banner
banner

कहाँ छन् मधेसका नेताहरु...

शाश्वत शर्मा -
राजपा कहाँ छ ? उपेन्द्र यादव सरकारमा गएपछि र संविधान संशोधन गर्ने सुरसार नदेखे पनि राजपा भित्रभित्रै हराइरहेका छन् । मधेसमा यी नेता हुन्जेल मधेसको विकास हुन्न, मधेसीले कुनै अधिकार पाउने छैनन्, जे छ यिनै नेताले लुटिरहेका छन् भन्ने व्यापक प्रचार भइरहेको छ । मधेसी नेताहरुको स्वार्थन्धतालेगर्दा बिखण्डनवादी सीके राउतहरको फुर्ति बढेर गएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अविश्वासिला र भर पर्नै नहुने नेता भनेर चित्रित गरिन्थ्यो, अव त्यो स्थान मधेसी नेताहरु खासगरी राजपाका शीर्ष नेताहरुले लिन थालेका छन् । मधेसी समुदायमै मधेसी नेताहरुको इज्जत धुलिसात भएको छ । राजेश अहिराज जो मधेसी विज्ञ हुन्, उनी यसै भन्छन् ।
राजपा र यिसका नेताहरुमाथि पैसा र पहाडी स्त्रीका लागि मरिमेट्नेहरु भनेर आरोप नलागेको होइन । तर पछिल्ला दिनहरुमा यिनका भनाइ र गराइलाई विचार गर्दा यिनीहरु एकदमै अविश्वासिला रुपमा प्रमाणित हुन थालेका छन् । खासगरी मधेसी र मधेसका जनताको हकहितका लागि वर्तमान संविधानमा आमूल परिवर्तन गरिनुपर्छ भन्दै आन्दोलन छेडेकाहरु भित्रभित्रै सत्ताको निकट रहने र बढीभन्दा बढी व्यक्तिगत लाभ लिन थालेको दृश्यले मधेसी जनता रनभुल्लमा परेका छन् ।
राजपाका एकथरिका नेताहरु जसरी पनि सत्तामा जानुपर्छ भनेर वातावरण बनाउन थालेका छन् भने अर्काथरि जसरी पनि संविधान संशोधन गराउनुपर्छ, केपी ओलीलाई मनाउनुपर्छ भनेर ओलीका सामु गिडगिडाउन थालेका छन् ।
मधेसमा राजपाका नेताहरुको आवतजावत पनि पातलिन थालेको छ । चुनाव अघि निकै बाक्लो रुपमा आवतजावत गर्ने र मधेसमै बस्ने नेताहरु यतिखेर राजधानीमा खडा गरेको महलमा बिराजमान भएर मधेसको राजनीति गरिरहेका छन् । राजपाका नेताहरु मधेसमा भन्दा पनि बिहार र दिल्ली बढी जानेआउने गरिरहेका दृश्य पनि देखिन्छन् ।
सभा सम्मेलनमा मधेसका शहिद अमर रहे भनेर नारा लगाउनेहरु शहिदले पाएको १० लाखमा पनि आधा रकम पार्टीमै जम्मा गराएका थिए । अहिले पनि धेरैलाई शहिद  घोषणा गर्नुपर्ने, जेलमा रहेकालाई छाडिनुपर्ने, घाइतेको उपचार खर्च दिनुपर्नेजस्ता माँग कायमै छ । जसले जति पैसा पाए पनि हामीले दिलाएको भनेर पार्टीमा लेवी जम्मा गराइन्छ ।
यतिमात्र होइन, राजपाका नेताहरुलाई कुनै नेपाली सुरक्षा निकायको जासुस, चिनियाँ दूतावासका हण्डीवाला भनेर पनि आरोप लागेको सुनिन्छ । वर्षातको मौसम र राजपाका नेताहरुको छिनछिनमा बदलिरहने गतिविधिले गर्दा यिनीहरुका माइवाप अरु नै छन् भनेर भन्न करैलाग्छ । यद्यपि मधेसका नेताहरुको ज्यादा बस उठ भारतीय दूतावास र दिनदिनै दिल्लीको आदेश पर्खने गरेको देख्दा यिनीहरु दिल्लीको आशीर्वाद लिएर नेपालको राजनीतिमा आफ्नो बर्चस्व स्थापित गर्नर्े परजीवीजस्ता भन्दा फरक पर्दैन ।
मधेसी नेताहरुले गरेको घुर्कीवाला चरित्रलाई हेरेर कतिपयले पूर्वराजालाई समेत जोड्ने गरेका छन् । हो, मधेसमा राजा र राजतन्त्रप्रति ठूलै क्रेज छ, विश्वास र समर्थन पनि छ । तर पूर्वराजा इमान्दार नागरिकको हैसियतमा बसेकाले आरोप र दोषमा भने कुनै तुक देखिन्न । जेहोस्, राजपा भन्ने पार्टी नेपालको एकता र हितमा उभिन सक्ने पार्टीचाहिं पटक्कै होइन । राजपाका नेताहरुले मधेसलाई कुनै वास्ता नगर्नाले मधेसी जनतामा यिनीहरुप्रति सम्मानभाव भने घटेर गएको छ । त्यसमाथि कांग्रेस र एमालेको पनि मधेसमा राम्रै पकड भएकाले अव बिस्तारै राजपा भन्ने पार्टी पातलिदै जाने स्थितिको आँकलन पनि गर्न थालिएको छ । राजपाका नेताहरुको यस्तो राजनीतिले मधेसलाई निराश पारेको छ, मधेसका बुद्धिजीवीहरुले राजपाका नेताहरुलाई बुद्धिहीन भनेका छन् । मधेसी नेताहरुले स्वार्थलाई मात्र हेर्ने हो भने भविष्य अन्धकार छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper