banner
banner

आमजनता राजनीति पीडित भएका छन्

विष्णुप्रसाद शर्मा –
संसारका कुनै पनि राष्ट्रहरुमा धार्मिक आस्था रहेको हुन्छ र सबैभन्दा पहिला राष्ट्रको उन्नती र शक्ति–सन्तुलन मिलाउना खातिर धार्मिक कर्मबाटै शुभारम्भ हुने गरेको पाइन्छ । तर, नेपालमा पछिल्लो समयमा नैतिक शिक्षाको कमीले गर्दा धर्मप्रति मानवहरु उदाशीन बन्दै गएको पाइन्छ, यो अवस्थाले राम्रो संकेत दिएको मानिंदैन । 
राजनीतिक क्षेत्रतिर नजर पु¥याउने हो भने धर्मलाई अफिम भन्न थालिएको छ र यो पश्चिमतिरबाट फैलिएको प्रदूषित विषाक्त वायुमात्र हो, यसमा सत्यता छैन र आज–भोलि फेसबुक, मेसेञ्जरलगायतका सामाजिक सञ्जालमा यसले करिवन नब्बे प्रतिशत प्रदूषित बनाइसकेको एक अध्ययनले पुष्ट्यार्इं गरिसकेको छ । त्यो अध्ययन छिट्टै प्रकाशित हुने आशा राखौं । जुन विकराल अवस्थाको सिर्जना पहिलो राजनीतिक क्षेत्रबाट नैतिक शिक्षाको कमीले फैलिएको देखिन्छ भने दोस्रो सामाजिक अमर्यादित क्रियाकलापबाट र तेस्रो थेग्नै नसकिने आर्थिक चहल–पहलमा थिचिएको गरिबीको कारणले नै हो र यसलाई समर्थन प्रशासनिक क्षेत्रबाट भएको प्रष्ट छ । महिलाबाट शुरुवात हुने विकृतिका शब्दले जुनसुकै उमेरको पुरुषलाई प्रभावित बनाइराखेको छ र पछि महिलालाई दोष नदिई पुरुषलाई मात्रै कारवाही हुने कानूनी प्रावधानले झनै यो गम्भीर खतरालाई बल पु¥याएको र बहकिएकै भरमा पुरुषले जेल सजायसमेत भोगिरहेका छन् भने महिलाले उन्मुक्ति पाइराखेका छन् । यो नैतिक शिक्षा र गलत प्रशासनिक कार्यको प्रभावले नेपाललाई सर्लक्कै निल्न थालेको छ । 
यसको प्रत्यक्ष असर सामाजिक सञ्जालका विभिन्न किसिमका साधनहरु कम्युटर, मोबाइल, टेलिभिजन, घरका अभिभावकहरुको लापर्वाही र स्कूल–कलेजबाट सिर्जित नैतिक शिक्षालाई नै बढी दोष दिन सकिन्छ र प्रयोगकर्ताहरुले अहिफाजतरुपले प्रयोग गरिदिंदा समस्याले विकराल रुप धारण गरिसकेको छ । समाधानका लागि लामै प्रयास गर्नुपर्ने बाध्यात्मक अवस्था छ । नेपाल एउटा पूर्वीय शास्त्र, सनातन वैदिक धर्म, ओमकार परिवार र पौरस्त्य संस्कारलाई पूर्णरुपले स्वीकार गर्दै आएको देश हो भनेर नबुझेका र अरुको भरमा शासन सत्ता हातमा लिएर उनैलाई खुशी तुल्याउनेहरुको सामरिक कब्जाले गर्दा सकसमा फसेको छ र त्यो सकसबाट छुट्कारा दिलाउन जनताबाहेक अरुबाट कुनै उपाय नै छैन । 
नेपाली शासकहरुमा राजनेता बनाउने र हुने औकात नभएकाले सारा जनताले राजनीतिक पीडित भएर बस्नुपर्ने अवस्था रहेको छ र यसको समाधान गर्दै राजनीतिलाई व्यापक सुधार गर्नका निमित्त राजसंस्थाको छहारी आवश्यक छ । यो अवस्थालाई जनस्तरबाट राम्रोसँग बुझ्ने जमर्को हुँदै आएको पनि देखिन थालेको हुँदा नै अब छिट्टै नै यसको निकास निस्कने छ । कुनै पनि मुलुकमा जनचाहनाविपरीतको शासन चल्न सक्दैन र जनतालाई धोका दिनेहरु क्रमशः परास्त बन्दै जाँदा मुलुकले निकास पाउने छ । घरमुलीले आफ्नो घरको संस्कारलाई जोगाउने, फस्टाउने र शुद्धता गराउन सक्नुपर्ने थियो । विडम्वना यहाँ कलीले सबैलाई भ्रमित बनाइदिएको छ र त्यसैको आड–भरोषामा विकारहरु फस्टाउँदै गइराखेका छन् । 
जनताले शुद्ध पिउने पानी पाइराखेका छैनन् भने सरकार पानीजहाजको सम्भाव्यता अध्ययनका लागि लगानी गरिराखेको छ । एउटा उद्योग सञ्चालन गर्ने हैसियत छैन, छुकछुके रेलको आवश्यकता देख्दछ । अब भन्नोस्, जनता–जर्नादनहरु के मुलुकले अरु के–के थेग्न सक्दछ र राजनीतिक क्षेत्रलाई सुधार गर्नका खातिर के गर्नुपर्ने हुन्छ त ? यो प्रश्नको उत्तर नेपाली जनताहरुसँग बाँकी छैन । पश्चिमा मुलुकबाट छिरेको क्रिश्चियानिटीले ग्रामीण क्षेत्रका जनताको घर–घरबाट समर्थन जुटाइसकेको अवस्था हुँदा त्यसलाई चिर्न सनातन वैदिक धर्मका अनुयायीहरु स्वयं नेपाली जनताले नै निकासको प्रबन्ध गर्न सक्नु परेको छ । 
प्रजातान्त्रिक मुलुकको सरकारले जनभावनाको कदर गर्दैन, उनीहरुको समसामयिक विषयलाई समेटेर अग्रसरता दिन सक्दैन भने त्यो शासक र उसको मातहतमा समावेश रहेको अन्य निकायले जनतालाई सम्बोधन गर्न सक्दछ भनेर कसैले भन्छ भने त्यो भन्दा ठूलो विडम्वना अरु केही हुँदैन र आज नेपालका खुफियाहरु मूकदर्शक बनेर माफियाको रजाइँलाई स्वीकार गरिराखेको अवस्था छ । दिन–प्रतिदिन बिग्रँदै गएको राजनीतिक अवस्था सुध्रन सक्ने अवस्था देखिंदैन र मानिसमा बढ्दै गएको अनुशासनबिहीन प्रवृत्तिले पुरुष–महिला दुवैमा सनातन वैदिक धर्मलाई जोगाइराख्न सकिएला भन्न पनि कठिन हुँदै गएको देखिंदैछ । पश्चिमा मुलुकहरुले नेपालीहरुको घर–आँगनमा प्रवेश गरी क्रिश्चियन धर्मलाई अत्यधिक प्रचार र परिवर्तन गराउन दलका मानिस स्वयं प्रधानमन्त्री नै खुलेर लागेको अवस्थाले गर्दा सारा नेपाली जनमानसको स्वाभिमानमा प्रत्यक्ष असर परिराखेको छ र दिनानुदिन नैराश्यताले आक्रान्त पार्दैछ । हामी नेपालीहरुले आफ्नो परम्परालाई धानेर राख्न धौ–धौ परिराखेको देखिंदैछ र यसले समाजलाई नै उत्कर्ष नैराश्यताको अवस्थामा पु¥याउने काम गरेको छ । 
नेपालको पौराणिककालदेखिकै इतिहासलाई केलाएर हेर्न चाहन्छ कसैले भने पनि परापूर्वकालमा मान्यता र मूल्यलाई कुनै पनि विदेशी मुलुकहरुसँग दाँजेर हेर्न सक्ने अवस्था छैन । यो मुलुक धर्म, संस्कार, परम्परा र आदर्शताको उच्चस्थानमा नै रहेको छ । आजको समयमा आइपुग्दा पनि नेपाली जनताको धार्मिक अवस्थाको उच्चतमतालाई कोही–कसैले गलाउन सक्दैन र पश्चिमा मुलुकहरुको लगानीअनुसार परिवर्तन भएको खासै देखिंदैन । तर, धानको भूषमा सल्किएको आगोलाई हत्तपत्त निभाउन सकिंदैन र कपासको बण्डेलमा लागेको आगोलार्ई निभाउन मट्टितेलको प्रयोग गर्नुपरे झैं हिन्दू धर्मलाई चलाउनेहरुलाई परास्त गर्नका निमित्त सोही प्रविधि प्रयोग गर्नैपर्ने छ र यो कार्य गर्नका खातिर नेपाली जनताले पूरै मनोबलका साथ अगाडि नबढी अब सुखै छैन । 
सामाजिक सञ्जालको उद्देश्य, मर्म र त्यसबाट हुने फाइदालाई तिलाञ्जलि दिंदै नेपालीहरु र विदेशीहरुले जुन किसिमको नकारात्मक भ्रमहरु फैलाउँदै लगिने क्रम तीब्रगतिले अगाडि बढिराखेको छ, जुन कुराले नेपालको समाजलाई तहस–नहस बनाउँदैछ, यस विषयमा शासकहरुको चरम उदाशीनताले धेरै सहयोग पुग्ने गरेको एक सानो अनुसन्धानको तथ्याङ्कले देखाइराखेको छ । नेपाली समाजले नारीलाई देवीका रुपले पूज्ने, सम्मान गर्ने र लक्ष्मीका हैसियतले माथिल्लो तहमा राख्ने जुन मर्यादालाई नै क्रिश्चियनहरुले धक्का दिन थालिसकेका छन् । नारी हाम्रो समाजका गहना र हाम्रो घर–मन्दिरका पूजनित हुन्, तर आज पश्चिमेली भेषभूषाले यसलाई अतिरञ्जित गरेर केवल यौनसँग मात्रै पुरुष र महिलाको सम्बन्ध छ भन्ने भ्रामक अवस्थालाई फराकिलो गराउँदै लगिएको एक अध्ययनले १२ वर्षदेखि ६५ वर्षसम्मका पुरुष र महिलाहरुको मानसिकता भएको पाइएको छ र यो यसैगरी फैलिंदै जाने हो भने नेपालबाट विवाह गर्ने र वैवाहिक सम्बन्धलाई नै ठूलो संकटमा पु¥याउने पक्का देखिन्छ । 
नेपाली समाजका धार्मिक आस्था, मान्य, मूल्यता र परम्परालाई जोगाउन नसकेमा हामी नेपालीहरुले नै नकारात्मक अवस्थाले ल्याएको भयानक अवस्थाको सामना गर्न तयार हुनु परेको छ । यावत् कुराहरुलाई विश्लेषणात्मकरुपले हेर्दा राजनेताको खडेरी, राजनीतिको मर्म राजनेताले बुझेका हुन्छन् र देशलाई सकारात्मक बाटोतिर लम्काउँछन् भन्ने हो । तर, त्यसको विपरीत आजको अवस्थालाई समाधान गर्न राजा र हिन्दू धर्मका अनुयायीले मात्रै सक्दछन्, अरु कुनै पनि दलीय संयन्त्र र नेताहरुबाट सम्भावना नै छैन । यो गम्भीर अवस्थालाई कसरी पार लगाउने हो भनेर नेपाली जनताले नै सोच्नु पर्दछ । अन्यथा विपत्को एक संकटको फेरि सामना गर्नैपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper