banner
banner

मेलम्ची, लोक सरकारको भ्रष्ट मुहार

पदम हमाल -
मेलम्ची आयोजनालाई लोक सरकारको भ्रष्ट अनुहार भन्दा हुन्छ । मेलम्चीलाई बहुदलदेखि लोकतन्त्रसम्मका नेताले कागती बनाएर यसरी निचोरे कि यहाँ जति भ्रष्टाचार वाइडबडी जहाज खरिद होस अथवा फोरजी सेवाको ठेकेदारीमा होस्, कहीँ पनि भएको छैन । नेपालमा सुशासन ल्याउँछु, समृद्ध नेपाल सुखी नेपाल बनाउने सपना देखाएको यो सरकारले पनि मेलम्चीमाथि दोहन गर्‍यो । इटालियन ठेकेदार घूस र कमिशन दिदा दिदा थाकेर अन्ततः भागेर गयो ।
अन्य मुलुकमा भए लोकलज्जा र नैतिकता हुन्थ्यो र मन्त्री अथवा जिम्मेवार पदाधिकारीहरुले राजीनामा दिएर भूल स्वीकार गर्थे । नेपालमा कसैले पनि जिम्मेवारी लिएनन् । आउँछ, २०४६ सालदेखि चर्चामा रहेको मेलम्ची आयोजना २०७५ मा पनि आएन, कहिल आउँछ । सरकारमा बस्नेहरु भन्छन्– आउँछ ।
लाटाबुङ्गाको कथा बन्यो मेलम्ची आयोजना । राजधानीभरि ऋणमा पाइप बिछ्याउने काम भइसक्यो । आजै, अहिले, भोली, ३ महिनामा, ६ महिनामा भन्दा भन्दै १२ वर्षभन्दा बढी बित्यो, मेलम्ची आएन । कहिले आउँछ कोही भन्दैनन् ।
जनताप्रति जिम्मेवार हुनुपर्ने सरकारको हदैसम्मको गैरजिम्मेवारी हो यो ।
जनतासँग डर नमान्ने हेपाह शासक भएपछि यस्तै हुन्छ । मूल शासक नै भ्रष्ट भइदिएपछि सहायक शासकहरुले पनि जनतालाई हेप्छन् । आफूलाई भ्रष्ट पार्छन् र भ्रष्ट भएपछि लाजशरम हुने कुरै भएन । सत्ता भए पुग्यो ।
शक्तिशाली सरकार हो यो । ऐतिहासिक दुई तिहाइको बहुमतवाला सरकार । अभेद्य किल्ला ५ वर्षका लागि । यही सरकार भ्रष्टाचारमा लिप्त हुन्छ भने यसमाथि जनताले कसरी भरोसा गर्न सक्छन् ? यो सरकारको वर्षदिने क्रियाकलाप हेर्दा जसले पनि भन्नसक्छ– सुशासन दिन्छु भन्ने सरकार नै कूशासक, भ्रष्ट, अपराधीहरुको सुरक्षित गुँड बन्न पुग्यो । विधिको शासन गर्न सकेन यो सरकारले ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper