banner
banner

यक्ष प्रश्न, सडक आन्दोलन किन भइरहेको छ ?

स्वयम्भुनाथ कार्की -
वर्तमान धर्मनिरपेक्ष संघीय गणतन्त्र संग प्रशस्त असन्तुष्टि छ , विद्रोह लायक नै असंतुष्टि छ । तर नेपाली समाज आफु भित्र कयौ तुफान समेटेर बाहिर बिल्कुलै शान्त छ । सरकारलाई दुई तिहाईको उमत्याई चढेको छ भन्ने हो भने गलत आंकलन हुन्छ । किनभने सरकारले वा सत्ताधारीहरुले देखाएको व्यवहार उमत्याई भन्दा आत्मकमजोरीले पैदा हुने त्रास संग धेरै मिल्छ । सत्तामा बसेर कामले जवाफ दिनुपर्ने स्थानमा ओठे जवाफ दिनु भनेको कामले नतिजा देखाउन सक्ने हुर्मत छैन । झन आफ्नाहरुले अरिंगल भएर ओठे जवाफ फर्काएनन , आफ्नो इज्जतको प्रतिरक्षामा उत्रेनन भन्ने रोड्याई शक्तिको दम्भ हैन मनमा बसेको अपराध भावले पैदा भएको त्रास हो ।
तीन तहको सरकारलाई सिंहदरवार घर आंगनमा आउने भनेर भनियो । एक घर बाट अर्को घरको दुररी आधा किलो मिटरको हाराहारी भएका स्थानहरुलाई पनि नगरपालिका बनाईयो । नागरिक प्रफुल्ल भए,  नगरपालीकाहरु झै आफ्नो टोल वस्तीमा पिच सडक, बत्ती, खानेपानी आदिको कल्पनाले मख्ख भए । घर आंगनमा आएको सिंहदरवारले गर्दा आंगन मै स्वास्थ्य, शिक्षा आदि प्राप्त गर्नथालेका सन्तान कल्पना गर्न थाले । जव कल्पनाबाट बाहिर निक्ले आफुले सेवक भनेर चुनेका प्रतिनिधिहरुको रजौटाहरु भन्दा भव्य ठाँटवाँट देखे । त्यो ठाँटवाँट पुरा गर्न आफु निचोरिएको महशुस गरे । यसले जनतामा जन्माएको असंतोष र त्यसले पैदा गर्न सक्ने परिणामबाट सत्ता डराएको छ ।
विदेशीहरुले विपत व्यवस्थापनमा सघाउन तेस्र्याएको शर्त, अनि कसैलाई भएको सत्तारोहणको हुटहुटीमा हडवड गरेर संविधान जारी गरियो । संविधानमा भएका विसंगतीहरु सामान्य तरिकाले सुधार गर्न नसकिने खालका नै छन । यो अवस्थाको फाईदा कतै आफुहरुले पाखा लगाईएका राजालाइ नपुगोस् भनेर परिवर्तनकारीहरु त्रस्त हुनु अस्वभाविक हैन । त्यो छटपटी पनि देखिएको छ । मुलुक भित्रकाहरु मात्र हैन कुटनैतिक मर्यादा नै नाघेर आन्दालेनमा सहभागि भएका तात्कालिन विदेशी प्रतिनिधिहरुमा पनि यो त्रास फैलिएको देखिन थालेको छ । उनीहरुको नेपाल भ्रमण , नेपाल चिन्ता बाक्लिएको छ । सत्ता राजालाई पारिवारिक समारोहमा खुशी नहुन उर्दी जारी गर्छ , भ्रमणमा निक्लेका राजा ओरीपरी झुम्मिएका जनतालाई आफु विरुद्धको षडयन्त्र देख्छ ।
तर परिवर्तनकारी भनाईने तथा सत्ताधारीको यो प्रलाप अब जनता सुन्न तैयार छैन । त्यत्रो १० बर्ष नेपाल आमाको छाती उनका सन्तानको रगतले भिजाएको विद्रोहको प्राप्ति खतरामा छ भन्ने लागेको छ । अव कहिल्यै अन्दोलन गर्नु नपर्ने गरेर साथ माँगेर गरिएको १९ दिने आन्दोलनको जनताले नमागेको नेताले कल्पना गरेको उपलव्धीहरुमा खतरा देखेका छन । तर जनता भने अब नेताहरुको लहैलहैमा लागेर गरेको त्यो आन्दोलन नै गलत रहेछ भन्ने सोचमा पुग्दैछन् । विद्रोह र आन्दोलनको प्राप्तीको आयु दिगो भएन चाहे त्यो ४६ सालको होस वा ६३को । ४६ अघि जनताले सबै सुविस्ता पाएका थिए भन्ने दावी हैन , तर जति आन्दोलन र त्यसले प्राप्ती हुँदै गयो त्यती जनताको कष्ट बढेको भने निर्धक्क भन्न सकिन्छ ।
कुनै वेला यस्तो पनि आएको थियो जुन वेला खुल्ला रुपमा राजाको नाम लिन पनि डर थियो । तर भुसको आगो सल्के जस्तो राजाको चर्चा भित्रभित्रै चल्दै थियो । कुनैपनि जीवित समाज बर्षौ सुतेर वस्दैन , आज गरेको निर्णय भोली नै पनि बदल्न सक्छ । त्यसैले आफ्नो बर्चश्व भएको वेला पछि निर्वाचन भएर आउनेले अनुमोदन गर्नैपर्ने शर्तमा गणतन्त्र घोषणा गरियो । तर समाजले राजा चाहिन्छ भनेर मत माग्नेलाई चौथो शक्ति बनाई दिए । यो कुनै सहक आन्दोलनले भएको काम थिएन । जनताको चेतना झकझकाउने काम बिना कुनै तामझाम , बिना कुनै सडक आन्दोलन लगातार भैरहेको छ ।
सडक आन्दोलनले केही वेरको निमित्त तरंग ल्याउला तर दिगो काम गर्न सक्दैन भन्ने कुरा त ४६ देखिका अनेकौ आन्दोलनहरुले देखाई सकेका छन । ०३६, ०४६ र ०६३ मा राजाले जनताको सम्मान गरेका थिए र ती सफल जस्तो देखिए । तर संविधान जारी गर्ने ताका र गरेपछि भएका आन्दोलनमा सत्ताले जनताको सम्मान गरेन । फलस्वरुप ती आन्दोलनहरु थाके , त्यसका नेतृत्व बरु पाएमा सत्ताको स्वाद चाख्न तैयार भए । तर जनता बीच भित्रभित्रै राँकिएको चेतनाको ज्वाला, सञ्चार जगतको उपेक्षा हुँदा पनि सामाजिक सञ्जालमा उर्लेको यो भेलले धेरै कुरा बगाउछ र दिगो बगाउछ । यो क्षमता सडक आन्दोलनमा छैन । त्यसैले राष्ट्रवादीहरुको सडक आन्दोलन भई रहेको छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper