banner
banner

नेपाली बुद्धिजीवी किन मौन छन् ?

धर्मरत्न श्रेष्ठ -
नाम नेपाली बुद्धिजीवी भनेपछि नेपालको विवेकी जिवाणु त यिनको दिमागमा खेलेकै हुनुपर्ने हो । जति पनि नेपालका राष्ट्रिय मुद्दाहरु छन्, त्यसमा बुद्धिजीवीहरु ब्रम्हले देखेको बोल्दैनन् । कि त चुप लाग्छन्, कि कथित पार्टी लाइनमा बोल्छन् ।
पार्टी लाइनमा बोल्ने पनि बुद्धिजीवी हुन्छन् र ?
यस सम्बन्धमा जिज्ञासा राख्दा एक विचारक सरकारजीले यसो पो भने– बर्कलेले भिजिटिङ प्रोफेसरका रूपमा नबोलाइदेला, बीपी प्रतिष्ठानले गोष्ठी र गोवा भ्रमणको खर्च नबेहोरिदेला, विवेकानन्द फाउन्डेसनले निम्तारुको सूचीमा नराख्देला, अमेरिकी आईभीपी प्रोग्राममा नपरिएला, अशोका फेलोसिप नपाइएला आदि–आदि भन्ने त्रासै–त्रासमा नेपाली बुद्धिजीवीको रात अनिँदो रहन्छ ।
होला कि नहोला ? कसैलाई जानकारी छ भने पाउँ, सुसूचित गराउँ ।
मभित्रको नेपाली मनले भन्छ– नेपाल दिनदिनै साँघुरिदै छ । त्यसमाथि जनसंख्याको घेराबन्दीमा नेपाल परिसकेको छ । यतिमात्र होइन, बुद्धिजीवीहरु विदेशी लगानीमा बन्न थालेका योजनाहरुमा तिनीहरुकै देशको सुरक्षाकर्मी राख्न दिनुपर्छ सम्म भन्न थालेका छन् । हुन त भारतबाट विवाह गरेर घर आएकी बुहारीले नेपालको नामै फेर्नु पर्छ भनेर संसदमै चिच्याइन् । नेपाली हुँ, देशभक्त हुँ, प्रजातन्त्रवादी हुँ, स्वाधीनता प्रेमी हुँ भन्ने कम्युनिष्टले त राष्ट्रिय गान फेर्नुपर्छ भनेर फेर्नै लगाए । फेरियो पनि । जुन राष्ट्रिय गान छ, त्यसभित्र १२६ जातिको भावना छ कि छैन ? राष्ट्रिय गानले हाम्रो मनलाई देशप्रेमको भावनाले जुरुक जुरुक पार्छ कि पार्दैन ? यी कुराहरुको विश्लेषण गर्ने कसले ? धर्म मास्नु थियो मासे, संस्कृति मास्दैछन्, राजा फाल्नु थियो फाले, राष्ट्रिय गान फेर्नु थियो फेरे । अव त यी कम्युनिष्टहरुमा यतिसम्मको अहंकार बढिसकेको छ कि बकस पाएजस्तो– मेरो सरकार पो भन्न थाले ।
मेरो सरकार हो भने लोकको सरकार कुन हो ? लोकमत लिएर दुई तिहाइको सरकारको अधिपति हुने, अनि मेरो सरकार भन्ने, लोकमतमाथि लात ?
यो अधिनायकी राम्रो संकेत होइन । निरंकूशता जन्मने सन्देश हो ।
लोकतन्त्र दिवस, संविधान दिवस मनाइन्छ । कुनै लोक किन सहभागी हुने गर्दैनन् ? स्कूले बालबालिका, खेताला खोजेर ल्याएका सांस्कृतिक कार्यक्रम, उर्दी जारी गरिएका कर्मचारीबर्ग, सेना र प्रहरीको कवाज । यही हो लोकतन्त्र दिवस, यही हो संविधान दिवस । कहाँनेर जनताले अपनत्व जाहेर गरेका छन् ?
तैपनि यिनै भन्छन्– संविधान कार्यान्वयन भयो । संघीयताले समृद्धि ल्याउन थाल्यो । हो, समृद्धि होइन, भ्रष्टाचाररुपी सिंहदरवार नगरपालिकादेखि गाउँपालिकासम्म बुर्कुसी मारिरहेको छ । चितवनको जंगली ध्रुवे हात्ती नाचलाई संघीयताको सफलताको मानक मान्ने हो भने यो लोकतन्त्रले देशलाई सखाप पार्छ पार्छ । किनकि लोकको सहभागिता यो लोकतन्त्रमा कहीँ पनि छैन, जे छ भ्रष्टाचारतन्त्रमात्र छ ।
बुद्धिजीवीहरुले जे देख्छन्, सत्य जे छ त्यो बोल्नुपर्छ । बुद्धिजीवीहरुले देशप्रति यतिबिघ्न उदासीन हुन सुहाउँदैन । जो देशको चिन्ता गर्दैन, जनताको पीडामा पीडाबोध गर्दैन, त्यस्तो बुद्धिजीवी भनेको गैंडाको छाला हो । गैंडाको छाला अर्थात संवेदनहीनता । संवेदनहीनता भनेको विवेकहीनता हो, चेतना भया ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper