banner
banner

बोक्सी भन्दै आमाकै पीठमा तातो पन्यू

गंगा दाहाल -
नयाँ नेपाल बनाउने भनेर सरकारले कम्मर कसेको छ, समाजका हरेक तह र तप्का सरकारलाई रचनात्मक सहयोग गर्न पनि तम्सेका छन् र सरकार गल्ती कमजोरी सच्याएर अघि बढ्न तैयार रहेको छ । तर, राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश समेत महिला बनिसकेको र अहिले पनि राष्ट्रपति महला नै भएको अवस्थामा राजधानीमै बोक्सीको आरोप लगाएर आमाको पीठमा तातोपन्यू डामिन्छ भने, यो घटना हामी सबैका लागि लज्जास्पद हो । हामीले यो घटनाबाट पाठ सिकेर तत्काल समाजलाई संचेतन पार्न अघि सर्नुपर्छ, राजधानीदेखि दूरदराजका गाउँसम्म खिया लागेर रहेको अन्धविश्वासलाई खुर्कनैपर्छ । यो जिम्मेवारी सरकारको हो, यो जिम्मेवारी समाजको हो, हामी सबैको हो ।
दोलखा तामाकोसी घर भएकी र बसन्तपुर नजिकै भीमसेनस्थान गल्लीमा डेरा गरी जीवनयापन गरिरहेकी रश्मी उपरकोटीमाथि बोक्सी भनेर निर्घात पिटियो र धामी झाँक्री लगाएर तातोपन्यु डामियो । जब रश्मीले ज्यान बचाइपाउँ भनेर प्रहरीमा उजुरी गरिन्, तव यो घटना सार्वजनिक भएको हो ।
यो घटना प्रहरीले चाल पाएपछि प्रहरी हर्कतमा आयो र यातना दिने महिलालाई पक्राउ गरेर मुद्दासमेत चलाएको छ । दोलखाकी महिलामाथि नजिकै डेरा गरी बस्ने मोरङकी कविता श्रेष्ठले बोक्सी भनेर यातना दिएको प्रहरीले बताएको छ । यी तिनै माता हुन्, जो देवी चढेको भनेर झारफुक गर्दै बोक्सी, डंकिनी भगाउँछु भनेर व्यवसाय गर्दै आएकी छिन् ।
प्रहरी भन्छ– बोक्सी मुद्दामा थप अनुसन्धान जारी छ, कुटपीटसमेतको मुद्दा तैयार गरेर जिल्ला अदालत पठाइएको छ, बाँकी जे गर्छ, कानुनले गर्छ । 
अचम्म त के छ भने ठण्डी र अन्य कारणले बिरामी भएको बच्चा बोकेर माताको शरणमा गएको र उल्टै तँ बोक्सी होस्, दिशा पिसाव खुवाउनु पर्छ भन्दै कुटपीट गरेका थिए । रश्मीलाई पन्यु तताएरसमेत निर्घात पिटिएका कारण प्रहरीले वीर अस्पतालमा उपचार समेत गराएको थियो ।
कानुनी व्यवस्थाअनुसार पीडकलाई ६ महिनादेखि ५ वर्ष जेल सजाय र ५ देखि २० हजार जरिवाना हुनसक्छ । घटना असामँन्य छ र हाम्रो समाजलाई अग्रगमनमा लैजानमा ठूलो बाधा खडा गर्छ । सभ्य समाजको परिकल्पना भइरहेको बेलामा यस्ता घटनाले हामी अझैं १८औं शताव्दीको जंगली युगमा छौं भन्ने देखाउँछ । यसकारण यस्ता अन्धविश्वासलाई समाप्त पार्न चेतना जगाउने कार्यक्रम सरकारले ल्याउनुपर्छ र सबैखाले जनप्रतिनिधि तथा नागरिक समाज लागेर आमासमूहमाथिको यो अत्याचार जरैदेखि उखेल्नुपर्छ ।
अन्यथा हामीले खोजेको लोकतन्त्र अग्रगमनकारी हुनैसक्दैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper