banner
banner

डायस्पोरा र एनआरएन, मेरो अनुभव

डा.दुर्गा दाहाल -
डायस्पोरामा एन.आर. एन किन र कस्का लागि भन्ने कुराको भूमिका र महत्त्व केलाउनु भन्दा पहिले डायस्पोरा के हो र कसरी सङ्गठित हुन्छ भन्ने तथ्यलाई बुझ्नु उपयुक्त हुन्छ ।
डायस्पोराको जरो खोज्दै जाँदा यो शब्दको उत्पत्ति प्राचीन ग्रीक भाषाबाट भएको पाउँछौं जसको अर्थ छरिनु अथवा आफ्नो जन्मस्थलबाट विभिन्न कथा, व्यथा, पीडा र वेदना बोकेर विदेशिनु अथवा बाहिरिनु भन्ने अर्थ लाग्छ ।
उतिखेर इजरायलबाट बेबीलोनका राजाले यहुदी हरूलाई निर्वा्सित गरेको हुनाले उनीहरू प्रारम्भमा गएर बेबीलोनमा बस्नु परेको र पछि गएर विभिन्न देशमा छरिएर रहनु पर्ने बाध्यता र विवशता थियो । यसरी विभिन्न देशमा बस्नु परेता पनि उनीहरूले बिस्तारै क्रमशः आफ्नो भाषा र संस्कृतिलाई जीवन्त राख्दै अस्तित्व जोगाए । अतः त्यतिखेर यसरी यहुदीहरू जहाँ गएर बसे, ती ठाउँ हरूलाई डायस्पोरा भनियो ।
अहिले आएर विभिन्न कारण हरूले एउटा देशका मानिसहरू अर्को देशमा गएर बस्ने गर्छन् । केवल बाध्यता, विवशता, व्यथा र पीडाले मात्रै नभएर मानिसहरू स्वेच्छाले पनि इच्छा, शिक्षा, व्यापार, वाणिज्य, धर्म, कला, कौशल अथवा अन्य विविध कारणहरूले आफ्नो देश छोडेर विदेशमा बस्ने गर्छन् । तर स्वाभाविक रूपले हरेक व्यक्तिले आफ्नो माटोलाई, देशलाई, भाषा, साहित्य, संस्कृति, वेशभूषा, आफन्त र आफ्नोपनलाई सम्झिन्छ झन् तीव्र तर रूपमा जब कोही विदेशमा हुन्छ । गहिरो र मधुर स्मृतिमा मिसिएको राष्ट्रप्रेम, देशभक्ति, मानवीय संवेग, संवेदना र अनुभूतिहरू उदात्त हुन्छन् परदेशमा ।
परदेशमा बसेकाहरूलाई गहिरो पीडा हुन्छ, विदेशिनुको कारण जेसुकै र जस्तोसुकै भए तापनि । अतः उनीहरू सङ्गठित हुन्छन् बिस्तारै विभिन्न बहानामा । यसरी एउटै देशबाट आएर पनि विभिन्न ठाउँ र देशमा छरिएर बसेका मानिसहरू एउटै छातामुनि समेटिनु, सुस्खदुःख बाँड्नु र बृहत्तर राष्ट्रिय हित अनि स्वार्थका खातिर ऐक्यवद्ध हुनु खुसी र गौरवको विषय हो ।
यही आवश्यकतालाई मध्यनजर राखेर एन. आर. एनका जन्मदाता, पृष्ठपोषक र अभियन्ताहरूले जुन महान् उद्देश्यका निम्ति यो सङ्गठनको स्थापना, विस्तार र विकाश गरे र अद्यपरिमित गर्दै आएका छन्, अत्यन्त उदाहरणीय, अनुकरणीय र स्वागतयोग्य छ ।
तर यो एन. आर. एन किन, कसका लागि, के को लागि र कसरी गर्ने भन्ने सवालको जवाफ दिन नसक्नु अथवा लिन नखोज्नु आफैमा दुःखको कुरा हो ।
हुन त, विदेशमा पहिलो सवाल पापी पेटकै भएको हुनाले जो कोहीले व्यक्तिगत आय आर्जन र स्थापित हुने कुरालाई पहिलो प्राथमिकतामा राख्छ र क्रमशः सामाजिक र राष्ट्रिय रूपमा सङ्गठित हुँदै जान्छ, जुन स्वाभाविक पनि हो ।
अमेरिका, युरोप, अस्ट्रेलिया लगायत सबै महादेशहरूमा अहिले आएर एन. आर. एन गठन भई सकेको छ जुन अत्यन्त खुसीको विषय हो तर अपेक्षित मात्रामा यसको विकास र विस्तार हुन सकेको छैन । विशेष गरी यो अहिलेको नवजात पुस्तामा फस्टाउन सकेन किनभने यसको महत्व, उपयोग र उपादेयतालाई बुझाउन सकेनौं ।
फस्टाउन नसकेका कारणहरू ।
१. एन. आर. एन के हो ? सबै तह र तप्कालाई बुझाइएन । २. धनी र व्यापारीको मात्रै हो भन्ने भान भयो । ३. धेरै वर्षसम्म पुँजीपति र धनाढ्यहरूको कब्जामा मात्रै रह्यो ।। ४. लक्ष्य र उद्देश्य स्पष्ट भएनन् । ५. सर्वसाधारणसम्म तल्लो तहमा आउन सकेन । ६. अर्थ, वाणिज्य र व्यापारलाई मात्रै जोडेर हेरियो । ७. अर्थ कारोबार पारदर्शी भएन । ८. नेतृत्व जनमुखी भएन । ९. भ्रष्टाचार, व्यभिचार र दुराचार भयो आदि इत्यादि ।
के गर्नु पर्छ त सुधार्न ?
१. यो सङ्गठन सबैको, सबैका लागि र सबैद्वारा सञ्चालित नेपालीहरूको साझा सङ्गठन हो भन्ने कुरा जनमानसलाई बुझाउन सक्नु प¥यो ।
२. धनी, पुँजीपति, ठुलाबडा र शिक्षित समुदायको मात्रै नभएर गरीब र उपेक्षितहरूको झन् बढी हो भन्ने कुरा भाषण र बोलीमा मात्रै नभएर बानीव्यवहार र कार्यले देखाउनु प¥यो ।
३. केन्द्रीकृत नभएर स्थानीय तहमा समेत सङ्गठनको उपस्थिति, कार्र्यिवधि र कार्यक्रमबाट जनता लाभान्वित हुनुप¥यो ।
४. नेपालबाट आउने नवागन्तुक हरूलाई सूचना र सञ्चारको माध्यमबाट रोजी – रोटी, आवास, कपास र रोजगार लगायत निम्न तम आवश्यकताहरूको परिपूर्ति गर्ने दिशामा यो सङ्गठनका पदाधिकारीहरूले केन्द्रीय र स्थानीय तहमा समेत सक्रिय हेल्पडेस्कहरूको स्थापना गरी समस्याहरूको समाधानार्थ अग्रसरता, तत्परता र सकृयता देखाउनु प¥यो ।
५. विशेषगरि, अहिलेको युवा पुस्ताहरूलाई आकर्षित गर्ने खालका कार्यक्रम राख्नु प¥यो ।
– कुन क्षेत्रमा, के काम गर्नु पर्छ त यस सङ्गठनले र कसरी ?
केवल हाईड्रोपावर र गुरु आयोजनाहरूको मात्रै कुरा नगरेर समग्रमा नेपालभित्र र बाहिर, घर देश तथा परदेशमा बस्ने सबै नेपालीहरूको बृहत्तर स्वार्थका खातिर लघु उद्योग र साना व्यापार हरूलाई समेत प्रवर्धन गर्नुपर्छ ।
क्रमशः सङ्गठनलाई मजबुत बनाएर भीमकाय कार्यहरू, परियोजनाहरू सञ्चालन गर्नु अत्यन्त राम्रो कार्य हो तर जग बलियो र सबैको हुनु पर्छ । तर, सुरुवातका दिनहरूमा निम्नलिखित कार्यहरू गर्नु उचित देखिन्छ ।
१. नेपालको राष्ट्रिय पहिचान र अस्तित्वका लागि सर्वप्रथम त नेपाली भाषा, साहित्य, संस्कृति र ऐतिहासिक महत्त्वका विषयहरूलाई प्राथमिकतामा राखी त्यसको संरक्षण र संवर्धन गर्नु पर्छ विदेशमा ।
२. नेपाली पाठशाला, मन्दिर, सामुदायिक भवन र केन्द्रहरूको स्थापना गरी नेपालीहरूलाई पर्दा र मर्दा अत्यावश्यकीय सहयोग पु¥याउनु पर्छ ।
३. विदेशमा अर्जित धनदौलत, सीप, दक्षता, शिक्षा, ज्ञान, अनुसन्धान र अनुभवलाई स्वदेशतर्फ पनि स्थानान्तरण गर्नुपर्छ, कुरो सही हो तर विदेशमा पनि अब एउटा ठुलै नेपाल छ । अतः यहाँ भएका नेपालीहरूको निम्ति पनि स्थायी परियोजनाहरू सञ्चालन गर्नु वांछित देखिन्छ ।
४. नेपालबाट सानैमा आएका अथवा विदेशमा जन्मिएका नवजात नेपाली शिशुहरूलाई उनीहरूको जरो नेपाल र नेपाली हो भन्ने कुरा राम्रोसँग बुझाउन र सिकाउन नेपाली शैक्षिक र सांस्कृतिक केन्द्रहरूको स्थापना गर्नु पर्छ ।
५. एक पटकको नेपाली सधैंको नेपाली हो भन्ने कुरालाई सामाजिक, सांस्कृतिक र कानूनी तवरबाट स्वदेश र विदेशमा स्थापित गर्न सक्नुपर्छ ।
६. समय, सीप, सरलता, सहजता, निष्ठाशीलता, इमान्दारिता, नेतृत्वशीलता र शिक्षा भएका व्यक्तिले मात्रै यो सङ्गठन हाँक्नु पर्छ, केवल रहर, सम्पत्ति र गुट मात्रै भएर हुन्न ।
७. केवल भाग प¥याउने र अवधि मात्रै पुरा गर्ने हेतुले कसैले पद ओगट्नु हुन्न । विदेशबाट निकै ठुलो मात्रामा नेपालीहरूको रेमिट्यान्स स्वदेश जान्छ तर त्यो त नेपालमा केवल बास मात्रै बस्दो रैछ, भोलिपल्टै छिमेकी देश भारत अथवा अन्य कुनै देशतर्फ पलायन हुँदो रहेछ । गाडी किन्ने, घर बनाउने सामान किन्ने अथवा अन्य विदेशी सामानहरू किन्ने निहुँमा । स्वदेशमा घरेलु उद्योग, कारखाना र स्वदेशी उत्पादन नहुनु, राष्ट्रिय पुँजीको निर्माण हुन नसक्नु ठुलो चिन्ताको विषय हो ।
जब हामीले यो सङ्गठनको आवश्यकता, अपरिहार्यता र औचित्यलाई पुष्टि गर्दै काम पनि गरेर देखाउँछौं अनि सबै नेपालीहरूको तनतनमा र मनमनमा प्रवेश गर्न सक्छौं, तब मात्रै यसले जनप्रियता हासिल गर्छ र नयाँ पुस्तालाई समेत आकर्षण गर्छ । अन्यथा, यो पनि केवल राजनीति गर्ने र पैसा कमाउने भाँडोको रूपमा मात्रै सीमित हुन्छ । बीआरटी नेपाल डट कमका साथमा ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper