banner
banner

धन्यवाद ओली, प्रचण्ड र देउवाजीहरु

राजन कार्की - 
‘२०५९ साल जेठ ८ गते बिघटन भएको प्रतिनिधिसभालाई यसै घोषणामार्फत पुनस्र्थापित गरिबक्सेका छौं । बहुदलीय प्रजातन्त्तको रक्षा, स्थायी शन्ति, राष्ट्रिय एकता एवं समृद्धिको बाटोतर्फ मुलुकलाई अघि बढाउने जिम्मेवारी बहन गर्न हामी आन्दोलनरत सात राजनीतिक दलहरुलाई आह्वान गर्दछौं ।’ २०६३ साल बैशाख ११ ।
यही निर्णयलाई जनआन्दोलनको बसन्त सफलता मानिएको हो । फुलेको त्यो बसन्त उत्साह फूल १३ वर्षको कालखण्डमा नेताहरुको देखावटी गला र निष्ठा र नीतिहीन कलाको हार बन्यो, नेपाली माटो र नेपाली जनताका लागि नेताहरुको अविश्वास र अपराधको काँढे कोर्रा बनिसकेको छ ।
महाभारतको युद्ध चलिरहेको थियो । खाण्डव वनमा आगो लगाएर परिवार मारेको रिस फेर्न महासर्प अश्वसेनले बंश बिनासक अर्जुनलाई मार्न कर्णको तीरको टुप्पोमा बस्ने निर्णय गरे र बसे । कर्णले अर्जुनलाई हानेको वाणमा अश्वसेन बसेको थाहा पाएर सारथी श्रीकृष्णले अर्जुनरथलाई धसाइदिए । वाणले लक्ष्य भेदन गर्न सकेन । त्यसपछि अश्वसेनले कर्णलाई भेटेरै भने– तिमी अर्जुनलाई मार्न चाहन्छौ, म पनि अर्जुनलाई मार्न चाहन्छु । म तिम्रो वाणको टुप्पोमा बस्छु, सावधानीपूर्वक चलाउनु, अर्जुनको इतिश्री हुन्छ । अर्जुन मर्छन् ।
चकित परेका कर्णलाई अश्वसेनले अर्जुनलाई मारेर बदला लिने बृतान्त सुनाएपछि कर्णको जवाफ थियो– म नीतियुद्ध लड्दैछु । छद्म सहायता लिएर अनीति युद्ध लड्न सक्दिन । अनीतिले जित्नुभन्दा हार्नु मेरालागि श्रेयस्कर छ । कर्णका नीति र निष्ठाको दृढता देखेर महासर्प अश्वसेन खाण्डव फर्किए ।
२०५२ फागुन १ देखि २०६२ मंसिर ५ सम्म माओवादीले १० वर्ष ९ महिना ५ दिन जनयुद्ध ग¥यो र जनयुद्धलाई दिल्ली सहमतिअनुसार जनआन्दोलनमा मिसाएर जनसुनामी बनाइएको हो । यही सुनामीले ल्याएको लोकतन्त्र अहिले नेपालको पद्धति बनेको छ ।
पद्धति त बन्यो, पद्धति जनतामा भिज्न र जनताले अपनत्व स्वीकार गर्न सकेनन् । लोकतन्त्र नामको यो पद्धति नेतातन्त्र हुनपुगेको छ । लोकतन्त्रमा लोक किनारा लागे, नेताको निर्णय नै सर्वोपरि बन्यो र नेतातन्त्र भएको हो । लोकले लोकतन्त्रमा पाउनैपर्ने आधारभूत विषयहरु पनि पाउन सकेनन् । नेताहरुले लोकतन्त्रलाई लुटतन्त्रमा रुपान्तरण गरिदिए । यहीकारण समाजवादी अथवा सर्वहारावादीहरु धनवान बनेका छन् । समृद्ध बन्नुपर्ने मुलुक टाट पल्टदै गएको छ भने सुखी बन्नुपर्ने नेपाली दुःखी बनिरहेका छन् ।
२०६३ सालको बसन्त परिवर्तन, जनआन्दोलनमा घरघरबाट निस्केका सलहजस्ता जनताका लागि हिस्स बुढी खिस्स दाँत बन्न पुगेको छ ।
नेताहरु अहिले पनि भाषण गरिरहेका छन्– भगिरथ प्रयत्नले ल्याएको परिवर्तनको उपलव्धिको जसरी पनि संरक्षण गरिनेछ । नेताहरुको भगिरथ प्रयत्न भनेको भ्रष्टाचार, राजनीतिकरण, कार्यकर्ताकरण । यही भगिर प्रयत्न हो भने यो प्रयत्न कम पाप बढी, सराप बढी हो । यो सरापबाट मुक्ती खोज्नकै लागि आमनागरिकमा छटपटी बढ्दै गएको छ ।
हो, जनताले चुनेकै हुन् । यी जनप्रतिनिधि नै हुन् । जानेर चुने कि नजानेर चुने । आत्मनिर्णयले चुने कि प्रभाव र दबाब, लोभ र लालचमा चुने । जनताको अपेक्षा हेर्ने हो भने जनताले बाध्यतामा चुने, तस्कर, माफिया, भ्रष्ट, अनैतिक, असभ्यहरुलाई चुनेको देखिन्छ । जसले जनता जतिसुकै पीडावोध गरेर न्यायको लागि टाउको फोडिरहेको दृश्य टुलुटुलु हेर्छन् र तिनलाई संवोधन गर्नुपर्छ भन्ने विवेकसम्म राख्दैनन् । टाउकोमा गिदी हुनुपर्ने हो, लिदी भरिएको व्यवहार देखाइरहेका छन् ।
देश अतिक्रमणको चपेटामा छ । देश डुबानको समस्यामा छ । सीमामा अत्याचार बढ्दै गएको छ । लोकतन्त्रका अगुवा नेताहरुले अन्तर्राष्ट्रिय कानुन र स्वाधीनताको धरामा उभिएर बोल्नुपर्ने हो । हाम्रा जनप्रतिनिधिहरु जिब्रो तालुमा टाँसेर बसेका छन् । विदेशीले जतिसुकै हस्तक्षेप र अन्याय गरे पनि संसद, सरकारमात्र होइन, झोले बुद्धिजीवहरुसमेत बोल्दैनन् । यो कस्तो लोकतन्त्र हो, यो तन्त्रमा न लोक देखिन्छ, न बिधिविधान ? देखिन्छ त खाली निष्ठाहीनता, परजीवीपन र लम्पसारवाद ।
जनयुद्धले जितेको थिएन, दिल्लीको १२ बुँदे सहमतिपछि जनआन्दोलनमा सहभागी हुन आएका हुन् । जनआन्दोलन सफल भयो, लोकतन्त्रका लागि, निरंकूशतन्त्रको अन्त्य गर्नका लागि र समानतापूर्ण वातावरण सिर्जनागर्नका लागि २०६३ साल वैशाख ११ गते राजालाई जसरी झुकाइयो, त्यो धान्याञ्चल महायज्ञको सफलतापछिको बरदान भन्दा कम थिएन । अव सुख र खुशी आयो, अव समानता आयो, अव नयाँ नेपाल बन्छ भन्ने मन मनमा भुइँचम्पा नै उडेको थियो । सबैका मन खुशीले गद्गद् भएका थिए । दुःखी थिए त राजा ज्ञानेन्द्र दुःखी थिए होलान् । उनीबाट लाभ लिन पाएकाहरु दुःखी थिए होलान् । राजा म्याच हारेको टिम कप्तानसरह मौन थिए, राम्रो होस् भन्ने चाहना राखिरहेका थिए, खेलाडीहरु कुन दुलोमा पसे पसे । प्रतिकार कसैले गरेनन् ।
बिजयी भएका दलपतिहरुमा यसरी अहंकार बढ्यो कि त्यो अहंकारको नतिजा अहिले आएर प्रष्ट देखिन थालेको छ । भनिन्छ, बैंसमा स्याल पनि घोर्ले हुन्छ । राजनीतिक दलहरुको घोर्लेपन बढेको १३ वर्ष भयो । अहंकारी राजनीतिको अवसान अँगारवाद हुनेरहेछ । त्यही अँगारवाद परिवर्तनको १३ वर्षपछि जनतामा बढेको निराशामा देख्न सकिन्छ ।
२०६५ साल अघि साह्रै डरलाग्दा जीव थिए भने त्यसपछि आशलाग्दा चमत्कारिक नेताका रुपमा देखिए २ पटक प्रधानमन्त्री बनिसकेका प्रचण्डको त्यो भय र त्यो आशा आज निभेको दियो बनेको छ । प्रचण्ड र चुनावपछि दुई तिहाइको प्रधानमन्त्री बनेका केपी ओली मात्र होइनन्, प्रतिपक्षी नेता शेरबहादुर देउवा र अन्य साना दलहरुको चरित्रमा पनि भिन्नता छैन । बिदेशीका लागि बटर दल्ने र विदेशीको बकस खाने बानी सबैमा छ । यिनको सार्वभौमिकताप्रतिको उदासीनता र विदेशी प्रभावमा लुटुपुटु हुने बानी हेर्दा फिजीका महेन्द्र चौधरी अथवा १९७५ अघिका सिक्किमका लेण्डुपको अवतारका अनेक आशंकाहरु गर्न सकिन्छ ।
बल्ल बल्ल २०७२ सालमा संविधान त जारी भयो, त्यो संविधान जनादेशको मसीले लेखिएको थियो कि भेटिकनको डलरले ? यसमा बिबाद चर्कदै गएको छ । ब्रत, पूजा गर्नेहरु सत्तामा छन्, अघिल्लो दिन धार्मिक स्वतन्त्रता लेखेर पास गरेको संविधान छापेर आयो र धर्मनिरपेक्ष संविधानका रुपमा घोषणा भयो । यसमा के भयो ? कसैले सोधेन ? यसको जिम्मेवार को हो ? त्यो पनि अत्तोपत्तो छैन । ९५ प्रतिशत ॐकार परिवार भएको मुलुक धर्मनिरपेक्ष ? धर्मपरिवर्तनको महामारी टुलुटुलु हेरेर बस्छ सरकार । 
पाडो खानेले बाच्छो राख्दैन । धर्म फाल्नेले कसरी नेपालको स्वतन्त्रता कायम राख्ला र ? नपाउनेले केरा पायो, बोक्रैसमेत चपायो । लोकतन्त्र नेताहरुका लागि बाँदरको हातमा नरिवल बन्यो ।
रछ्यानमा चलायो मुखभरि छिटा भनेभैmं सुनकाण्डदेखि बलात्कार, हत्याकाण्डसम्म, द्वन्द्वपीडकलाई माफीदेखि कर छली गर्नेलाई संरक्षण दिनेसम्म, जहाज खरिदमा कमिशन खानेदेखि कालोधन विदेश लगेर विदेशी लगानीका नाममा स्वदेश ल्याउनेसम्म, संवैधानिक अंगहरुलाई भ्रष्ट बनाउनेदेखि अदालतमा पार्टीका मान्छे भर्तिगर्नेसम्म, अनेक राजनीतिक अपराध दिनदिनै बढ्दै गएको छ । नेपोलियनले भनेका थिए– बालकको भाग्य सधैं आमाद्वारा निर्मित हुन्छ । लोकतन्त्र नामको बालकका आमाहरु लोकतन्त्रलाई लुटतन्त्र बनाइरहेछन् । तन्त्र नै अपराधी बनाएपछि नयाँ नेपाल, समृद्ध नेपाल र सुखी नेपालीको मन्त्र कसरी पूरा हुनसक्छ ?
कुनै दिन इटलीमा मुसोलिनीले प्रजातन्त्रलाई खोर बनाएर अधिनायकत्व स्थापित गरेका थिए, जर्मनलाई हिटलरले ग्यास चेम्बरमा बदलिदिएका थिए, यी नेताहरुले नेपाललाई नयाँ अधिनायकत्वमा रुपान्तरण गरिरहेका छन् ।
जनता लाटा छैनन्, अबुझ पनि छैनन्, यो सबै घटनाक्रम हेरिरहेका छन् र बिद्रोहको साइत हेरिरहेका छन् ।
चाणक्यले भनेका थिए– सुतेको राजा, सिंह, बालक कसैलाई नउठाउनु । ओली, प्रचण्ड, देउवाका क्रियाकलापले चाणक्यनीति विपरित बोली र व्यवहार देखाउन थालेका छन् । तिनको यो लैनछोकडा व्यवहारले राजनीति सम्हाल्नै नसकिने गरी अस्तव्यस्त हुँदै जाँदो छ र बालक जनता चिच्याएको प्रष्टै सुन्न सकिन्छ ।
लोकतन्त्र ल्याएको धक्कु लगाउने दाह्रा सिंहहरुको शक्ति, सम्पत्ति र सत्ताको दाह्रा त देखिन्छ, जनतामा हुनुपर्ने भर, भरोसा र विश्वासको दाह्रा भने तिनीहरु आफैले फुकालीसकेका छन् । यो १३ वर्षमा यी नेताहरुले जे जे गरे, त्यो सबको हिसावकिताव गर्ने हो भने यिनीहरु सबै जनअपराधीका रुपमा उभिनुपर्ने जवाफदेहीताको कठघरमा पुगिसकेका छन् । बौद्धिकहरु पार्टीको बन्धकमा नपरेका भए आज अर्को सुधारको सुनामी आइसकेको हुनेथियो । पार्टीहरु संगठित रहेका र नागरिक असंगठित भएकाले मात्र नेताहरुको बार्बाक कर्माल व्यवहार हेर्नु, भोग्नु परेको हो ।
निष्कर्षमा भन्नुपर्दा ओली, प्रचण्ड, देउवा र अन्य साना नेताहरुलाई धन्यवाद दिनैपर्छ ।
किनभने तिनले आफैभित्र बरदानलाई सराप बनाउने कारखाना तैयार गरे । छातीभित्र अमृत रोपेर विष फलाउने कर्म पनि गरे । परिवर्तनको वातावरण तैयार भइसकेको छ ।
एकजनामात्र जनताप्रति समर्पित व्यक्ति सडकमा निस्क्यो भने यी नेताहरुको बालुवाको महल गल्र्यामगुर्ल‘म ढल्नेछ । यसकारण जो माटोप्रति मायाँ गर्छ, तिनीहरुले मुखमा राम राम बगलीमा छुरा बोक्ने र छलद्वारा, अनीतिद्वारा देश र जनताले खोजेको विधिको छातीमा रोप्ने दुष्ट सोचहरुले बेलैमा आफूलाई परिचित गराएकोमा धन्यवाद दिनैपर्छ ।
गर्ननहुने सबै कम गर्ने ओली, प्रचण्ड, देउवाजीहरुलाई धन्यवाद । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper