banner
banner

स्कूलबाटै विभेदको अन्त थालौं

देवी काफ्ले -
आज गुल खुब खुशी थिई  । फुर्का परेको जामा लाएर माथिल्लो बारीको बाटो उफ्री उफ्री कान्ला नाघ्दै आई । दिदी...दिदी... घोक्रो सुक्ने गरी चिच्याई । ऊ खुशी देखिन्थी ।
किन घोंक्रो सुकुन्जेल कराम्चेस ए काली ।
छानाबाट नैने दाईको कर्कसे आवाज आयो ।
बा आज तिम्ले घिउसित भात खान पाम्चौ हैन ? म पनि खान आकी नी, मधुरो स्वरमा बोली  ।
कान्छी मैयाँले गुललाई देखेर बोलाईन्  । ढोकानेर पुगे पछि उ टक्क अडिई । कोठाको खाटमा बसेर पढिराखेकी कान्छी मैयाँलाई एक तमास हेरी । गुलमा संकोच थियो ।
आइज न भित्र । तर गुल छिर्न सकिन  । दिदी म यहीं बस्छु है, म भित्र आम्न हुन्न के ।
मैयाँले अलि झपारेर भनिन्– भित्रै आइज आउने भा.नत्र जा ।
दिदी नरिसाउनु न, म भित्र आम्दिन  हुन्न क्यो ।
गुलले जिद्दी गरी । मैया के कम । उनले झन धेरै जिद्दी गरिन् । दिदी अरूले देख्छन् की ?
के भो त मेरो घरमा तँ बस्दा अरुको टाउको किन दुख्नु ?
ल अब भन् तँ किन आइस् ?
दिदी म भात खान आको हजुरलई था छ, हामीले कति दिन भयो नि भात नखाको ।
उसको अबोध चेहरा नियालिरहेकी कान्छी मैयाँले भनिन् अघि किन भित्र न आकी तंँ ?
दिदी हजुरलाई थाहा छैन र ? म तल्लो जातकी अरे । अरूको घर भित्र पस्न हुन्नरे, सबैले पानी भर्ने पंधेरोमा पानी भर्न हुन्न, मन्दिरमा पूजा गर्न हुन्न अरे नी ।
अनि था छ हजुरलाई हाम्ले खाएको भाँडा माझेर ओभाउन पर्च नी, चिसै भित्र लान हुन्न नी । सुनपानी छर्कनुपर्छ नी दिदी । गुल भन्दै गई, कान्छी मैयाँ ट्वाल्ल परेर गुललाई हेरिरही ।
कान्छी मैयाँले एकटक गुलको मुहार हेरीरहेकी थिईन् मानौ गुल आफु जस्तै मान्छे हो की अर्कै दुनियाँबाट आएको जीव हो । उनले आफुलाई बेसरी चिमोटिन् अनि गुलको हात च्याप्प समातेर चिमोटिन् । ऐया...गुल चिच्च्याई दिदी के गरेको ?
दिदी हजुरलाई था छ ? मेरो बा ले नी घर छाउनु हुन्च, कुचो बाट्नु हुन्च, था छ अस्ती माथि देउरालीमा हाम्रा बा ले कस्तो राम्रो मन्दिर बनाका छन् नी । हाम्रा जेठा बाले हंसिया बनाउंचन्, मन्दिर भित्र राख्नी देउता बनाउँचन् नी ।
उ एकोहोरो भन्दै थिई, कान्छी मैयाँको मनमा आंधी आइसकेको थियो । मान्छे मान्छेमा यो बिभेद किन ?
उसले गरेको श्रम चल्छ, सिप चल्छ तर उसले छोएको पानी चल्दैन किन ?
उसले धुरी माथि चढेर घर छाउँछ त्यहां छोइंदैन तर घरभित्र पस्दा छोइन्छ, ईनार खन्छ पानी आउँछ तर पानी छोइन्छ, मन्दिर बनाउँछ देवता लाई पूजा गर्न पाउंदैन, मुर्ती बनाउँछ ढोग्न पाउंदैन । कुचो बाट्छ त्यही कुचोले लक्ष्मी भित्र्याइन्छ तर ऊ अछुतै हुन्छ, हे भगवान कति ठूलो अपमान ।
कान्छी मैयाँको मनमा एक किसिमको ज्वारभाटा चल्यो । बिरोध गरुन् ठूलासँग कसरी गर्नु ?
यस्ता घटना तपाईं हामी सबैले प्रत्यक्ष देखे भोगेका यथार्थ हुन्  ।
समाज परिवर्तन भयो तर सोंच परीवर्तन हुनसकेको छैन । हाम्रो समाजमा बिद्यमान जातीय बिभेदलाई उदाङ्ग पार्न अझै सकिएको छैन ।
देशमा पटक पटक राजनैतिक परीवर्तन भयो । नागरिकको मौलिक अधिकारका बिषयमा सबै दलहरूले ठूला भाषण गर्छन् तर परिणाम न्यून मात्र । किनकि बाहिर मञ्चमा भाषण ठोक्नु र ब्यवहारमा लागु गर्नु नितान्त फरक छ । त्यसैले विभेद घटेको छैन ।
जातीय बिभेदको अन्त्य भाषणले होइन सोंच र परिवर्तित ब्यवहारले मात्र गर्न सकिन्छ । यी कुरा बुझ्न र बुझाउन जरुरी छ । गर्ने कसले, बुझेका छन्, बुझाउने कसले ? विभेद अन्त गर्न कोही अगाडि बढ्न चाहदैनन् । समस्या छ ।
आजकल जातीय बिभेद बिरुद्ध हलहरूमा सिमित अगुवाहरु मात्र छलफल गर्नुहुन्छ एक अर्कामा दोषारोपण गर्नुहुन्छ अनि सामुहिक भोज भनेर जनप्रतिनिधिहरु सँगसँगै खानु हुन्छ अनि सफल भैयो भन्नुहुन्छ । यो भोज र राष्ट्रिय ढुकुटी खानु उस्तै हो, फाइदाका लागि विभेद हेर्देनन्, जब व्यवहारमा विभेद अन्त गर्ने कुरा आउँछ कोही अघि देखिदैनन् ।
यहाँनेर मेरो नितान्त फरक धारणा छ । आखिर हामी मान्छे मान्छे एकै हौं भन्ने भावनाको बिकास नै भएको छैन भने बाहिर भोज खाएर, ढुकुटी रित्याएर मात्रै होला समस्या समाधान ?
नागरिक अगुवाहरुले देखावटी ब्यावहार हैन कि हाम्रो सोंच बदल्ने ब्यवहार गर्नु प¥यो । अनि हाम्रो पुर्खा देखि हस्तान्तरण हुँदै आएको यो प्रवृत्ति को केही कस हामीमा बाँकी छ । सहजै नहट्ला पनि  । तर अब सुधार ल्याउन शुरुबाटै शुरू गर्नुपर्छ । सुरु नभए कसरी नतिजा निस्कन सक्छ र ?
छुवाछुत का कारण समाजमा अमानवीय घटना घटिरहेका छन् । महिला बोक्सीको आरोपमा मारिएका छंन्, धारो छोएको निहुंमा घैंटा गाग्री फुटाएका छन् । अब यो मान्छे मान्छे बिचको बिभेदलाई हटाउन जरैदेखि अभियान शुरू गर्नु पर्ने हुन्छ । त्यसको लागि सबैभन्दा पहिलो खुड्किलो हो स्कुल । हाम्रा बालबालिकालाई मान्छे मान्छेमा भएको फरक सोंचको प्रभाव पर्न नदिउँ, आधाभन्दा बढी बिभेद त्यहाँ बाटै हट्ने छ । आजै सुरु गरौं ।
अर्को तर्फ सरकारी नीतिले पनि जातिय बिभेदलाई मलजल गरेको महसुस म गर्छु  ।हरेक नागरीकलाई अबसर दिने हो जातियताको बिल्ला भिराउंँदै राहत रकमले झन् दलित बनायो की ?
सोचनीय कुरा छ ।
समग्रमा जातिय बिभेद अन्त गर्न सबैभन्दा पहिले हामी सबैको सोंच परिवर्तन गर्नु जरुरी छ । छुवाछुतको अन्त्य गर्नु आजको आवश्यकता हो  ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper