banner
banner

आउँदा दिन रक्तपातपूर्ण हुनसक्छन्

शाश्वत शर्मा -
दुई तिहाइको सरकारले भ्रष्टाचार, अपराध र आफियालाई जसरी काखी च्यापेर बिधिको शासन र लोकतन्त्रको आवरणमा राष्ट्रघाती र अन्यायपूर्ण शासन चलाइरहेको छ, यसले अधिनायकवादलाई जन्माइसकेर हुर्काउन थालेको देखिन्छ ।
राष्ट्रका अत्यन्त गहन र संवेदनशील विषयहरुमा समेत हास्यरस र वाककलाले लटरपटर पार्नसक्ने प्रधानमन्त्री ओलीको क्रियाकलापले दुई तिहाइलाई लखनौं लूट र जंगे शासनमा रुपान्तरण गर्न थालेको झल्को देखिएको छ । ओलीको यो कला देशका लागि, लोकतन्त्रका लागि अर्को दुर्घटना हुनसक्ने संकेत हो है ।
लोकतन्त्र बलियो पार्न संविधान जारी गरियो, संविधानअनुसार चुनाव भयो र संविधान कार्यान्वयन हुनथाल्यो भनिएको छ, संविधान त अधिनायकवादी शैली र राष्ट्रघाती तरिकाले पो कार्यान्वयन हुनथालेको छ । सबैभन्दा डरलाग्दो पक्ष भनेको हिन्दुत्वको मुद्दा हो, इसाइकरणमा ध्यान दिएर हिन्दुत्व मास्ने जुन तरिका यो सरकारले अपनाएको छ, त्यसबाट इसाईकरण चाहने पश्चिमाहरु हर्ष मनाउन थालेका छन्, हिन्दु र अन्य धर्मावलम्बीहरु दमनको सिकार हुँदैछन् । इसाईको सम्मेलन र सरकारले होली वाइनको आचमनी, यो सबैभन्दा डरलाग्दो परिदृश्य थियो ।
हो, झिलीमिली छ । नेकपाका ठूला र साना दरवारहरु झिलीमिली छन् । ठूला नेता र तिनका प्रभावशाली कार्यकर्ताहरु ठूला साना राजा बनेका छन् । गाउँसम्म भ्रष्टाचारमय बनाइएको छ । घूस नख्वाई कामा बन्नेवाला छैन सेवाग्राहीको । यो स्थितिमा सुशासनको डंका पिट्ने सरकार बारीमा किसानले ठड्याएको बुख्याँचाभन्दा भिन्न देखिन्न । हुँदा हुँदा देखेको कुरा लेखेर गीत गाउने पशुपति शर्मा समेत नेकपाको सिकार बन्न थालेका छन् । आमनागरिक लुट्न सके लुट भन्ने त्यही गीत सामाजिक सञ्जालदेखि माइतीघर मण्डलासम्म गाएर ओली सरकारको झाँको झारिरहेका छन् । ओली सरकार र राष्ट्रपति असिन पसिन हुनपुगेको देखियो । तैपनि यिनले आप्mनो लोकतान्त्रिक चरित्र देखाउन सकेका छैनन् ।
देशको पद्धति, पद्धति चल्ने तरिका सही भयो कि गलत ? किन जनतामा यति साह्रो नैराश्यता छायो ? भ्रष्टाचार, बलात्कार र हत्यालाई किन यति धेरै छुट भइरहेको छ ? संवैधानिक निकायहरुमा ज्यादा भ्रष्टाचार देखिदैछ, सुधारका लागि गर्ने के हो, प्रयास किन भइरहेको छैन ? गुण्डागर्दी, आगजनी,तोडफोड, हिंसा र हत्याद्वारा ल्याइएको लोकतन्त्र संस्थागत नै हुन नपाई मृत्यवरण गर्न बाध्य हुन थालेको हो ? जनविश्वास कायम हुन नसक्नु भनेको मृत्यु नभए के हो ? यथार्थमा सत्तारुढ नेकपा, प्रतिपक्षी कांग्रेस र नागरिक समाज भनिने मौन तत्वले आमनागरिकका लागि कस्तो लोकतन्त्र दिन खोजेका रहेछन् ? त्यसको सक्कली उदाहरण भरतपुरको चुनावमा देखिएको थियो, चुनाव पछिका सिंहदरवारदेखि गाउँपालिकासम्म भोग्न थालिएको छ । हामीले चुनाव जिताएका हौं समुन्नति र समानता, प्रगति र सुशासनका लागि । हामीले के पायौं ? के परिवर्तन, चुनाव भनेको ठूला दल र ठूला नेता तथा तिनका वरिपरिकालाई महाराजा बनाउन हो ?
ओली सरकारको एकवर्षमा लोकतन्त्र भनेको भाँडतन्त्र हो भनेर सावित भएको छ । जो यस्तै लोकतन्त्रले नेपाल र नेपालीको कल्याण हुन्छ भनेर सोचेर बसेका छन्, तिनले बुझे हुन्छ– यस्तो बाहुबली गणतन्त्र टिक्दैन । यस्तो अधिनायकवादी कार्यशैलीलाई जनताले धेरै दिन सहिरहदैनन् । चेतना होस् ।
सत्ता प्राप्तिका लागि, पद पड्काउनका लागि, आफू र आफ्नो परिवारका लागि सबै संवैधानिक अंगहरुमा समेत प्रभाव र दबाब दिएर जेमन्त गर्नेहरुले भोलिका दिनमा अझ कस्तो कस्तो तमासा देखाउने हुन् ? सम्झदा पनि आङ् सिरिङ्ग गर्छ । जुन प्रकारका काण्ड मच्चाइरहेका छन्, त्यो लज्जाजनक छ ।
 कति हाँस्नु ? गज्जवको गणतन्त्र भनेको त दुई तिहाइको बहुमत पाउँदा पनि गण कता, तन्त्र कता ? चुनाव भनेको पनि जनतामारा, देशघातक पो शिद्ध भयो गाँठे । अव जनता नतात्ने हो भने देश बर्बाद भयो भन्दा हुन्छ । भनिन्छ, विहानीले दिनको मौसमको  अनुमान गर्न सकिन्छ । दुई तिहाइको बिहानी असिनापानीले पो चुट्यो जनता र देशलाई । देश हुटहुटीमा छ यतिखेर ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper