banner
banner

जनता नै पानी मरुवा भएपछि

शाश्वत शर्मा -
नैतिकता कसैमा देखिएन, नैतिकता नदेखिएर के गर्ने ? यिनै अनैतिकहरु जनमतबाट सत्ताको शिखरमा पुगिरहेका छन् । जनता पानीमरुवा भएपछि जनताले पाउने नेतृत्व कस्तो हुन्छ ?
जनतामा चेत छ, बुझेका छन्, जब चुनाव आउँछ, तिनै अनैतिक चरित्र भएका नेतालाई जिताउँछन् ।
बन्दुक बोक्छन्, हकका कुरा गर्छन्, समानता र विधिको शासन पनि भन्छन्, तर बाहुबली टाइपका नेताहरुलाई चुनाव जिताएर जनप्रतिनिधि बनाउँछन् । गलत काम गरेको देखेपछि नेताको विरोध गरेर खगार्नु नि, जनता नेताविरुद्ध, पार्टी विरुद्ध आवाज उठाउनै सक्दैनन् । बुद्धिजीवी, अधिकारकर्मी, नागरिक समाजको हालत पनि यस्तै छ, नेपालमा कसरी लोकतान्त्रिक पद्धतिले जग हाल्न सक्छ र ? संविधानले नोज डाइभ गरिसक्यो, दुर्घटनामा परिसक्यो, यही संविधान दिवसलाई भव्य बनाउन भारता प्रधानमन्त्री नरेन्द्र मोदीलाई टुँडिखेलमा उभ्याएर लोकतन्त्रको डम्फु बजाउने योजना पो बनाउँदैछन्, शासकहरु ।
गत शनिवार ारतका पूर्व वित्तमन्त्री एवम् रक्षामन्त्री अरुण जेट्लीको निधन भयो । केही समयअघि भारतका पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन भयो। थाहा भएअनुसार यी दुबै क्निीका विरामी थिए । दुबैमा किड्नी प्रत्यारोपा गरिएको थियो । त्यसो त यी दुबै भारतीय नेताहरु अन्य रोगहरुबाट पनि पीडित थिए । तापनि ती सबै किड्नीबाट उब्जिएका रोगी थिए । यहाँनेर यी भारती नेताहरुको यतिबिघ्न गनथन यसकारण गर्नुपरेको हो कि हाम्रा प्रम केपी शर्मा ओली पनि किड्नीकै बिरामी हुन् । उनको किड्नी १२ वर्षअघि प्रत्यारोपण गरिएको हो । डाक्टर भन्छन्– यस्ता बिरामीले तनावरहित जीवन बाँच्नुपर्छ ।
भारतीय नेता अरुण जेट्ली, सुष्मा स्वराजहरुले चुनावसमेत लडेनन् । पद र शक्तिभन्दा स्वास्थ्यलाई महत्व दिए । नरेन्द्र मोदीले मन्त्री हुन आग्रह गर्दासमेत सुष्माले मानिनन् । तर नेपालमा...? प्रधानमन्त्रीको फेरि पनि किड्नी फेर्नुपर्ने हुनसक्छ । मन्त्रिपरिषदको अध्यक्षता म आफै गर्छु भनेर सिंगापुरतिर उपचारमा हिडेका छन् । यतिमात्र होइन, देशका निर्वाचित प्रधानमन्त्रीको स्वास्थ्य के हो, कस्तो छ, पलपलको जानकारी मतदातालाई दिनुसाटो सूचना लुकाउने प्रवृत्ति छ ।
ओली कस्ता प्रधानमन्त्री, संवैधानिक निकायहरु आफू मातहत राख्ने, सम्पत्ति शुद्धिकरणदेखि राष्ट्रिय अनुसन्धान विभागलाई समेत आफैले हेरिरहेका छन् । त्यसो त नेपालमा राजनीति भनेको सुन पसलजस्तो बनेको छ । सेवा हुनुपर्ने राजनीति पर्याप्त मुनाफा आर्जन गर्ने व्यवसाय बनेको छ । निश्चित उमेर, योग्यता केही पनि नचाहिने भएकाले नेपालमा ओछ्यान परेका र अक्सिजनको पाइप नाकमा हालेका गिरिजाप्रसाद कोइरालाले पनि सरकार प्रमुखको मात्र होइन कि कार्यवाहक राष्ट्रप्रमुखको भूमिाकासमेत निभाएका थिए । ह्वील चेयरबिना यताउता गर्न नसक्ने अशक्त अवस्थाका कृष्णप्रसाद भट्टराईले पनि राजाको निमन्त्रण आउँछ अनि प्रधानमन्त्री पदको शपथ लिनुपर्छ भनेर आशा गरेरै बसेको इतिहास पनि छ । पटक पटक मुटुको उपचार गराइरहेका सूर्यबहादुर थापाले पनि अन्तिम समयसम्म पदको भोक मेटाएकै, देखाएकै हो । मनमोहन अधिकारीको अन्तिम समयका कथाहरु पनि यस्तैखाले रहेका छन् ।
भन्नुको तात्पर्य नेपालमा मौका मिल्छ भने कोही पनि तैयार छन् र शक्ति प्राप्त गर्ने अतृप्त तीर्खा राख्छन्, कुनै कुराको बन्देज छैन । राजनीतिलाई नेपाली नेताहरुले कसरी व्यवसाय बनाए । पद नभए पनि देश र जनताको सेवा गर्न  सकिन्छ भन्ने भावना कसैमा पनि छैन । नेतादेखि कार्यकर्तासम्म सबैलाई पद चाहिएको छ, पदमा पुगेपछि लुट्नु नै उनीहरुको प्रमुख ध्येय रहने गरेको छ । देश र जनताका लागि त्याग र तपस्याको कुरा कसैमा छैन ।
नेपाली राजनीतिको सिद्धान्त भनेको पद, प्रतिष्ठा र पैसो हो । जनता पनि त्यस्तै छन् । रोगी, भ्रष्टाचारी, दुराचारी, सबैको खप्की सहने, तिनकै पछि लाग्ने । हरेक विषयमा भारतको अनुशरण गर्नेलाई त नेता नमान्नु नि । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भारत पहिले भन्छन्, पञ्चशील र असंलग्नता बिर्सन्छन् उनी । नेपालका प्रधानमन्त्री ओली भारत पहिले ठान्छन् । यस्तालाई लोकतान्त्रिक नेता मानिदिनुपर्ने ? अचम्म छ ।
जनता पनि उस्तै । जस्तोसुकै अन्यायपूर्ण निर्णय गरे पनि चुपचाप सहिरहने, जनता नै उस्तै ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper