banner
banner

साउती धेरै भयो प्रभू...

शाश्वत शर्मा- 
खै हाम्रो र यिनको पालामा त केही पनि नहोलाजस्तो छ । परिवर्तन आउँदैन कि कसो ? जोशिला राजतन्त्रवादी पनि निराश हुनथालेका छन् । तिनीहरुको निराशा शाहबंश यो पिँढीमा पुनः नआउला कि भन्नेतिरै सांकेतिक थियो ।
१३ वर्षदेखि देश बर्बाद भइरहेको छ, यो सब हेरेर बस्न बाध्य देशभक्तहरुलाई एकताको कडी बनेर राजतन्त्र आउला भन्ने आशा अझै छ । यही कारण पूर्वराजा जता निस्कन्छन्, राजावादीहरु माउरीको गोलो बनेर रानुको पछाडि लागेझैं लाग्ने गरेका छन् । गगनभेदी नारा लगाएर भुनभुनाउने गरेका देखिन्छन्, सुनिन्छन् ।
बलात्कार हत्या काण्ड, ३३ किलो सुनकाण्ड, होली वाइन प्रकरण, वाइडबडी जहाज खरिदमा ठाडै भ्रष्टाचारदेखि हरेक सरकारी निकायमा दैनिकी भ्रष्टाचार भइरहेकै छ । हरेक निकायमा राजनीतिक दलका कार्यकर्ताको हैकम र अनियमितता बढ्दो छ । गाउँसम्म भ्रष्टाचारमय बनिसक्यो । यहीकारण पनि आमनागरिक राजा आउ देश बचाउ भन्ने नारा लगाउँछ, राजाले हेरेर, सुनेर, देखेर र भोगेर बसिरहेका कारण पनि जनतामा आक्रोश पनि छ, निराशा पनि छ । प्रतिपक्षी कमजोर भएकैले खबरदार भन्ने कोही छैन र सरकार भ्रष्टाचारमय बनेको हो । यो अवस्थाले गर्दा यो पद्धति मुलुकका लागि दुर्भाग्यजनक ठहरिन पुगेको छ ।
सरकार अराजक, अनियमित र हिटलरी शैलीमा चल्नुमा जनता पनि जिम्मेवार छन् । राजाका बंश बंशको अपराधका चर्चा गर्ने तर वर्तमानले भविष्य अन्धकार बनाएको चर्चा नै नगर्ने ? कीर्तिपुरेको नाक कान काटे, किराँतीलाई मारेर अरुणमा बगाइदिए भन्नेजस्ता इतिहास मैलो पार्ने हल्लामा जनता लाग्नु हुन्थ्यो कि हुन्थेन ? १३ वर्षअघिमात्र १७ हजार मार्नेहरुलाई आममाफी, तिनले हत्या गर्दा दण्डित हुनुनपर्ने ? झापा काण्डमा मान्छे गिड्नेले जे गरे पनि सही हुनसक्छ ?
नाकावन्दी त ०४५ सालमा पनि भारतले लगाएको थियो । त्यतिबेलाको कुरा बिर्सने, अहिले नाकावन्दी लगाउँदा ओलीलाई हिरो मान्ने जनतामाथि तिनै ओलीले करमाथि कर लगाएर आफ्नो नाम नै करप्रसाद ओली बनाइसकेका छन् । ०४५ सालको नाकावन्दीमा दह्रोसँग देशभक्त बनेको सरकारको बिरोधमा जनता उत्रे, भूकम्प गयो, ठूलो क्षति भयो, ०७२ सालदेखि ०७५ साल हुँदा समेत भूकम्पपीडितको नाममा भ्रष्टाचार भइरहेकै छ । जनताले छ्यानब्यान गर्नु पर्छ कि पर्दैन ?
को सही, को गलत, परिवर्तन कसका लागि गर्ने, परिवर्तनको हक र हिस्सा जनताले खोज्नै नपर्ने, आखिरमा जनता पनि दोषी छन् । अझै पनि भ्रष्ट, मुलुकमारा, धर्ममारा, जनतामाराबाट आश गरेर तिनको कूशासनलाई सहिरहने ? राजाहरुले नेपाल निर्माण गरे, तिनको गुणलाई बिर्सेर जातीय, धार्मिक र भेगीय बिभाजनका लागि जनताले नेताहरुको कूकर्मलाई किन समर्थन दिइरहेका होलान् ?
पूर्वराजा हरेक वर्ष तीर्थाटन गर्न देशका बिभिन्न भागमा जान्छन्, जनताका कुरा सुन्छन् । देश बुझ्छन् र जनता जागरुक भए भनेर फर्कन्छन्, पूर्वराजा फर्कन्छन्, जयजयकार पनि सेलाउँछ, जोश बिस्तारै साम्य हुन्छ । न राजाले ढाडमा हाड देखाउने, न जनताले हामी हौं निर्णायक भनेर निस्कन सक्ने ? दुवैथरि जाग्ने र सुत्ने क्रम निरन्तर चलिरहेको छ । सिंहदरवार र देशभरिका संघहरुमा लखनौं लूट चलिरहने ।
आँखा जुधाउने र ओठ मुस्कुराउने अवस्थाभन्दा माथि उठ्न जरुरी छ । क्षणिक आक्रोश र उर्जालाई आन्दोलनमा परिणत गर्न जरुरी छ । देशको सिमाना सुरक्ष्ँित छैन, धर्म सुरक्षित छैन । नीति र नैतिकता तथा देशका नीति केही सुरक्ष्ँित छैनन् । सबै भताभुङ्ग भएका छन् । नेपाली पन, इतिहास र वर्तमान, धर्म र संस्कार दिनहुँ मारिदैछन् । अव पनि हिन्दुहरु, राजतन्त्रवादीहरु नउठे कहिले उठ्ने ?
त्यसैले इसारा र साउतीले मात्र अव काम चल्दैन । देश र जनता, नेपाल र नेपाली पहिचान बचाउने हो भने जनता उर्लिनुपर्छ, पूर्वराजा कुर्लनुपर्छ । निराशालाई चिरेर जनतामा हौसला भर्न र अराष्ट्रियतामाथि राष्ट्रियताको प्रहार गर्न अबेर भइसकेको छ । मुलुक बचाउने हो भने अव कम्मर कस्नै पर्छ । अन्यथा....।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper