banner
banner

शासन र प्रशासन, दुवैतिर भैंसी संस्कार

राजन कार्की- अमेरिकामा अस्लिल साहित्यको वार्षिक कारोवार ४ हजार करोड डलरभन्दा बढी हुनेगर्छ । नेपालमा सेटिङ भ्रष्टाचार ४० अर्व बराबरको हुने गरेको छ । ५४ अर्वको गाडी र अवकाशपछि विशिष्टहरुलाई गरीव जनताले तिरेको करले पाल्नुपर्ने अवस्था छ । राजस्व खर्चिने कहाँ, कसका लागि ? यो देशमा समृद्धि र सुशासन, समृद्ध नेपाल सुखी नेपालीजस्ता लोकप्रिय नारा लगाउँदै केपी ओली सरकार शासनमा छ । कर्मचारीतन्त्र राजनीतिज्ञहरुसँगको मिलेमतोमा भ्रष्टाचारको आशनमा छ । ९ महिने यो शासन दुई पाइलट पार्टी संस्कृति, ३ गेयर गति संस्कार बोकेर आएको छ । तर यो सरकारको गति कछुवाको भन्दा सुस्त छ । चुस्त हुनुपर्ने शासन सुस्तमात्र छैन, चरीत्र सुध्रिन नसकेको शासक र प्रशासकका कारण यो सरकार विधिबिहीन, अपराधमुखी र भ्रष्टाचारको फोहर पोखरीमा आहाल बस्ने भैंसी संस्कृतिको विकास गरिरहेको छ ।
यतिबेला सामाजिक सुरक्षा कोषमार्फत सहभागिता, योगदान, सामाजिक सुरक्षाको नयाँ बाजा बजाएर ओली सरकार अगाडि आएको छ । उपचार, मातृत्व, सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना र अशक्तताको कल्याण, बृद्ध अवस्था सुरक्षा योजनासहित आएको सामाजिक सुरक्षा कार्यक्रम आमनागरिकलाई देखाउन निकै आकर्षक देखिन्छ । अझै पनि नेताहरु राज्यकोष मुठ्याएर थाइलेण्ड, सिंगापुर, दिल्ली, अमेरिका उपचार गर्न जानेक्रम जारी छ । नेताहरु आफ्नो र परिवारको स्वास्थ्यलाभका लागि तातोपानी बाथदेखि मन्दिरमा आरती उतार्न जाने क्रम रोकिएको छैन । यसकारण योगदानमा आधारित सामाजिक सुरक्षा योजना भनेको हात्तीको देखाउने दाँतभन्दा भिन्न छैन ।
यथार्थमा राज्यकोषमा कसैले योगदान गरेका छन् भने त्यो आमजनताले नै हो । उद्यमी, व्यापारी त नक्कली भ्याट बिल बनाएर राज्यलाई ठगिरहेका छन्, एनसेलजस्ता विदेशी लगानीकर्ताले समेत राज्यले पाउनै पर्ने लाभकरसमेत छलेर नेपालीको रगत पसिनाको कमाई विदेश लगिरहेका छन् । सामाजिक सुरक्षा कोष गरीव श्रमिकको श्रमको मँल्य जम्मा भएको कोष हो । कति श्रमिकले यो कोषबाट कस्तो सामाजिक सुरक्षा प्राप्त गरेका छन्, सरकारले देखाउन सक्छ ?
यसकारण भन्न सकिन्छ, एच जी वेल्सले लेखेको द वल्र्ड सेट फ्री नामक पुस्तकमा परमाणु बमको नाम उल्लेख गरेका थिए, त्यही नामबाटपछि खतरनाक परमाणु बम निर्माण गरियो । नेपालमा बहुदल, लोकतन्त्र नामक ऐतिहासिक आन्दोलन भए, तर आन्दोलनबाट प्राप्त परिवर्तनलाई नेताहरुले यतिबिघ्न घृणायोग्य बनाइदिए कि नेपाल असफल मुलुक हुने खतरा उत्पन्न भएको छ । यही गति रहने हो भने नेपालमा धार्मिक बिद्रोह, बिध्वंशको डढेलो नलाग्ला भन्न सकिन्न ।
मंसिर १५ र १६ गते काठमाडौंमा युनिभर्सल फेडरेशनले गरेको कार्यक्रममा कोरियन महिला म नै हुँ परमेश्वर इसुको छोरी भेर दावी गर्ने सच्चा माता जा हान मुनले नेपाललाई इसाई मुलुक बनाउने घोषणा गरिन्, प्रधानमन्त्री ओली, माधव कुमार नेपालजस्ता नेताहरु सुनिरहे । नेकपा र धर्मनिरपेक्षताको योभन्दा नाङ्गो राजनीति अरु के हुनसक्छ ?
अर्कोतिर मधेस अलग देश भनेर सीके राउत गर्जिने, सीके लालहरु बिखण्डनको आगोमा घीउ थप्ने । सरकार उता पनि हरुवा, यता पनि हरुवा । यतिमात्र होइन, प्रधानमन्त्री दम्पत्ती इसाई मातेका सामु यसरी झुके मानौं, नेकपा झुक्यो, नेपाल सरकार झुक्यो, धर्मनिरपेक्ष संविधान झुक्यो । सिंगो नेपाल झुक्यो । नेपाललाई इसाई धर्म प्रचारकका सामु यसरी झुकाउने अधिकार केपी ओलीलाई कति जनबल, जनमतले दिएको हो ?
नाकावन्दीका बेलामा देशको हितमा उभिएका ओली देशभक्तिका लागि अग्ला, बरदानयुक्त नेता साबित भएका थिए । अव भने राजनेता जन्म्यो भन्ने सबैको ठहर थियो । तर ९ महिने ओलीको शासनकालमा यी सराप साबित भएका छन् । जनबिरोधी, देशविरोधी, संविधानविरोधी, परम्परा बिरोधी विदेशी प्यादका रुपमा देखा परेका छन् । एकपल्ट फेरि परिवर्तनका बाहकहरु भ्रष्टाचार र देशघातक हतियार प्रमाणित हुनपुगेका छन् ।
फिजीले गर्न नदिएको इसाईको धर्मप्रचार कार्यक्रम नेपालमा हुनु र कार्यक्रमको आयोजक नेपाल सरकार रहनुले नै ओली इसाईकरणका पक्षधर हुन् भन्ने प्रष्ट हुन्छ । यस्ता ओलीविरुद्ध नेकपाभित्र बिद्रोहको आवाज उठ्नु स्वभाविक थियो, ओलीको राजीनामा माँग्नेसम्मका घटना देखिएका छन् । नेकपाले अवसर पायो, जनविश्वास गुमायो ।
जनविश्वास गुमेपछि कसरी नेपाल समृद्ध बन्छ ? अधिनायकवादी बनेपछि कसरी नेपाल सुशासनयुक्त हुन्छ ?
गरीवी र बेरोजगारी बढ्दो छ, अव के गर्ने कसरी अघि बढ्ने मार्गचित्र केही पनि छैन । श्री ३ को फर्मान जसरी शासन चलाउन थालिएको छ । विचारमा, सिद्धान्तमा, योजनामा, करनी र कथनी सबैतिर अस्पष्टता छ । प्रशासन नेतातन्त्रको अन्यौलमा फसेको छ । अर्थतन्त्र कमिशनमुखी छ, जसका कारण उत्पादन शँन्यतातिर झर्दो छ । पुरानोभन्दा पनि गैबार ढर्रा ढाँचाले मुलुक बन्दैन, बिग्रन्छ मात्र । दिनदिनै बिग्रिरहेको छ । नेकपा दम्भमा छ, सरकार साझा हो, जनताप्रति जवाफदेही छ भन्ने देखाउन सकेको छैन । अमँर्त भाषण ज्यादा भए, मँर्त काम केही पनि हुनसकेन । आधा भाँडो पानी बढी छचल्किन्छ भन्ने उखान र यो सरकार ठ्याक्कै मेल खान्छ ।
मूल कुरो सुरक्षा छैन । जब नागरिकले राज्यबाट पाउनैपर्ने प्राथमिक सुरक्षा पाउन सकेका छैनन्, अन्य सुरक्षाको झ्याली पिटेर के गर्ने ? एउटी निर्मला पन्तको बलात्कार र हत्यारा पत्ता लगाउनु साटो न्यायको माँगकर्ताहरुमाथि दमनमा उत्रने सरकारले सुरक्षा र कानुनी राजको कुरा गर्नु दुर्भाग्यपँर्ण छ । यो सरकार विधिको शासनमा गुणात्मक सुधार ल्याउन चाहदैन भन्ने प्रमाणित भइसक्यो ।
ओली सरकार भनेको भ्रष्टाचार, कमिशन, अनियमितता, ढिलासुस्ती, पार्टीकरण, आफन्तबादको ज्वलन्त नमँना बनेको छ । अपराधीलाई संरक्षण दिन यो सरकार सधैं तमतैयार रहनु र जातीय तथा धार्मिक बिभेद र हिंसा भड्काउने काममा अग्रसर हुनुले ओली सरकार रक्तपातको सिर्जनाकार हुन थालेको संशय जो कसैले गर्नसक्छ । संघीयता त लागँ भयो, सिंहदरवा गाउँपालिकासम्म पुग्यो । पुग्नुपर्ने जवाफदेहीपँर्ण विकेन्द्रीकरण थियो, पुग्यो भ्रष्टाचार कमिशनमुखी सिंहदरवार । सेवाग्राही जनता पाउनै पर्ने सेवा लिनबाट बन्चित छन्, भ्रष्टाचार बेहोर्न बाध्य छन् ।
आइएनजीओ सर्वोच्च अदालतसम्म घुस्यो । मुख्यमन्त्रीको दरवारको रखवाली नै आइएनजीओले गरिरहेको छ । संघीयता चलाउन र राजनीतिक कार्यकर्तारुपी पसले पाल्न जनता करमाथि थप कर तिर्न बाध्य छन् । कर देश विकासका लागि तिर्नुपर्ने हो, नेता विकासको मलका रुपमा करको प्रयोग भइरहेको छ । संविधान भद्रगोलको भूमरीमा देशलाई फनफनी घुमाउने यन्त्र बन्न पुगेको छ । हामी संवैधानिक शासन खोजिरहदा संविधानलेसंवोधन गर्न सकने । निर्वाचित सरकार अपराध र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतामा हुनुपर्ने, यो त अपराध र भ्रष्टाचार गर्ने, गराउनेहरु लुक्ने ओढार बन्न पुगेको छ । राजनीति व्यापार बनेपछि मुनाफाखोरहरु छनकमनक गरिरहेका छन् । नैतिकता, सक्षमता र इमान केहीले काम गरेको छैन । जता हेरे पनि बेइमानीमात्र देखिन्छ । नेताहरुले राष्ट्र भनेर माखो पनि मारेनन् । कानुन मिच्नु यो शासनको विशेषता हो, जसले गर्दा देश बनेन, नागरिक दु:खित पीडित हुन बाध्य छन् ।
नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहासका लेखक गृष्मबहादुर देवकोटाले देह त्याग गर्नुअघि लेखेका थिए– पत्रकार पेसाप्रति इमानदारी हुन सकेन, जसका कारण व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका पंगु हुनपुग्यो । स्थिति आज पनि त्यस्तै छ । पत्रकारिता पार्टी र नेताको पर्चाकारितामा सिमित छ । जो देशभक्त छन्, तिनको लेखनको सुनवाई नै हुँदैन ।
एकथरि मिसन पत्रकार विकार, विकृति र बिसंगति लेख्छ, त्यसलाई अर्काथरि ठूला व्यवसायिक पत्रकार ढाकछोप गरिदिन्छ । धोका जसले दिए पनि मुलुक र मुलुकबासीले धोका पाइरहेका छन् । अधिकांश जनता होमोग्लोविन कम भएर टाक्सिदै र फुङ्ग उडेको अनुहार लिएर जसोतसो बाँचिरहेका छन्, केही व्यक्ति सुँगुर मोटाएजसरी मोटाउँदै गएका छन् । देश यसैगरी टाक्सिदै मृत्यु उन्मुख हुँदै जाँदो छ ।
अधिकार खोज्ने धेरै छन्, धेरैेको अधिकार हडप्ने थोरै छन् । जिम्मेवारी निर्वाह गर्नुपर्छ भनेर कर्तव्य पँरा गर्ने झन थोरै । यसरी केही व्यक्ति नवसामन्त त बन्लान्, ओखती नपाएर मर्नेहरु मरिरहनेछन्  । फी बुझाउन नसकेर पढ्न नपाएका पँजाखत्रीहरु नारकीय जीवन बिताउन बाध्य हुनेछन् । रोजगारी नपाएर विदेशीने क्रम झन बढ्नेछ । मुलुकको व्यापार घाटा बढ्नेछ, वैदेशिक ऋणभार बढोत्तरी हुनेछ । समाज र देशको हालत भत्किन्छ मात्र । छानो बालेर आगो ताप्नेहरुको जमात बढाएर समृद्धि र सुख सपनामात्र हुनेछ । राष्ट्रको अधोगति भनेको यही हो । राष्ट्रले उपचार खोजिरहेको छ, उपचार दिने बैद्य बनेर त्याग गर्न कोही तैयार छैनन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper