banner
banner

फागुन ७ बाट देशव्यापी अर्जुनरथ

चाडबाड सकियो, पार्टी एकताको अलमल पनि सकियो, अब अर्जुनदृष्टिका साथ संगठन निर्माणमा जुट्न पार्टीका सबै तह र भातृ संगठनहरुलाई आह्वान गर्दछु । फाल्गुन ७ गतेबाट हिन्दुराष्ट्र पुनस्थार्पना सहितका मागहरु राखेर जनसंघर्ष हुनेछ । यो आह्वान, निर्देशन हो राप्रपा अध्यक्ष कमल थापाको ।
अर्जुन रथ पहिले पनि झापादेखि पशुपतिनाथसम्म चलाएकै हो । दुईपटकको अर्जुन रथ यात्राले राप्रपालाई चौथोशक्ति बनाएको थियो, जुन संविधान जारीपछिको चुनावमा सफाचट देखियो । कारण थियो, हिन्दुराष्ट्र र राजसंस्थाप्रति इमान राखिएन, पशुपतिनाथका सामु गरिएको कबुलमा खरो उत्रिएन राप्रपा ।
पटक पटक सरकारमा गयो, संसदमा गएको पहिलो दिनदेखि सिद्धान्तमा प्रतिवद्ध भएर संसद अवरुद्ध गर्ने योजना सत्तासँग सति गएको थियो ।
अव राप्रपाको बुद्धि फिरेको छ शायद । यसैले गाई, हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रलाई मुख्य एजेण्डा बनाएर राप्रपा हिन्दुराष्ट्र पुनस्र्थापनाको अभियानमा फागुन ७ गतेदेखि लाग्ने निर्णयमा पुगेको छ । चुनाव अघि यति गरिदिएको भए राजतन्त्रवादी र हिन्दुवादीको मत एमालेतिर जाने नै थिएन । यही गल्ती कांग्रेसले पनि गर्‍यो । अव राप्रपा र नेपाली कांग्रेसले गल्ती स्वीकार गरेर अघि बढ्न लागेको देखिदैछ । यही अभियानले राप्रपा पुन: शक्तिशाली र नेपाली कांग्रेस पुन: सर्वशक्तिमान बन्नसक्छ । शक्तिको स्रोत वास्तवमा यही नै हो ।
हिन्दुधर्म र संवैधानिक राजतन्त्रको मुद्दा उठाउन नेपाली कांग्रेसले पनि पछि पर्नु हुन्न । वीपीको सिद्धान्तले नै कांग्रेसलाई पार लगाउने छ । वीपीको सिद्धान्त छाडेर कम्युनिष्टको पछि लाग्दा नेपाली कांग्रेसलाई अपत्यारिलो रुपमा कम्युनिष्टले सोत्राम पारिदिए । नेपाली कांग्रेसको इतिहासमै यति दयनीय राजनीतिक हालत बनेको छ । कांग्रेसको केन्द्रीय समितिको बैठकमा यो आत्मानुभूति गरिएको छ र महासमितिको बैठकले गल्ती सुधार्ने अपेक्षा प्रजातन्त्रवादीको रहेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper