banner
banner

प्रजातन्त्रको नाम लोकतन्त्र भयो, अरु के भयो ?

धर्मरत्न श्रेष्ठ- 
परिवर्तन भनेको यही हो भने नेपाल सराप भोग्दैछ । श्री हुनुपर्ने नेपाल जब सराप पोखरीमा निसास्सिरहेको देखिन्छ, यो भनेको मृत्युको मुख हो । देशलाई मृत्युको मुखबाट बचाउने कुनै रामावतार, कृष्णवतार देखिदैन । ठूला ठूला नेता थिए, ती सबै भ्रष्टाचारको फोहर पोखरीमा नुहाएर गनाउने पो भइरहेका छन् । जुनसुकै नेताको नाम लिनोस्, सफा कोही छैन । जो छन्, जनविरोधी छन्, जो देखिन्छन्, भ्रष्टाचारमा मुछिएका देखिन्छन् । जो भेटिन्छन्, राष्ट्रघात गर्न नहिचकिचाउने भेटिन्छन् । प्रजातन्त्र र परिवर्तन यही हो भने, यो सराप नै हो । यस्तो परिवर्तन कुनै पनि मुलुक र मुलुकवासीले देख्नु भोग्नु नपरोस् । नैतिकताको त नामै छैन ।
निर्दोष बालक टुहरा बनाएर आएको हो यो लोकतन्त्र । अनाहकमा आमाहरको सिन्दु पुछियो, खेतीपाती बस्ती छाडेर भागमभाग भए कति । कतिका धर्म संस्कार, संस्कृति नासियो । कति अन्धअपाङ्ग भए, कति बेपत्ता छन् अझै । बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेका ६३ हजार उजुरी पल्टाउने हो भने अन्यायको पहाड बन्नसक्छ । यो अन्यायको पहाडलाई न्याय दिने कसले ? जो दोषी छन्, जो दण्ड पाउनु पर्ने सूचीमा छन्, उनीहरु त सत्तामा छन् । जो सत्तामा छ, शासक बनेको छ, उसले आफूले आफैलाई कसरी दण्डित गर्छ ? नेपाल दण्डहीन मुलुकमा दरिएको छ । कानुन देखाउने दाँतमात्रमा सिमित बनेको छ ।
अंगीकृत र मतदाता सूचीमा नाम हालेर नेपाली बनेकाका सन्तानलाई नागरिकता बितरण गर्न सरकार तैयार भएको छ । राष्ट्रवादी भनिएको सरकार नागरिकतालाई सत्तामा टिक्ने, विदेशीलाई खुशी पार्ने सजिलो उपायका रुपमा प्रयोग गरिरहेको छ । यस्तो सरकार देशभक्त सरकार रे । यो त अति हो, अति भ्रम हो ।
यस्तो सरकारी नीतिलाई जयजयकार गर्ने सत्ताधारी पार्टीका कार्यकर्ताहरु हनुमान नभए के हुन् ? तिनको विवेकलाई के भएको हो यस्तो ? कम्युनिष्ट पार्टीभित्र प्रचूर देशभक्ति भएका कति छन् कति ? ती सबै आजका दिनमा मूकदर्शक बनेका छन् । मुख, कान र आँखा बन्द गरेर ती देशभक्तहरुले सूर्यमुखी बन्नु भनेको लोभ र पापमात्र हो । कम्तिमा जुनसुकै पार्टीका भए पनि देशभक्ति भएकाहरुले देशको विरुद्धमा भएका कुनै पनि क्रियाकलापको आलोचना त गर्नुपर्छ । वर्तमान कालखण्डमा संचेतन बर्ग आँखा चिम्लेर बसेको देख्दा अव नेपाललाई साँढेसाती लाग्यो भन्न करै लाग्छ । किनकि अचेतनताले स्वाधीनतामा खिया लाग्छ, जुन देखिएको छ ।
प्रजातन्त्रमा देशभक्ति निकै मजबुत थियो । त्यति बलबति देशभक्ति आज सर्वत्र निर्धो रुपमा देखिन्छ । देशभक्ति भाषणमा सिमित हुनपुगेको छ । देशभक्ति संविधानदेखि सरकारसम्म, संसददेखि नेतासम्म, विचारकदेखि पार्टी कार्यकर्तासम्म कतै पनि उम्लेको देखिन्न । जब देशभक्ति चिस्सिनछ, देशभक्ति मर्दैजान्छ । जुन यतिबेला नागरिकता वितरणमा देखिन्छ । विदेशीहरु नागरिकता लिन ओइरिएको दृश्यमा देखिन्छ । नेपालको देशभक्ति यति कमजोर कुनै पनि कालखण्डमा थिएन ।
यस्तो लोकतन्त्रले नेपाल र नेपालीत्वको रक्षा कसरी गर्नसक्छ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper