banner
banner

चेलीबेटी बेच्ने र नक्कली श्रम स्वीकृति दिनेलाई कारवाही गर

धर्मरत्न श्रेष्ठ -
जति पनि भ्रष्टाचारीहरु छन्, सेटिङमा धन्दा चलाइरहेका छन् । केही केही पक्राउ पर्छन् र अदालतसम्म त पुग्छन्, अदालतबाट छुट्छन् । अदालतले कडा कारवाही नगरिदिदा धन्दावालहरुको हिम्मत बढेर गएको लामो समय भइसक्यो ।
यति नै बेला अख्तियारले १८४ जना चेलीहरुलाई नक्कली श्रम स्वीकृति दिएका २५ जना कर्मचारीलाई पक्राउ गरेर अदालत पुर्‍याएको छ । जतिसुकै सुधारका लागि कम गरे पनि वैदेशिक रोजगार कार्यालय पटक्कै सुध्रन सकेन । मेनपावरका सेटिङमा फसेर जागीरलाई कमाउ धन्दा बनाइरहेका छन् । यही मेसोमा यी २५ जना कर्मचारी पक्राउ परेका हुन् । यिनीहरु कुबेतको बैदेशिक रोजगारीमा जान लागेका १ सय ८४ महिला नक्कली कागजातका आधारमा जान लागेको आशंकामा पक्राउ परेका हुन्, पछि नक्कली कागजात यिनै कर्मचारीले बनाएको ठहर भयो ।
हुन त कर्मचारीहरुमा शाखा अधिकृत हरिप्रसाद देवकोटा, दीपककुमार आचार्य, गणेशविक्रम शाह, दिनेशकुमार राई, पवित्रा श्रेष्ठ र रामप्रसाद ओली, सुब्बाहरुमा अमरराज जोशी, विष्णुहरि निरौला, दिलबहादुर खत्री, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, मदन गिरी, खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भुसाल, नगेन्द्रप्रसाद गौतम, रवीन्द्र घिमिरे, रघुनाथ केसी, योगेन्द्र खत्री र केशवराज ढुङ्गानाविरुद्ध गलत लगत खडा गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको कारण मुद्दा दायर गरिएको अख्तियारले स्पष्ट पारेको छ ।
यस मुद्दामा कम्प्युटर अपरेटर अमर महरा, चक्रबहादुर पराजुली, डम्बरबहादुर विश्वकर्मा, धनवीरसिंह भाट र राजकुमार शाही र सहायकको भूमिका गरेको भन्दै राजीवकुमार पञ्जियार र विकास थापासमेत फसेका छन् ।
ओली सरकार गठन भएपछि निकै सुधार हुनेछ, नियमन हुनेछ र बिचौलियाले आमनागरिकलाई यसरी ठगठाग गर्न पाउने छैनन्, देशमा सुशासन आउनेछ भनेर निकै आशा राखिएको हो । ८ महिने ओली सरकारले जतिसुकै डम्फु बजाए पनि राज्य सञ्जालका कुनै पनि निकायमा भ्रष्टाचार कम भएको छैन । कूशासन यसरी बाक्लिदै गएको छ कि केन्द्र सरकारमात्र होइन, अव त स्थानीय, प्रदेशलगायतका सबै ७ सय ६१ सरकारहरु नै भ्रष्टाचारको दलदलमा फस्न पुगेका छन् ।
भ्रष्टाचारीलाई टपाटप टिपेर फाल्छु भन्ने प्रधानमन्त्री केपी ओली अन्तत: असहाय बन्न पुगेका छन् । मेरो आदेश केही मान्दैनन् भन्नेजस्ता अभिव्यक्ति दिनुले समेत सरकार निसहाय बनेको स्पष्ट हुन्छ । जब सरकारको प्रभावरिता यसरी सकिन्छ, भ्रष्टतत्वले शीर उठाउँछ । वैदेशिक रोजगार विभागका कर्मचारीले नक्कली कागजात बनाएर चेलीबेटी निकासी गर्नु जघन्य अपराध हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper