banner
banner

सासितमाथिको सास्ती कति कति

अधिवक्ता शिव सिग्देल -
सासितलाई लोककल्याणकारी शासन दिन्छु भन्ने कबोल गरेर शासनमा गएकाहरु सासितमाथि झन झन सासना, सास्ती, सकस दिन थालेका छन् ।
कहिल्यै नबोल्ने प्रतिपक्षका नेताले समेत सरकार प्रमुखलाई करप्रसाद ओली भनिदिए । स्थिति कहाँ पुगिसकेछ ?
बिधिअनुसार फौजदारी अपराधका अपराधी जो जेलमा छन्, उनलाई सोझै थुनाबाट लोकतान्त्रिक गणतन्त्र नेपालको सार्वभौम सर्वोच्च निकाय संघीय संसदमा ल्याइन्छ, सांसद सदस्यको सपथ खाएर थुनामै फर्काइन्छ भने योभन्दा अलोकतान्त्रिक, अधिनायकवादी शासन अरु हुनसक्दैन । संसारमा यस्तो नजीर कहीँ पाइन्छ भने त्यो नेपालमा मात्र छ ।
यही हो लोकतन्त्र ? लोकतन्त्रको मर्म मर्यादा भनेको यही हो भने नेपालमा लोकतन्त्र छ भन्न सकिन्न । समाजविरोधी, कानुनविरोधी काम गर्ने व्यक्ति जो कोही होस्, जेलमा छ भने उसलाई सांसदको पगरी दिन सकिन्न । सांसद भनेको बिधि निर्माता हो, बिधि निर्माता जेलमा बस्दैन । जेलको सजाय काट्दैन, जनताका लागि सोच्छ । कानुन व्यवस्था कसरी बलियो बनाउन सकिन्छ, कसरी सरकारलाई लोकप्रतिको जिम्मेवार बनाउन सकिन्छ भनेर विचार राख्छ । जो जेलको सजाय काटिरहेको छ, जसले बालक र प्रहरीलाई मारेको छ र मुख्य अभियुक्त नै ऊ रहेको छ, ऊ नै सांसद ? चुनाव जित्दैमा सांसद हुने होइन, उसले कानुन व्यवस्थाको पालना गर्ने जिम्मेवारी पनि पूरा गरेको हुनुपर्छ ।
नयाँ युग, लोकतन्त्र भनेको बिधिको पूर्ण पालनाबाट मात्र सम्भव छ । गफ गरेर, भाषण गरेर नयाँ युग, समृद्ध नेपाल र सुखी नेपालीको सपना कदापि पूरा हुनसक्दैन, चेतना रहोस् ।
यस्तै हो भने रेसम चौधरीमात्र किन दीपक मनांगे, गणेश लामाहरुलाई पनि यो सरकारले सम्मान नगर्ला भन्न सकिने अवस्था छैन ।
प्रधानमन्त्री भन्छन्– सरकारले काम गरेको छ । काम गरेको भनेको बिधिको अपमान हो । अवमान्ना हो, यदि हो भने सरकारले काम गरेको छ र सरकारको काम अवैधानिक र लोकतन्त्र बिरोधी छ । अदालतबाट भएका कतिपय आदेश, फैसलाहरु पनि जनताले नरुचाउने खालका भइरहेका छन् । यसरी न मन्दिर हुनुपर्ने अदालत स्वच्छ र सर्वमान्य हुनसक्छ, न संविधान नै बलियो बन्न सक्छ । बेइमानलाई चौतारी र सोझोलाई सूली बनाउने प्रथा नितान्त अधिनायकवादी शैली हो । यो शैलीलाई सरकारले र संवैधानिक निकायहरुले सुधार्नैपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper