banner
banner

नेता शून्य नेपाल

डा. दुर्गा दाहाल -
मेरो उपर्युक्त शीर्षकसंग धेरैको असहमति हुन सक्छ । तथाकथित नेताहरूको त हुने नै भयो । तर यो सत्य हो अहिलेको परिप्रेक्ष्यमा । दिवंगत नेताहरू बाहेक अहिलेको परिदृश्यमा देखिएका नेताहरूमा कुशल, सबल र सफल नेतृत्वको खडेरी परेको छ । मौका नपाएका र आगन्तुक नेताहरूलाई एउटै डोकामा राख्न चाहिन । 
कतिपय संभावना बोकेका नेताहरु हरेक पार्टीमा देख्छु तर उनीहरुलाई तिरष्कृत र उपेक्षित गरिएको छ । सुधार र परिवर्तनका कुरा गर्ने बित्तिकै उनीहरू कार्वाही र बक्रदृष्टिमा पर्ने गर्छन् र तेजोबध गरिन्छ । 
नेपालको राजनीति वाहृयशक्ति द्वारा निर्देर्िशत छ र नेताहरूको नियन्त्रणभन्दा बाहिर छ । कतिपय प्लान्टेड र प्लटेड पात्रहरु छन् नेफालमा विदेशी शक्तिकेन्द्रहरूको स्वार्थमा व्यत्तिगत फाईदाका निम्ति । राजनीति गलत दिशातर्फ निर्देर्िशत छ । सर्वसाधारण जनता र तल्लो तहका नेता र कार्यकर्ता हरूलाई थाहा छैन यो भित्री कुरा । 
नेपालका नेताहरू बढी बोल्छन् र सपना बाँडछन् दिन प्रतिदिन, विशेष गरि चुनावको पूर्व संध्यामा । अध्ययन, अनुशीलन र अनुशासनको कमी छ । फैसामा र व्यक्तिगत मायाँ ममता तथा वाहृयशत्तिको प्रभाव र दवावमा राष्ट्रपति, प्रधानमंत्री, मंत्री, राजदूत, प्रबन्धक र सबै सरकारी हाकिमहरूको चयन र नियुक्ति हुन्छ ।
देशमा व्याप्त भ्रष्टाचार, व्यभिचार र बलात्कारको भयावह स्थिति छ । युवाजमात बाहिरिंदै छ विकसित र खाडी मुलुकहरूमा योग्यता र अवसर अनुसार । नेपाली भाषा, साहित्य, धर्म संस्कृति र कलाकौशल माथि दिनानुदिन बलात्कार भईरहेको अवस्था छ । 
घुम्ने मेच माथिको मान्छे बहिरो र अन्धो छ । सल्लाहकार र उपदेष्टाहरू  धेरै र नालायक छन् अनि गलत सल्लाह दिन्छन । फलतस् अनुचित, असामयिक र अदुरदर्शी निर्णयहरू हुन्छन् । भारतको विरूद्धमा चर्को नारा लगाईन्छ तर गृहकार्य र सामान्य समस्याको समाधानार्थ फेरि पनि दिल्लीनै जाने चलन छ । सत्ता बाहिर हुंदा भारतको घोर विरोध र सत्ताभित्र भएपछि उसैको भजन कीर्तन र गुलामी गर्ने परम्परा निरन्तर चलिरहेको छ । 
के गर्नु पर्छ त ? 
१. कानुनी रूपमा नागरिक भएका सबै नेपालीहरूको शान्ति सुरक्षाको ग्यारेन्टी हुनुपर्छ तर भाषण र ऐनमा मात्रै हैन परन्तु कार्य र व्यवहारमा लागु हुनु पर्छ र त्यसको अनुभूति जनताले गरेको हुनुपर्छ ।
२. राष्ट्रपति पार्टी निरपेक्ष, स्वतन्त्र र अन्तराष्ट्रिय मापदण्डको हुनुपर्छ । प्रत्यक्ष निर्वाचनबाट आउनु पर्छ ।
३. प्रधानमंत्री काबिल, कम बोल्ने र धेरै गरेर देखाउने हुनुपर्छ । 
४. नेपालको भूभागमा स्थायी बसोबास गर्ने सबै जातजाति, धर्मसंस्कृति र भाषाभाषीहरूको सम्मान हुनु पर्छ तर माला लगाई दिएर अथवा खादा ओढाएर हैन किन्तु उनीहरूको अस्तित्वको रक्षा गरेर । 
५. नेताहरूले घरपरिवार प्रति मात्रै उत्तरदायी नभएर समाज, समुदाय, राष्ट्र र अन्तराष्ट्रिय अदालत प्रति समेत जवाफदेही भएर काम गर्नु पर्छ ।
६. बजेटमा प्रशासनिक भन्दा विकासमा बढी रकम विनियोजन गर्नु पर्छ । सबैभन्दा बढी रकम विशेष गरि जनस्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, मानवश्रोत, हाइड्रोपावर, उद्योग र  दक्षजनशक्ति उत्पादनमा लगाउनु पर्छ ।
७. परराष्ट्र नीति र संबन्धमा समसामयिक सुधार अत्यन्त जरूरी छ । नत्रभने, नेपालको राजनैतिक नक्सा सानो हुनेछ भविष्यमा । तर योभन्दा पहिले गृहयुद्ध हुनेछ धर्म र जातजातिको नाममा । 
८. प्रधानमंक्री र मंत्रीहरूले कार्यत्रम हरूको रिबन  काट्ने, उद्घाटन गर्ने काम स्थानीय नेताहरूलाई जिम्मा लगाई दिनुपर्छ (कानुनै पास गरेर) ।
९. विदेश अत्यन्त कम र देश बढी घुम्ने गर्नुपर्छ आदि इत्यादि ।
यति भन्दा भन्दै पनि नेपालको भविष्य उज्ज्वल छ । तर जनताले अझै केही वर्ष दुःख पाउने छन् र अन्तरपार्टी वादविवाद र पार्टी–पार्टी बिचको दूरी बढेर जानेछ ।
सारांशमा भन्नुपर्दा, अहिलेको नेपाल नेता शून्य छ । जो नेता हुँ भन्छन्, ती सबै सुन्निएर मोटाएको जस्तोमात्र हुन् । राजनेताको अभाव छ । 
(प्रा.डा. दुर्गा दाहाल, क्यालिफोर्निया बस्नुहुन्छ र अन्तराष्ट्रिय झाषा विशेषज्ञ र राजनैतिक विश्लेषक हुनुहुन्छ ।)

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper