banner
banner

चोरलाई पक्राउ, डाकालाई छुट

काठमाडौं । खरदार, सुब्बा, लेखापाल, अधिकृत, इन्जिनियरहरुलाई घूस खाएको आरोपमा अख्तियारले धमाधम पक्राउ गरिरहेको छ । अख्तियारको थुना राख्ने ठाउँ खचाखच भरिएको छ । वर्षदिनमा ३ सय राष्ट्रसेवक घूस सेवकमा पक्राउ परेछन् ।
घुस्याह कानुनको गोर्खेलारी ठोक्नैपर्छ । तर जब अदालत पुग्छन्, घुस्याह, ज्यानमारा, अकुत सम्पत्ति कमाएका जो कोही पनि छुट्छन्, किन होला ?
कतिपय मुद्दामा त अख्तियारले नै मुद्दा कमजोर पारेको आरोप समेत लाग्छ । लोकमान सिंह कार्कीलाई महाभियोगको डण्डा देखाएर लखेटेपछि अख्तियार आफैमा भ्रष्टाचारको गुँड बनेको छ । अख्तियारलाई संवैधानिक निकाय, सुशासनका लागि महत्वपूर्ण निगरानी गर्ने निकाय मान्न नसकिने भयो ।
अचम्म, अख्तियारले वाइडबडी जहाज खरिदमा भएको ४ अर्व ३५ करोडको केसबारे बोल्दै बोल्दैन । मेलम्चीमा भएको भ्रष्टाचार के हो ? अख्तियार थाहा नपाएजसरी बसेको छ । बुढी गण्डकी, नेपाल टेलिकमजको फोरजी ठेक्कापट्टा, सुनकाण्ड, ललिता निवास र बालुवाटारको जग्गा काण्ड, नक्कली मोही खडा गरेर देशैभरिका जग्गा हिनामिना गर्ने भूमाफिया काण्ड, कुनै मुद्दामा पनि अख्तियारले हेरेको छैन ।
यो सब देखेपछि लाग्छ, अख्तियारको काम चोरलाई पक्राउ गरेर डाँकालाई खुलेआम छाड्नु हो । यति भएपछि अख्तियार सुशासनका लागि होइन, डाँका शासनका लागि सहयोगी बनेको छ भन्न सकिन्छ । त्यसै पनि देशमा भ्रष्टाचार व्यापक थियो, सिंहदरवार गाउँ गाउँ पुगेपछि भ्रष्टाचार पनि गाउँसम्मै पुगेको छ ।
डेढवर्षको शासन अवधिमा दुई तिहाइको ओली सरकार भ्रष्टाचार र भागबण्डा प्रकरणले यसरी बदनाम भएको छ कि यो बदनामीले नेपालमा सर्वहारावादी कम्युनिष्टहरु भ्रष्टाचारका नमूना बनेका छन् । कम्युनिष्टको बदनामीको दृष्टान्त बनेका छन् । हनुमानले गर्ने हनुमानगिरी हो । अख्तियार सरकारको हनुमानमात्रै हो त ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper