banner
banner

दुई हजार सोह्र पाइला मुक्तक संग्रह

मुक्तककार राजन सिलवालको मुक्तक कृति दुई हजार सोह्र पाइलाको एक विशेष समारोहबिच गीतकार, मुक्तककार, गजलकार तथा चलचित्र निर्देशक चेतन कार्की, गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेल, समालोचक ज्ञानु अधिकारी, समीक्षक तथा प्रतिनिधि पाठक रामहरि गैह्रेले संयुक्त रुपमा लोकार्पण गर्नुभयो । सो समारोहमा मुक्तकारहरू सुनिल अधिकारी र रुद्र अधिकारीले संग्रहभित्रबाट तीन तीन वटा मुक्तकहरू वाचन गर्नुभएको थियो । मुक्तकसागर साहित्यिक त्रैमासिक पत्रिकाको आयोजनामा भएको उक्त कार्यक्रममा पत्रिकाकी प्रधानसम्पादक निशा केसीले शुभकामना मन्तव्यसहित आफ्ना मुक्तकगुरुको मुक्तकीय योगदानको चर्चा गर्दै संग्रहभित्रका तीन वटा मुक्तकहरू वाचन गर्नुभएको थियो । वहाँले मुक्तककार सिलवाललाई भविष्यमा चार हजार बत्तीस पाइला पनि पढ्न पाइयोस् भन्ने आग्रहजनित शुभकामनासहित कृतिको सफलताको लागि शुभेच्छा प्रकट गर्नुभयो । 
लोकार्पित कृतिका प्रकाशक श्रीमती नीता सिलवालले कृतिकारसँगको सहजीवनको प्रसंग र लेखनवृत्तिबारे चर्चा गर्दै कृति प्रकाशनको अवसरका लागि लेखकलाई धन्यवाद दिँदै निरन्तर लेखिरहन  शुभकामना दिनुभयो । वरिष्ठतम गजलकार तथा मुक्तककार ज्ञानुवाकार पौडेलले राजन सिलवालका मुक्तकहरू आफूलाई निकै मनपर्ने र संग्रहभित्र अत्यन्त खँदिला र स्तरीय मुक्तकहरू रहेको धारणा राख्नुभयो । चार हरफ लेख्दैमा मुक्तक हुँदैन र मुक्तक लेख्न सीप, साधना र निरन्तरता चाहिन्छ भन्नुहुँदै मुक्तक अचेल अत्यन्त लोकप्रिय भएको छ भन्नुभयो । वर्तमानमा निकै राम्रा मुक्तक लेख्ने मुक्तककारहरू देखेर वहाँ मुक्तकको भविष्यप्रति निकै आशावादी देखिनुहुन्थ्यो । प्रमुख अतिथि श्री चेतन कार्कीले राजन सिलवालका मुक्तकहरुमध्ये देश र प्रेमको विषयमा लेखिएका मुक्तकहरु बढी सशक्त रहेको उल्लेख गर्नुभयो ।
कृतिकार राजन सिलवालले संग्रहभित्रबाट तीन वटा मुक्तक वाचन गर्दै यो संग्रह आफ्ना अग्रज र गुरुहरुका प्रभाव र प्रेरणाले लोकार्पित संग्रहभित्रका मुक्तकहरु लेख्न सकेको धारणा राख्नुभयो ।
समीक्षक तथा पाठक प्रतिनिधि रामहरि गैह्रले दुई हजार सोह्र पाइलाभित्रका मुक्तकीय प्रवृत्तिको चर्चा गर्दै प्रतिभा, सरलता, भाषिक शुद्धता, स्तरीयता आदिले गर्दा नै कृतिकार अन्य मुक्तककारभन्दा पृथक रहेको विचार राख्नुभयो । सभाध्यक्ष तथा समालोचक ज्ञानु अधिकारीले राजन सिलवाललाई यति गहकिलो मुक्तक कृतिका लागि बधाइ दिनुहुँदै यसभित्र समावेश ५०४ वटा मुक्तकहरूलाई विभिन्न ९ वटा खण्डहरूमा समूहीकृत गरेको देखेर आफू छक्क परेको र यस कृतिले नेपाली मुक्तकमा वास्तवमै एउटा राम्रो कृति थपेको विचार व्यक्त गर्नुभयो । कवि देवु लुइँटेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कृतिको मूल्य रु २०० रहेको छ । 

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper