banner
banner

शंकाः महिलामाथि मात्रै किन ?

देवी काफ्ले -
माइली एकोहोरो टोलाएर बसेकी थिई । छोराले सोध्यो– आमा किन झोक्राएर बसेको ?
जवाफ थिएन । जवाफ पनि कसरी देओस् । हिजो बेलुका बाआमाको झगडा सुनेकै थियो, माइलीले के भनोस् । चुप लागिरही ।
छोराको अगाडी भन्ने कुरै थिएन तै पनि एकछिन पछि भनी– ‘हैन केही भा छैन’ सम्म बोली ।
लोग्नेको दिनहुँको रक्सीको मातमा ऊमाथि गरेको शंकाले बिक्षिप्त थिई ।
आज त अति नै भयो ४७ बर्षको नेराघेरामा पुगेकी माइली यसपाली दुई महिनामा बाहिर सरेकी थिई ।
लोग्नेको ईच्छा अनुसार चल्नु पर्ने । अहिले त झन् रगत देखियो मात्रै, तै पनि बारेकी थिई । धार्मिक संस्कार अनुसार भान्छामा जान, सधैंको बिस्तरामा सुत्न नहुने उसले सकेको बारी । चार दिनको नुहाई धुवाई पछी सबै काम उसैले गर्नुपर्ने  ।
घर सबै यथास्थानमा आयो  । तर उसको महिनावारीमा हुनुपर्ने लक्षण बल्ल देखिन थाल्यो ।
उसले लोग्नेलाई भनी हिजो अस्ती केही भएन आज पो बल्ल । उसको लोग्नेलाई मनमनै शंकाले पिरोली सकेको थियो । ऊ केही बोलेन ।
माइलीले फेरी भनी– किन होला यस्तो भाको ? अब सुक्न पो हो की ? तै पनि उसको लोग्ने बोलेन ।
लोग्ने फेरी बाहिर निस्क्यो । एक घन्टा पछी लरखराउंदै आयो । खाना खान दिई । अनि बल्ल उसले मुख खोल्यो– म धेरै चिन्तित छु ।
माइलीले सोधी– किन ?
जवाफ आयो खै किन हो मलाई नै थाहा छैन तर म चिन्तित छु । माइलीले सोधी कतै मेरो कारण त होइन  ? म बाट गल्ती भाको भा भन्नु म सुधार्छु नि ।
उसले दाँत ङिच्च्याउँदै भन्यो अहिले भन्छु ।
माइलीलाई मनमनै चिन्ताले खान थाल्यो के भएछ ? किन होला ? कतै केही नराम्रो कुरा पो सुने कि ? छोराछोरीको बिषयमा हो कि ? माइली मनमनै पिरोली रही तर लोग्नेले यथार्थ कुरा भनेको थिएन ।
माइलीले निश्चय गरी जसरी पनि सोध्नु प¥यो ।
सुत्ने बेला फेरी सोधी हैन हजुरलाई के भयो ?
उसले एकै सासमा जवाफ दियो– हिजोअस्ती बाहिर सर्दा केही नहुने आज चारपाँच दिनमा बल्ल रगत बग्ने के चाला हो ? मलाई शंका लायो तँ हिजो दिउँस बाहिर गएर आएपछी बल्ल यस्तो भयो । अब भन् कहाँ कोसँग लठारिएर आइस् कुलंगार्नी ।
 माइली झल्याँस्स भई । यस्तो आरोप सुन्नु पर्ला उसले कल्पना गरेकी थिइन । ऊसलाई के भनौं के गरौं उकुसमुकुस भयो आत्तिई । यस्ता कुरा न त उसले छोराछोरीलाई भन्न सक्थी न त आवाज निकालेर डाँको छोडेर रुन नै सक्थी । रातभरि निद्रा परेन । सोची मैले जीन्दगी भरी यिनी बाहेक कसैलाई कल्पनासम्म गरीन । आज उनैले यस्तो आरोप लगाए । मन साह्रै नराम्रोसँग भांचियो ।
यस्तो हुनु मेरो गल्ती हो कि शारिरीक कमजोरी हो ? या त उमेरको । यस्तै सोच्दै ऊ फेरी काममा लागी । लोग्नेलाई अवस्था बुझाउन सकिन तर सोच्दै थिई उनले कुरा बुझे नी हुन्थ्यो नी । बुझ्लान कि नबुझ्लान् ?
अबिचलित मनसँगै भरेको लोग्नेको ब्यवहार कल्पना गर्र्दै तपतप आँशु झार्र्दै आफूले आफैलाई धिक्कारी– हरे आइमाईको जीन्दगी  ।
यस्तै शंकाले माइलीले छिमेकीको घर बिग्रेको देखेकी थिई । उसलाई मनमनै डर थियो कतै मलाई पनि घरबार बिहिन बनाउने त हैनन् ?
मुटु दह्रो बनाई र छोरालाई सबै कुरा भन्ने आंँट गरी तर छोरालाई आमाविरुद्ध नानाभाँतीका कुरा हिजै बाबुले बताएर आमाविरुद्ध एकोहोरो बनाईसकेको थियो । छोराले आमाको कुरा सुन्न चाहेन ।
मनभरी पिडा बोकेर बलिन्द्रधारा आँशु बगाउँदै भनी– बाबु बाबाको र आफ्नो राम्रो ख्याल राख्नु ।
तिमीलाई खाजा बनाईदिएकी छु खानु भनेर धोतीमा एउटा कुटुरो बनाई । घरको कुना काप्चा सबैतिर हेरी सामान मिलाई । जुठा भाँडा माझी  । घर सफा गरी । फेरी छोराको नजिकै गई । एकतमास छोराको मुहार नियाली रही । उसको मनले निर्णय गरीसकेको थियो अब म यो संसार छोड्छु । म सशंकित बनेर बाँच्नु भन्दा मर्नु नै निको छ । मैले बाँचेर के काम ?
धोतीमा बांधेको कुटुरो बिस्तारै काखी च्यापी ऊ अब घर, बाबुआमाले मारे पाप पाले पुण्य भनेर जौतील कुश सहित बुझाएको लोग्नेलाई, नौ महिना कोखमा राखेर मर्नु न बाँच्नुको यात्रा तय गरेर धर्तीमा अबतरण गराएको छोरालाई चटक्कै छोडेर ब्रह्मलिन हुने यात्रामा निस्की ।
साँझ उसको लोग्ने आयो, बोलायो कतै माइलीको आभाष पाएन । छोरालाई सोध्यो तेरी आमा खोई ? छोराले दिउँसोको आमाको कृयाकलाप सबै भन्यो । बाबु तिलमिलायो ।
अब भने उसको मनमा चिसो पस्यो अदृश्य डरले थरथर कांप्यो ।
गाउँमा गांईगुंई हल्ला थियो माइली त हिडीछे नी । कोसँग गै होला ? कसैसँग लसपस भए जस्तो त थिएन । कोही अड्कल लाउँदै थिए लोग्नेको शंकाले ज्यानै पो फाली की ?
नभन्दै गाइ गोठालो गएको बिरेले गाई फर्काउँंदै थियो, रूखमा तुर्लुंग झुण्डिएको मान्छेको आकृति देखेछ चिच्यायो । नजिकै गएर हेर्दा माइली कै शरीर थियो । हस्यांङ्फस्याङ् गर्दै बिरे माइलीको घरमा पुग्यो ।
आखिर तिम्ले शंका गरेरै भाउजूको ज्यान लियौ हैन ?
माइलीको लोग्नेको खुट्टा भासियो छोराको टाउकोमा आकाश खस्यो ।
आमाको लाशको गोडा छोपेर छोरो रुँदै भन्दै थियो आमा मैले तिम्रो बिश्वास गरेको भए ?
उसको लोग्ने पिंढींमा खांबो समातेर एकोहोरो टोलाईरह्या– मैले बिनसित्ती शंका गरेर ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper