बस वानेश्वरको गोदाममा खिला लागेर थुप्रिएका देखिन्छन् । ट्रली बस, चिनियाँ उपहारमा बनेको र चलेको बससेवा, आज क्यूरियो बनेर थन्किएको छ । हामी चीनसँग चुच्चे रेलको कुरा गरिरहेका छौं, केरुङ–काठमाडौं, पोखरा, लुम्बिनीसम्म रेल सेवा चल्ने र समृद्धिको गफ गरिरहेका छौं । भएको ट्रलीबस सेवा सञ्चालन गर्न सकेनौं ।
यसैवीच काठमाडौं र ललितपुर महानगरले अनुदान दिएर साझा बस चलेको छ र यही साझालाई विद्युतीय बस सञ्चालन गर्ने अधिकार पनि दिएको सुनिन्छ । केही दिन विद्युतीय बस चलेको पनि हो । प्रधानमन्त्रीले पुल्चोकदेखि सिंहदरवारसम्म विद्युतीय बस चढेका पनि हुन् तर बस थन्कियो । झण्डै आधावर्ष पछि सुनिदैछ, राजधानीमा विद्युतीय बस सञ्चालन हुँदैछ । अहिलेसम्म विद्युतीय बसको चार्जिङ स्टेशन कता बन्यो, कसले बनायो कुनै समाचार छैन ।
चीनले ४० मिलियन रुपैयाँमा २२ थान बस सहित चलाइदिएको यो ट्रली सेवा हामीले चलाउन सकेनौं । नेपाल यातायात संस्थान भ्रष्टाचारले सकियो, ट्रली बस सेवा पनि यसका कन्डक्टर र सञ्घालक बनेकाको दुहुनो गाई बन्यो । मासिक घाटा भक्तपुर नगरपालिकाले मासिक २० लाख दिदा पनि चलाउन नसक्नु सरकारको कमजोरी हो । चीनले थप बसहरु दिदा समेत चलाउन नसकेको ट्रलीका संरचना र सामग्रीहरु विक्री भइरहेका छन् । त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्म ट्रली चल्ने खम्बा र तारहरु जेलिएका देखिन्छन् । हामी सित्तैमा पाएको बस चलाउन सक्दैनौं, हामी समृद्धि रसम्पन्नता कहिले ल्याउन सकौंला, प्रश्न गम्भीर छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper