banner
banner

नेपालमाथि नेकपाको अर्को घात...

शाश्वत शर्मा -
गत शुक्रवार नारी दिवसकै दिनमा नेपालमातामाथि नेकपाले अर्को घात गरेको छ । कल्पनाभन्दा बाहिरको राष्ट्रघात तत्वलाई राष्ट्रिय शक्ति बनाइएको छ । नेपाल र नेपालीका विरुद्ध षडयन्त्र, अँन्दोलन गरेवापत जेलमा थुनिएका चन्द्रकान्त राउत उर्फ सीके राउतलाई जेलबाट प्रधानमन्त्रीले सेटिङमा छुटाएनन् मात्र आधारातमा मेलमिलाप गरेर डिनर खाए र भोलिपल्ट सिटी हलमा तामझामका साथ राज्यस्तरमा सहमतिसमेत गरेर देखाए । ११ बुँदे सहमति गरिदिए ।
सर्सर्ती हेर्दा मुलुकलाई नै बिखण्डन गर्ने भनेर हिडेका राउतलाई मूलधारमा ल्यान सक्नु ओली नेतृत्वको सरकारको उपलव्धि नै मान्नुपर्छ तर राउत र सरकारवीचको सहमतिपत्रका अक्षरहरु, शव्दहरु बिबादमा परेका छन् । यो सहमतिलाई राउत पक्षले मधेश पुगेर स्वतन्त्र मधेशको झण्डा फहराएर जनमत संग्रह, अलग देशको नाराबाजीका साज बिजयउत्सव, दीपावली नै गरेको देखियो । यता गृहमन्त्री संसदमा धोका दिए सिद्धिन्छन् भनेर बन्दुकको भाषामा प्रतिक्रिया जनाउँदै थिए ।
राउत समूह जनअभिमत शव्द राखेर राज्यलाई झुकाएको भन्दैछ, ओली सरकार जनमत संग्रह कतै उल्लेख छैन भनेर छलछाम गरिरहेको छ । ओली, प्रचण्ड, गृहमन्त्रीले जनअभिमत अखण्ड नेपालविरुद्ध होइन, जनमत संग्रह होइन भनेर जतिसुकै प्रष्टिकरण दिए पनि यो विषयमा ठूलै बहस छेडिएको अवस्था छ । सहमतिको बुँदा नं १ मा अखण्ड नेपालको उच्चारण भए पनि बुँदा २ मा आपत्ति प्रकट भएको छ र राउतले अखण्ड नेपालप्रति र आफ्ना पुराना अलग मधेश देशप्रतिको अडान छाडेको उल्लेख छैन । ‘नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई मधेशलगायत देशमा कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक बिधिबाट समाधान गर्न सहमत भएका छौं । यो भनेको के हो ? सबैको प्रश्न यही हो ।
गत शनिवार रौतहट पुगेर प्रम ओलीले नेपालको संविधानले दिएको अधिकारभित्र रहेर जनअभिमत, जनमत संग्रह गर्न कुनै अप्ठेरो नहुने बताएर सीकेराउतले आफ्नो सामाजिक सञ्जालमा व्यक्त गरेको खुशीमा खुशी थपिदिएका छन् । डा.सीकेका अनुसार जनअभिमतका माध्यमबाट स्वतन्त्र मधेश राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने नै छ । यो सहमतिले सबैभन्दा बढी तरङ्ग नेकपाभित्रै उठेको छ । भीम रावल, नारायणकाजीहरु सहमतिमाथि प्रश्न उठाएर सीके राउतलाई र उनका पछाडिका शक्तिहरुलाई बल पु¥याइरहेका छन् कि पार्टीभित्र यस्तो निर्णय किन गरियो भनेर देशबादबारे छलफल गराउन कस्सिएका छन् । नेकपाभित्र एक्कादुक्का नेताबाहेक सबै मौनम स्वीकृति लक्ष्यणम् गरेर पो बसेका देखिन्छन् ।
यो सहमति चीनलाई अप्ठेरो पार्न, भारतलाई नयाँ समस्या थप्न युरोअमेरिकन र होलीवाइनको करामत भन्नेहरु पनि छन् । स्मरणीय के छ भने यिनी अमेरिका रिटर्न हुन्, जेल पर्दा युरोपियन राजदूत नै भेट्न पुगेका थिए । शंका गर्ने ठाउँ धेरै छन् । मूल कुरो देशलाई बेश्या भन्ने व्यक्तिलाई राज्यले सम्मान गर्ने ? यो चाहिं बुझिसाध्य विषय होइन । राज्यविरोधीप्रति राज्य किन यति नरम ?
नेपाली जनताले नेकपालाई चिन्नुप¥यो, सीके राउतलाई चिन्नुप¥यो र देश बिघटन बिखण्डनमा जानलाग्दा नेकपाका कार्यकर्ता चुप लाग्लान्, प्रतिपक्षी किन जिब्रो तालुमा टाँसेर बसेको हो ? राजनीति स्वार्थको कन्टेनर हो भने जनतामा राष्ट्रियताको भावना जागरण हुनुपर्छ र अव देश बचाउने र देशको अखण्डताको जिम्मेवारी जनताले नै लिनुपर्ने अवस्था आयो भन्दा फरक पर्दैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper