banner
banner

धरानदेखि त्रिविसम्म आत्मकथा

डा.वन्धु कोइराला - 
मेरो जीवनमा अध्ययनपछाडिको महत्वपूर्ण पक्ष लेखन यात्रा अझ भनँैं अध्ययन र लेखन । अध्ययन गरें अनि लेखें । किशोर काल मै कविता प्रकाशित भयो, कञ्चनजङ्घा पाक्षिकमा सिक्किमबाट । अनि त के थियो, पढ्नु शोख बन्यो साहित्यको, साहित्य पठन कोर्सका कृति आफ्ना ठाउँमा छँदै थिए लेख्ने तर थन्क्याउने ।
पहाडको जन्म मेरो, हुर्कें तराईमा । सुनसरी, मोरङ, धरानमा । बुवाको मोरङ, सुनसरी र झापा तिनै ठाउँमा जग्गा थियो । उपल्लो तहको किसान भनांै उहाँलाई जग्गाको दृष्टिले उच्चमध्ययम वर्गिय । नगद ठिकै हुन्थ्यो, अन्नबाली बेचेर बच्ने पैसा पछि व्यवसाय गर्नुभयो । सायद घाटा । तै पनि जीवनको उत्तरार्धसम्म पनि उहाँसँग तीन विघा जमिन थियो । उहाँको खेती भनेकै त्यही जग्गा, जीवनवृति पनि त्यही ।
मैले खेती गरें तर अक्षरको, शब्दको, वाणीको ।
रुखको सुसेलीसँगै, त्यो धनी संकेतित् छ नि ।
 हेर्छु म जन्मेको गाउँ, किशोरवस्था, गाउँको परिचय ममा छ । दुर्गम क्षेत्रको गाउँ पहाड त्यहाँका आफ्नै दुःख कष्ट र रमाइलापन पनि छन् । अझै पनि त्यहाँ रमाइला र दुः ख बराबर छन् । प्राकृतिक सम्पदा र सम्पन्नता छँदै छ । चेतनाविहीनता, गरिवीको एउटा अवैद्य पर्खाल छ । त्यसलाई चिर्न गाह्रो छ, त्यसको तुलनामा तराई धेरै सुविधाजनक, पहाड भन्नासाथ आज पनि कर्णाली सम्झिन्छु, ठकुरी भन्नेहरु पनि अर्काको भारी बोकेर, हलो जोतेर, अथवा विदेशमा दरबान भएर बसेको स्थिति । बहादुर र कान्छा भएर बसेको ।
मैले खेती गरें, बुवा भन्दा भिन्न, बुवाको पहाड र तराईमा खेती थियो, जग्गाजमिन थियो । घडेरी उब्जाउ जमिन । मेरो चाहिं अक्षरको खेती, शब्दको, वाणीको, मानौं एउटा हावा संकेतित् । म गाउँबाट शरह पसें, गाउँको तुलनामा धरान शहर हो, नाका एउटा नगर । गाउँको तुलनामा यो विकसित । म त्यहाँ पस्दा आजको जस्तो कोलाहल थिएन । रमाइलो । सफा, धरान नगर । बससम्म आइपुगेको, त्यहाँबाट विराटनगर नजिकै । पूर्वपश्चिम राजमार्ग खुलेको थिएन । महेन्द्रले आँट गरेर त्यो खुलाउने सुरसार गर्दै थिए । यतातिर कोदारी र पृथ्वी राजमार्ग नगर पसें, पढ्न कम्मर कसें ।
त्यसबेलाको पेकिङ भनिन्थ्यो, धरानलाई । हामी विद्यार्थी, कसोकसो कसको संगतमा लागेर हो त्यहाँ एउटा राजनीतिक धारको विद्यार्थी भइएछ । निकै सक्रिय तर नेतृत्वमा आउने चाहना कहिल्यै रहेन । विद्यार्थी राजनीति हो । साहित्य र लेखनमा बढी सक्रिय । त्यती हुँदाहुँदै पनि विद्यार्थी युनियनमा भाग लिने कार्यमा लागियो । नेताहरुले हामीलाई कार्यकर्ता बनाउँथे । भेडा जस्तो दौडिन्थ्यो । उर्दीलाई पूर्ति गर्ने रुपमा नेताहरु तालिम लिन्थे । हामी पछ्याउँथ्यौं । पाठ बुझाउनु पथ्र्यो । हामी स्वतस्फूर्त रुपमा लाग्यौं कति रमाइलो । चौधपन्ध्र उमेरको बर्षदेखि यसरी लाग्नुमा आफ्नै रमाइलो पन छ  । न कुनै बाध्यता थियो, न कुनै बन्धन । त्यसै रमाइलो ।
त्यसबेलामा खाली रेडियो हुन्थ्यो, केही अखबार, पुस्तकालयमा पुस्तकहरु, बाहिरबाट विदेशी पत्रिका आउँथे– चीन सचित्र, स्वभियत भूमि, पेकिङ् रिभ्यु, स्वतन्त्र विश्व आदि । विद्यार्थी विद्यार्थीबीचमा अस्वस्थ प्रतिस्पर्धा हुन्थ्यो । खरानी र गोबरको रुपमा बाम र प्रजातन्त्रवादी । पञ्जायत पक्षीय विद्यार्थी पनि सक्रिय देखिन्थ्यो । 
जताततै विद्यार्थीहरु इन क्लाप जिन्दावाद भन्थे । अनि मुर्दावाद छँदै थियो । सबभन्दा ठूलो शत्रु भारत ठान्थे, बामहरुले । अनि त्यसको विरोध गर्थे । यसरी शत्रु ठान्नुमा सिमाना मिचिनु नै महत्वपूर्ण थियो । त्यो बाहेक पनि विहार उत्तर प्रदेशमा नेपालीहरुको आवतजावतमा थिचोमिचो, सुस्ता, कोशी, गण्डकीमा हामी ठगिएको । महेश्वपुर सुस्ता मिचिएको जस्ता कुरा खुब पढियो, पढाइयो । विराटनगरबाट भरत मोहन अधिकारी अनि धरानकै जनार्दन आचार्य, मोहन पोखरेल, कमल कोइराला, आदि प्रशिक्षण दिने गर्थे । माक्र्स देखि लिएर म्याक्सिम सम्मका राजनीतिक कृतिहरु गीता ग्रन्थ थिए । हामी साहित्यिक रुचि राख्ने चाहिं अरु कृतिहरु पनि पढ्थ्यौं ।
मेरो लागि कुनै आर्थिक वा भौतिक दुःख थिएन । बा को पर्याप्त सम्पत्ति थियो । परिवारमा बाबुआमा, दाजूदिदी सबै थिए । समाज आफ्नै थियो । आवश्यकता पर्दा सहयोग लिन गाह्रो थिएन, कमाउनु थिएन, जिम्मेवारी कुनै थिएन । बाबुआमाले छोराछोरीको मुख ताक्नुपर्ने अवस्था थिएन । जिम्मेवारी नपर्ने फुक्का हुनु हो, स्वतन्त्रता । 
बाबुको बलियो काँधमा, आमाको मायामा, हुर्कियो । जहाँसम्म पढ्ने प्रश्न छ । कोर्स पढियो । किशोरकालदेखि नै कक्षाकोठा खुब रटियो । गुरुहरुको संगत कडाइ नै थियो । एकहोरो भेडै जस्तो । बाहिर निस्किएपछि राजनीतिक गुरुसँगको उठबस । सानो शहर, नगर । धेरै कुरा थाहा पाइने । पूर्वाञ्चलको राजधानी विराटनगर । त्यहाँको हावाले छोएको । बाम र कांको तानातान । यतातर्फ हामीले नै स्टालिन माओ भन्थ्यौं । उतातर्फ लिङ्कन गान्धी यस्तै । विपिलाई नेता मान्नेहरु सोध्थ्ये, हाम्रो राष्ट्रिय नेता यसमा हाम्रो मौनता हुन्थ्यो । जहाँसम्म साहित्यको प्रश्न छ, टाल्सटाय, गोर्की र रबिन्द्रनाथ, शरेचन्द्र, प्रेमचन्द्र, यसपाल, राहुलजस्ताका कीर्ति पढिन्थ्यो । रमाइलो कुराः रामायण र महाभारत पढेका हामी कुशबाहकान्त र अनेकौं तिलस्मी र जादुरहस्यका कृति पनि पढ्थ्यौं । सार्वजानिक लाइब्रेरीमा अखबार पनि ।
बुवाको पहाडसँगै तराईमा खेती छँदै थियो । पहाडको खेतबारीको जिम्मा सुरुमा आमाले लिनुहुन्थ्यो । बुवाको काम खेतीको रेखदेख, खेतीपाती लगाउने उठाउने इत्यादि हुन्थ्यो । उहाँ बढी त्यसैमा सक्रिय हुनुहुन्थ्यो । हाम्रो त्यसमा वास्ता थिएन । बुवा धानहरु मिलमा दिनुहुन्थ्यो । पैसा माडवारीका जम्मा गर्नुहुन्थ्यो । गरगहना सेफमा राख्नु हुन्थ्यो । फलामका उहाँका सोह्र र आठ मुनका दुई सय दिए । बैंकमा उनको विश्वास थिएन । सायद त्यसैले ती सेफमै गरगहना समेत राख्नुहुन्थ्यो । कागजपत्र पनि अत्यन्त व्यवहार कुशल लाग्थ्यो । हामी थाहा पाउँदैनथ्यौं । चासो पनि थिएन, शायद वहाँ पैसा व्याजमा लगाउनु हुन्थ्यो । माडवारी बनियाहरुले लिन्थे । बजारभन्दा बढी तीमध्ये कति डुब्थे, कति भाग्थे पनि । त्यो हामीलाई लेखाजोखा हुने कुरा पनि भएन । हामी पढ्ने कुरामा मात्र सक्रिय हुन्थ्यौं । दाजुहरु भारतमा पढ्न गएका थिए । म एक्लो जेठी दिदी अनपढ (साक्षरसम्म) पढ्न पटक्कै रुची नगर्ने ।
धरानमा युवावस्था प्रवेश गर्दा नगर्दै स्नातक उर्तिण गरें  । सुरुमा मेरो परम्परागत संस्कृत शिक्षा थियो । पछि एसएल्सि, आइए, बीए । तीन विषयमा एम ए गरें । बि एल र डि पिय पनि संजोगवश तीन विषयमा पिएच्डी ।
धरान छोडिसकेपछि काठमाडौँको यात्रा भयो । स्नाकोत्तर पढ्न कीर्तिपुरमा भर्ना भइयो । २०२७ मा पूर्वको धरानबाट आएको विद्यार्थी बोल्नमा बाचाल, भाषण गर्दै हिड्नुपर्ने । मूलतः साहित्यमै रुचि । कीर्तिपुरमा हामी पढ्दा सबै विद्यार्थी गरेर २ सय थियौं कि, विश्वविद्यालयभरमा एकले अर्कालाई चिन्ने । विश्वविद्यालयका विद्यार्थी थोरै । विद्यार्थी सम्मलाई उपकुलपति, रजिष्टार, प्रिन्सिपलले चिन्ने । म कीर्तिपुरमा पढ्दा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, देवेन्द्र नेपाली, विपिन कोइराला, बालमुकुन्द खरेल, गोबिन्दमान श्रेष्ठ, सिताराम मास्के, मदन दाहाल, कृष्ण पोखरेल, जगत् केसी, बासु उप्रेती जस्ता विद्यार्थी साथीहरु थिए । दुई खेमामा विभाजित हामी शहरबाट कीर्तिपुर जान्थ्र्यौं । केही विद्यार्थी चाहिं छात्राबासमै बस्थे । 
कीर्तिपुरको वातावरण अत्यन्तै रमाइलो थियो । क्याफ्टेरियाको खाना निशुल्कः बराबर । कीर्तिपुरमा पढ्दा एउटा अलग्ग अनुभूति हुन्थ्यो । मानौं उडिरहिएको छ । 
समस्या थिएन पैसाको । घरबाट सात हजार रुपियाँ ल्याएको थिएँ । कम्मरमा बाँधेर हिड्थें । डेरामा चोरिएला भन्ने डर हुन्थ्यो । बैंकमा राख्ने चलन थिएन । एकपटक कसैले बागबजारमा पच्चीस सय रुपैयाँमा तीन आना जग्गा लिन्छु भन्यो । बाको त्यत्रो जग्गा भएको मान्छेलाई त्यो जग्गाको के अर्थ कम्मरमा पैसा बाँधेको छ, हिडेको छ । अहिले सम्झदा रमाईलो लाग्छ । आजभए मान्छेले के के लगानी गर्थे होलान् । त्यसबेला या त राजनीतिक नारामा लागिन्थ्यो कि साहित्य, कि वादविवाद । 
बाको चाहाना थियो, पढोस् त्यत्ति । वहाँलाई थाहा थिएन के पढोस् । 
पढियो बढियो, बढियो, पढियो उमेरसट्ट ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper