banner
banner

पीएम सिंगापुर, यता देश मरिरहेछ

देवी काफ्ले -
पूर्व मेचीदेखि पश्चिम महाकाली, हिमाल, पहाड, तराई जताततै सर्वहाराका हकहितका लागि लडिएको, स्वतन्त्रताको लागि लडिएको भनेर चर्का नारा सुनिए । सरकार पनि भने जस्तै गरी सर्वहारा नेतृत्वको बन्यो । अब सर्वहाराका पनि दिन फेरिने भए । देशमा अलौकिक बिकास हुने भो । अब जुम्लाका स्याउ टिपेर जनकपुरमा प्रसाद चढाउन पाइने भयो । झापाको ईलामको चिया डोल्पामा ताजै सुर्की लाउन पाइने भयो भनेर मक्ख पनि परियो । कर्णालीका सबै जिल्लामा अस्पताल बन्ने भए, जहाँ हरेक रोगका बिषेशज्ञ डाक्टर हुन्छन् आहा । अब सुत्केरीले अकालमा मृत्यु बरण गर्नु पर्ने छैन ।
अब पहाड, हिमाल जतासुकै खानेपानी, बिजुली, सिंचाई, मल, बिऊ सबै समयमै उपलब्ध हुन्छ । उत्पादित बस्तुहरूको बजार ब्यवस्थापन हुन्छ । उत्पादन गरिएका बस्तुहरू अब कुहाएर फालिने छैन, बजारको पहुँच हुनेछ, किसानले उत्पादनको मूल्य पाउनेछन्, अब किसानले पनि सामान्य जिन्दगी बाँच्न र आय आर्जन गर्न सक्ने भए ।
भौगोलिक तवरले बिद्यालयमा सहज पहुँंच नभएका बालबालिकाको शिक्षाको लागि उचित ब्यवस्था हुने भयो । ठाउँ ठाउँमा भएका स्कूलहरूको ब्यवस्थापन हुने भो, पूर्ण सरकारी लगानीमा पढ्न पाउने वाताबरण सरकारले सृजना गर्ने भयो । अब शिक्षा पनि सबैको पहुँचको बिषय बन्यो ।
जनताका लागि जनताबाटै निर्र्वािचत नेतृत्वबाट सरकार सञ्चालन भए पछी सबै क्षेत्र, तह र तप्काको समानतापूर्ण नेतृत्व हुने भयो ।
हिजो जनताले यिनै आधारभूत आवश्यकतालाई मध्य नजर राखेर नै आन्दोलनमा होमिएका हुन्, ज्यान गुमाएका हुन् । द्विबिधा छैन  ।
अब न त घुसखोरी चल्छ, न त दलाली प्रथा चल्छ । सबै जनताको चाहना अनुरूपको शासन ब्यवस्था हुनेछ, जनलाई सुनिने छ भन्ने पक्का बिश्वास थियो ।
तर आज हामी ठीक त्यसको बिपरीत ब्यवहार भोगिरहेका छौं ।
हामीले जिताएर बनाएको जनताको प्रधानमन्त्री बिरामी भएर सिंगापुर उपचारको लागि जानु भएको छ । उहाँको शिघ्र स्वस्थ्यलाभको कामना गर्दछु । ३ करोड नेपालीमा दैनिक कति बिरामी हुन्छन् सबैको उपचार समयमा हुन सकेको छैन ।
यहां बिकट र पहाडका कुना कन्दराका जनताले अहिलेसम्म डाक्टरको दर्शन पाएका छैनन् । औषधिको नाममा सिटामोल पाएका छैनन् । कालीकोट, जाजरकोटमा बर्षेनी झाडापखाला जस्तो रोगले मान्छे मर्छन् । त्यहाँ अस्पतालको आबश्यकता देखेर चर्चित मिडियाकर्मी रबि लामीछानेले १५ सैयाको अस्पताल निर्माण गर्न लागिपरेका छन् । तर सरकारबाट स्थानीय निकायलाई छुट्याएको रकम भत्ता र बिलासिताका सामान खरिदमा सकिन्छ ।  बच्यो भने फिर्ता हुन्छ तर त्यस्ता संबेदनशिल ठाउँमा लगानी गर्न सरकारले आँखा देख्दैन ।
भाषणमा देशलाई प्रशस्त डाक्टरहरू उत्पादन, पाइलट उत्पादन हुन्छन् तर जनता सि एम ए गरेकाको समेत सेवा पाउंदैनन् पि एमज्यू ।
आज देश कुना कुनामा दुखेको छ । तपाईं त उपचार गर्न सिंगापुर पुग्नु हुन्छ तर यो देशका नागरीक कहाँ जाने पि एम ज्यू ? जनताले पलपलमा मर्नु परेको छ, यसको उपचार कहां छ ? नेताको उपचारको लागि बिदेश प्रबन्ध त मिलाईदिनु.भयो तर हामीलाई सिटामोल.खोई ? डोल्पा चिच्याईरहेको छ ।
किसानले उत्पादन गरेको दुध, तरकारी सडकमा पोख्दा, फाल्दा देशको मुटु कोपर्छ । किसानको उत्पादनलाई बारीमै डोजर लाएर नष्ट गर्दा बिदेशीको बिषालु तरकारीको बोक्राले देशलाई चोट लाग्छ, उखु किसानले उखु बेचेको पैसा नपाएको ७ वर्ष भइसक्यो, खोई मलमपट्टी ?
 हामीले खोजेको लोकतन्त्र यही हो र प्रधानमन्त्रीज्यू ?
एकपल्ट भारतले नाकाबन्दी गर्दा बोलेका शब्दले मात्रै जीवनभरी राष्ट्रप्रेमी बन्ने मसला पुग्छ र ?
जनताले लोकतन्त्रमा जन हकको अनुभव गर्ने कहिले हो ?
हिजो राजा महाराजाको शैली मन नपरेर हैन र राजा फालेको ? फेरी आज तपाईहरु पनि त्यही शैलीमा ? जनताको छोराछोरी हो भने तपाईहरू जनतासँग हातेमालो गरेर हिड्न नसकेको किन ? तपाईंका सुबिधाका लागि जनताले कष्ट बेहोर्नु पर्ने ? राष्ट्रपतिको सवारीमा एम्बुलेन्समा सुत्केरी महिला तड्पेको कसरी देख्नु ? बिशिष्ठहरुको उडानमा हवाई बाटो नै जाम गरेर जनतालाई सास्ती लोकतन्त्रमा नै हुने हो ? हिजो बग्गीको बिरोधी हजुर हैन र आज दरबारीया भन्दा ठूलो तडकभडक कसलाई देखाको, तिनै निमुखा जनतालाई ?
तराईका खेती योग्य जमिन जति सबै वालुवा छरेर घर उम्रे कसका कारणले ? हिजोसम्म निर्यात गरिने अनाज अहिले आयात गर्नुपरेको छ । जाबो गुन्द्रुक त भारतबाट आयात गरिन्छ, अनाज त कुरै छोडौं । जनता आत्मनिर्भर बनाउने बिधि भनेको यही हो ?
सामन्तवाद हटायौं भनेर कुर्लनेहरू आज पिर्के सलामी खाँदै हिंड्दा अलिकति पनि मनमा चस्को पस्दैन ? राजा किनारा लगाएर महाराजा त तपाईहरु पो हुनुभयो । सत्तामा पुग्नु भनेको निरंकूश हुनु नै हो त ?
सत्ता बिकेन्द्रिकरण गरी केन्द्र, प्रदेश, स्थानीय निकायसम्म पुग्यो । तर लोकतन्त्रको महसुस जनताले हैन तपाईं, तपाईंका आसेपासेले बाहेक अरु सर्वसाधारणले गर्न पाएका छैनन् यसको उपचार कुन देशमा हुन्छ पिएमज्यू ?
हिजो तपाईं हाम्रो नजरमा सामन्ती रहेका राजा महेन्द्रले आफ्नी रानी रत्नलाई गोली लागी घाइते हुँदा भारत उपचार गर्न लैजाने सल्लाह दिँदा हैन म भारत लादिन, यति उपचार गर्न सक्षम डाक्टर नेपालमै छन् भनेर लैजान मानेनन् र बीर अस्पतालमै उपचार गराए । राजा बिरेन्द्रले दिपेन्द्रको उपचार बिदेश लैजान डाक्टरले रिफर गर्दा पनि यहीँ गराए । उनीहरु बाँचेकै थिए । पञ्चायतकालीन प्रधानमन्त्री मरीचमान सिंहको पनि कहानी थाहा नै होला अनि हजुर र हजुरका नेताहरूको शरीर केले निर्मित हो र नेपालका डाक्टरले उपचार गर्न नसक्ने ?
कि आफ्नै उत्पादनमा शंका हो ? हो भने किन ? कारण चाहियो । पि एमज्यू देश जनताले न्याय नपाउँदा दुखेको छ ।
पि एमज्यू आज पनि जनताले सामान्य जीवनयापन गर्न नपाउँदा छटपटी छ ।
छिमेकीले बिष पठाउँदा देशको कोखा चस्केको छ । सिमा मिचिदा असह्य पिडामा छ । तपाईको मुटु दुख्दैन ?
हजुरहरूको उपचार त सिंगापुरले गर्दिने भयो । अनेक पीडा र अन्यायको मारको दुखाईले छट्पटिएको मेरो देशको उपचार कसले गर्देला ? कुन देशले गर्देला ? हाम्री जननीलाई पनि उपचारको आबश्यकता छ कहांँ लैजाउँ ? कुन डाक्टरलाई देखाउँ ? देशभक्ति त मर्दैन चुत्थै देश भए पनि भनिन्छ, नेपाल त वीरको देश, वीरको देशको नेतृत्व कायरहरुको हातमा पो पुगेछ । कायरहरु बाँचेर के गर्नु, मानसिक रुपमा मरिरहेछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper