banner
banner

इतिहासको एक पक्ष

प्रा.डा. खेमकोइराला (बन्धु) -
राजा त्रिभुवनको एक ऐतिहासिक घोषणाले तात्कालीन अवस्था आजका पिढीलाई जानकारी दिन्छ । श्री ५ बाट स्वीट्जरल्याण्ड सवारी हुनु अगाडिको शाही घोषणा– 
मेरा प्यारा प्रजाहरु गैह्रके,
१..... धेरै दिनदेखि मेरो स्वास्थ्य ठीक छैन भन्ने कुरा तपाई सबलाई थाहा भएकै हो । धेरै पटक डाक्टरी सल्लाह र औषधिका निमित्त मैले देश छाडी भारत वर्ष जानु परेको हो । डाक्टरहरुद्वारा परीक्षा हुँदा मेरो शारीरिक अवस्था मैले सोचेको भन्दा धेरै नै कडा रुपले विग्रेको पाई मलाई यतिका दिनसम्म कलकत्ता बस्नुपरेको हो । यद्यपि कलकत्तामा बसी विशेषज्ञहरुद्वारा उचित उपचार भएकोले र लामो अवधिसम्म विश्राम लिएकोले मेरो शरीरमा फाइदा हुँदै आएको छ, तापनि केही डाक्टरहरुको रायमा मैले कुनै हालतमा पनि हवाई सफर गर्ने हुन्न भनी ठह¥याएका थिए । मलाई उनीहरुलाई राय दिएका थिए कि म रेलबाट बम्बईसम्म जाउँ र त्यहाँबाट ज्यँरीचसम्म पानी जहाजबाट जाउँ । मलाई आफ्नो स्वदेश नफर्की सोझै समुद्रपार औषधिको लागि जान ज्यादै ननिको लागिरहेको थियो र मेरा विशेष अनुरोधमा र फेरि अर्कोचोटि डाक्टरी सल्लाह लिँदा केही दिनको लागि काठमाडौंसम्म हवाई सफर गर्न खतरारहित नभए तापनि डाक्टरी अनुमति पाएँ । यस कुराको मलाई ज्यादै नै हर्ष लागेको छ कि समुद्रपारको यात्राभन्दा पहिलो केही दिनको लागि भए पनि आफ्नो देशमा आफ्ना प्रजाहरुका बीचमा बस्ने मौका पाएँ । अतः मैले भेटघाटमा बन्देज लगाउनु परेको हो र म आशा गर्दछु कि जस जसलाई मैले व्यक्तिगत रुपमा भेट गर्न सकिने उनीहरुले मेरो यो अप्ठ्यारो बुझिदेलान् । वास्तवमा मेरो स्वास्थ्यको कारणले नै यो सन्देश मैले आफैले रेडियोमा दिन नसकी मेरा प्रधानमन्त्रीलाई मेरो तर्फबाट पढ्न लगाएको हुँ । 
२. यदि तपाईहरुले मेरो आषाढ २ गते, २०१० को रेडियो घोषणा फेरि पढ्नुभयो भने मेरो प्यारो देशको अवाञ्छित राजनैतिक वातावरणप्रति म कत्तिको चिन्तित छु, बुझ्नुहुने नै छ । नेपालको प्रत्येक नर नारी चाहे त्यो एउटा साधारण नागरिक होस्, चाहे त्यो सरकार, जागीरदार होस्, चाहे मिनिष्टर होस् वा राजवंश किन नहोस् सबैलाई हाम्रो यो देश, यसको सुन्दरता, भव्यता र गौरवले एकनास मुग्ध गराउँछ । आफँलाई नेपाली कहलाउने प्रत्येक व्यक्ति निश्चय नै हाम्रो देश नेपाललाई माया गर्दछ । तर केवल शब्दले देशका प्रति माया जनाएर पुग्दछ र  के देशका प्रति अझ ठूलो कर्तव्य छैन ? तपाईहरु सबैलाई थाहा छ कि देशको अवस्था राम्रो छैन, यदि हामी वास्तवमा आफ्नो देशलाई चाहन्छौं भने हामीले आपसमा एका गरेर आफ्नो हृदयलार्ई छामौं र विचार गरौं हाम्रो कर्तव्य के हो र देशको उन्नति र सर्वसाधारण देसबासीको भलो कसरी गर्न सक्तछौ । गर्नुपर्ने कुरा धेरै छन् । संसारका अरु देश तीव्रताका साथ उन्नति र वृद्धिका पथमा लम्कदैछन् । हामीले आज अठोट गर्नुपरेको छ कि हामी पछि रहनेछैनौं । त्यो अठोट मुखको र मनको मात्र नभएर खँदिलो कामबाट संसारलाई देखाउँ । आज समय र अवसर चुक्नेबेला छैन । आएको अबसरलाई छापिहाल्नु नै बुद्धिमानी हो, हामी नेपालका प्रत्येक नर–नारीले त्याग र बलिदानका निमित्त आज प्रस्तुत हुनुपरेको छ , के को त्याग, के को बलिदान ? आफ्नो निजी स्वार्थको, आफ्नो गुट विशेषको स्वार्थको र हाम्रो संकीर्ण घेराका स्वार्थको, र आज हाम्रो लक्ष्य केबल देशको सामुहिक विकासको स्वार्थको लागि प्रत्येक व्यक्तिको सामुहिक प्रयास हुनु पर्दछ र त्यसको लागि चाहिएको छ प्रत्येक नेपालीको त्याग र प्रत्येक नेपालीको बलिदान र त्यस त्याग र बलिदानमा आधारित सामुहिक प्रयास । देशको यत्रो दुर्दशाले चिच्याई पुकार्दा पनि खेद छ हाम्रो पाइलो यस दिशातिर, यस मनोभावतिर बढेको छैन । देशको नाउँमा आफ्नो व्यक्तिगत वा संकीर्ण दलगत स्वार्थको पँर्ति गर्ने केबल अपराधमात्र होइन ठूलो पाप हुन जानेछ । अतः आज आपसको भेदभाव बिर्सेर देबका समस्त उपलब्ध साधन शक्ति र विचारलाई एकत्रीकरण गरी देशलाई अगाडी बढाउने प्रयास नै हाम्रो अभीष्ट लक्ष्य हुनुपर्दछ । त्यो लक्ष्य जो हामी सबैका निम्ति प्यारो छ, पवित्र छ । 
३. अविलम्ब नै एउटा सल्लाहकार सभाको गठन गरियोस् भन्नाको लागि मैले आवश्यक आदेश दिइसकेको छु । तपाईहरुलाई याद होला कि मैले आषाढ २ गते आफ्नो घोषणामा यस कुराको उल्लेख गरेको थिएँ र प्रधानमन्त्रीले विभिन्न क्षेत्रहरुबाट उपयुक्त व्यक्तिहरुको नाउँ संकलन गर्ने प्रयत्न गरी सम्पन्न प्रायः भइसकेको थाहा पाएको छु । नाउँहरुको संकलन गर्न स्वभावतः केही समय लाग्यो, अब नाउँहरुको सूची लगभग तयार छ । तसर्थ अब चाँडै नै सल्लाहकार सभा चालु हुन सक्नेछ । सल्लाहकार सभाका सदस्यहरु जसले कि निःसन्देह विभिन्न भागहरुको प्रतिनिधित्व गर्नेछन् तथा जो स्थानीय स्थितिसँग राम्ररी परिचित हुनेछन्, उनीहरुसँग मेरो आशा छ कि उनीहरुले मेरो सरकारलाई जनताको उन्नति तथा भलाइको रेखदेख गर्ने काममा पूरा सहयोग तथा सहायता दिनेछन् । सरकार तथा सल्लाहकार सभालाई पँरा सहयोग दिनका निमित्त म सम्पूर्ण जनतासँग अपील गर्दछु । सल्लाहकार सभा देशका विभिन्न भागहरुको समस्यापट्टी सरकारको ध्यान आकर्षित गर्न धेरै सहायक हुनेछ तथा सरकारले गर्न लागेका कामहरुमाथि छलफलको लागि समुचित अवसर दिनेछ । वैधानिक प्रजातन्त्रको हाम्रो ध्येयलाई प्राप्त गर्ने मार्गमा यसले हामीलाई प्रजातान्त्रिक अभ्यस्त गर्दै जानेछ । देशको कुनै भागमा केही व्यक्तिहरुलाई कुनै मर्का पर्न अथवा कुनै असन्तोषको कारण पैदा हुन सक्तछ तर हामीहरु सबैको ध्येय प्रजातान्त्रिक मार्ग अवलम्बन गर्ने भएकोले ती कुराहरुलाई केवल वैधानिक साधनहरुद्वारा मात्र हटाउने कोशिश हुनुपर्दछ । सल्लाहकार सभाको स्थापना तपाईहरु सबैका सहयोगबाट प्रजातान्त्रिक मार्गको दिशापट्टी एउटा महत्वपँर्ण कदम हुनेछ ।
४. मेरो विग्रिरहेको स्वास्थ्यमा पनि मेरो यथाशक्ति देशका नेता कहलाउने विभिन्न व्यक्तिहरुको बीचमा आपसी सौहार्द र सद्भावना जगाउने प्रयास गरेकै हुँ । मेरा प्रधानमन्त्री पनि विभिन्न दल र गुट विशेषज्ञहरुसित राष्ट्र र देशको उन्नतिको लागि एउटा सबैले रुचाउने साधारण आधार प्रस्तुत गर्न सचेष्ट र प्रयत्नशील छन् । मेरो पछिल्लो घोषणामा पनि मैले यो कुरा स्पष्ट गरेको थिएँ  कि मन्त्रिमण्डलमा थप गर्ने द्वार खुल्ला छ । अहिले पनि स्थिति त्यही छ आज देशमा राष्ट्रिय आपत–स्थिति छ । र त्यसमा न्यूनतम कार्यक्रमका आधारमा एउटा राष्ट्रिय मन्त्रिमण्डलले देशमा बहुजन हिताय सर्वसाधारणको उन्नति र समृद्धिका तात्कालिक माग पूर्ण गर्ने कार्यक्रमलाई सफलीभूत गराउनुछ । म बुझ्न सक्तिनँ, के सबैबाट आन्तरिक चेष्टा भएमा यो कुरा सम्पूर्ण हुन किन नसक्नु । म यस कुराको भरोसा दिलाउन चाहन्छु कि मेरो देशको आवश्यकता र मेरा प्यारा प्रजाको, जनसमुदायको स्वार्थ नै मेरा निमित्त अत्यधिक प्यारो छ र म देशबाट टाढा भए तापनि देशका विभिन्न समस्याहरु र कठिनाइहरु प्रति म एक मिनटका निमित्त पनि उदासीन रहन सक्तिन । मलाई थाहा छ, मेरो स्वास्थ्यको लागि यो कुरा लाभदायक होइन तर थाहा पाए पनि मेरो मनलाई म कसरी रोकुँ । यस प्रयासमा मलाई ठूलो सहायता हुनेछ यदि तपाईहरुले एकता स्थापित गरी देशमा शान्तिको वातावरण पैदा होस् जसमा देशको उन्नति आधारहित भइरहन सकोस् ।
५. हाम्रा वैदेशिक सम्पर्कका क्षेत्रमा पनि म तपाईहरुसित केही विशेषरुपले भन्न चाहन्छु । तपाईहरु सबै यसमा त एक मतै हुनुहोला कि यो एउटा विचारणीय विषय हो । यो एउटा क्षेत्र हो जसमा विशेष धैर्य, अनुरोध र दूरदर्शिता अत्यावश्यक छ । हाम्रा वैदेशिक सम्बन्ध, विशेष गरी ती देशहरुसित जोसित हाम्रो कूटनीतिक सम्बन्ध छ हाम्रा निमित्त विशेष महत्व राख्दछन् । यो सम्बन्धलाई जतिसम्म सक्य सौहार्द्रपूर्ण गराउनु आवश्यक छ र हामीले कुनै यस्तो काम गर्नु हुँदैन जसमा यसका सम्बन्धमा कटुता उत्पन्न होस् । हाम्रो उन्नति र विकासको लागि पनि विभिन्न देशको सहयोग, सहानुभूति र सहायता हामीलाई वाञ्छित छ र त्यसैकारण पनि हामीले आफ्नो वैदेशिक सम्बन्ध मृदु बनाउनु पर्दछ । त्यसका विपरीत हाम्रो आचरणले देशको उन्नति र प्रगतिमा पनि बाधा पर्न जानेछ । अहिलेसम्म हामीले यस दिशामा हामीसित सम्बन्धित देशहरुबाट प्रेम, सद्भावना, सहयोग र सहायता नै पाईआएका छौं । विशेष गरी हाम्रो छिमेकी देश भारतबाट हामीले क्षणिक आवेशमा स्नेह र सौहार्दका बन्धनलाई बिर्सन हुन्न त्यसमा देशको अन्तर्राष्ट्रिय महत्व बढ्न जानेछ । कार्यबाट नै हामीले छिमेकी र मित्रराष्ट्रहरुबाट पाइरहेको सहयोग र सहायता कतिसम्म लाभदायक भएको छ देखिरहेका छौं । अब काल्पनिक आधारमा नचाहिने शंका, उपशंका झिकी आफ्नो प्रगतिको बाधक हामी आफैँ हुनुहुन्न भन्ने सर्वविदितै छ । 
६. अन्त्यमा केही शब्द मेरा वीर सिपाहीहरु र अरु कर्मचारीहरुप्रति नभनी रहन सक्तिन । उनीहरुमाथि नै देशमा वर्तमान सरकारको नीति कार्यान्वित गराउने अभिभारा छ । हाम्रो सेनाको इतिहास गौरवमय र उज्यालो धेरै कालदेखि रही आएको छ । त्यो गौरवशाली परम्पराको रक्षा हुनुपर्दछ । सेनाको आधुनिक प्रणालीको शिक्षा हुनु बाञ्छनीय र यस दिशामा हाम्रा कमाण्डर–इन–चीफको नेतृत्वमा भएको प्रगति विशेष सराहनीय छ । सरकारका अरु विभिन्न भाग र विभागको तालिम र पुनर्गठन उत्तिकै महत्वपुर्ण छ र मलाई यसमा कुनै शंका छैन । बरु सरकारी कर्मचारीहरुले पनि आफ्नो कर्तव्य पूर्णरुपले पालन गर्नेछन् । जंगी र निजामती कर्मचारीहरुले कुन सरकार उनका शिरमा छ त्यसको प्रयोजन र वास्ता राख्ने आवश्यकता छैन, केवल वैधानिक रुपले खडा भएको सरकारको आदेश निर्देशलाई इमानदारी र वफादारीका साथ पूर्ण गर्नु नै उनको पवित्र कर्तव्य हो । 
७. मैले अगाडि उल्लेख गरिसकेको छु कि म चाँडै नै समुद्रपार जानेछु । मेरो जहाज बम्बईबाट ११ अक्टूबरका दिन (आश्विन २५ गते) रवाना हुन्छ तर यसै बीचमा मलाई डाक्टरी परीक्षा र सल्लाह र अरु प्रबन्धका निम्ति कलकत्ता र बम्बई त्योभन्दा धेरैअघि जानु छ । कति दिन म देशबाट अनुपस्थित रहनेछु यो कुराको निश्चय म अहिले गर्न सक्तिनँ । यस कुराको निर्णय त डाक्टरहरुको परामर्शमा नै निर्भर गर्दछ । मेरो सतत प्रयास निश्चय नै जति सक्यो चाँडो घर फर्कने हुनेछ । 
८. मेरो अनुपस्थितिमा राज्यको प्रमुखका हैसियतले गर्नुपर्ने दैनिक कार्यवाहीको लागि एउटा राजकीय परिषद् रहनेछ जसको गठन एउटा विशेष स्वीकृत गरिएको विधानद्वारा भएको छ । त्यस विधानद्वारा प्रदत्त अधिकारदेखि बाहिरका कुराहरु म जहाँ भए पनि म छेउ नै साधिनेछन् । म जहाँ भए पनि मेरो शारीरिक अवस्था जस्तो भएपनि मेरो हृदय र मस्तिष्क सदा मेरा प्रजा र उनको उन्नति र उनको समृद्धिका निमित्त सोचि नै रहनेछ । म फेरि पनि दोहो¥याउन चाहन्छु कि तपाईहरु मध्ये प्रत्येकले मैले अघि यसै सन्देशमा भने बमोजिम आपस्तमा सहयोग स्थापित गरेर सर्वसाधारणको र देशको लागि एउटै स्वार्थ सृष्टि गरेर देशलाई अगाडि बढाउनु छ । भगवान् पशुपतिले तपाईहरुको सदिच्छा र सद्भावनालाई सदा प्रेरित गर्नुहोस् जय नेपाल । (२०१०।६।४ मा बिहान १० बजे रेडियो नेपालद्वारा प्रसारित ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper