banner
banner

कर्मकाण्डी पूजा कहिलेसम्म ?

गंगा दाहाल -
पूजाका अनेक रुप सार छन् । राजनीति आफैमा पूजा हो । देश सेवा गर्छु, जनसेवा गर्छु, समाजलाई सभ्य पार्छु भनेर राजनीतिमा लाग्ने हो । यो अर्कै कुरा हो कि आजकल राजनीति व्यवसाय बनेको छ । सजिलो आम्दानीको राम्रो स्रोत बनेको छ । अनैतिक बनेपछि राजनीतिक पूजा यसरी बदनाम भएको छ ।
देवीदेवता पूजा, मन्दिर, पीठहरुको पूजा, ब्रतअनुष्ठान पनि पूजा हो । यी पूजाहरु आत्मसन्तुष्टि, सन्तानको जय, समाज र देशको उन्नतिको कामना गरिन्छ । कुनै ठूलो काम आँट्दा मानिसहरु प्राय पूजा, आराधाना, प्रार्थना, स्तुति गर्छ र भगवानसँग भन्छन्– थालिएको यो काममा बाधा नहोस्, शिद्ध होस् ।
आस्तिक वा नास्तिक जोसुकै हुन्, आखिर अदृश्य शक्ति त छ । जसले मानिसको संरचना, प्रकृतिको प्रादुर्भाव कसरी गरेको छ । एउटा उदाहरण यस्तो–
जब नारीले पेटमा बच्चा बोक्छे र जन्माउने बेला हुन्छ, उसको छातीमा दुध भरिएर आउँछ । किनकि जन्मेको त्यो बालकले सजिलै स्तनपान गर्न सकोस् । आमाको दुध चूदै बालक हल्किदै जान्छ, बालकको दाँत टुसाउन थाल्छ र बालक चपाउन सक्ने हुन्छ, प्रकृतिको कत्रो करामत, आमाको दुध सुक्छ । बालक ठोस पदार्थ खानसक्ने हुन्छ खान्छ । यो अदृश्य शक्तिको कमाल नभए के हो ?
यो आमाको पूजा हो । आमाले बच्चा जन्माएर हुर्काउँछे र आफ्नै खुट्टामा उभिनसक्ने बनाउँछे । यति गर्न एउटी आमाले आफैलाई सम्पूर्ण जोखिममा हाल्न तैयार हुन्छे । सबै जोखिम उठाएर हुर्काएको बच्चाले आमालाई अत्याचार गर्दासमेत आमाको मुखबाट बच्चाको सुखका लागि आशीर्वाद नै निस्कन्छ । यो भन्दा आमाको लागि अर्को पूजा छैन । यसकारण राजनीति, सामाजिक, आर्थिकमात्र होइन, घरपरिवारदेखि राष्ट्रसम्मका जुनसुकै क्षेत्रमा खटिएका व्यक्तिहरु हुन्, तिनले गर्ने पूजा नै हो । आस्था जेसुकै होस्, जुनसुकै धर्मप्रति होस्, पूजा कल्याणका लागि पवित्र कामका लागि गर्ने हो । पूजामा बिकृति बढेकाले आज समाज उद्वेलित भइरहेको छ । समाजमा बिकृति र बिसंगति बढेर गएको छ ।
आज पूजामा नैतिकता छैन । नैतिकता बिनाको पूजा भनेको कर्मकाण्डी पूजा हो । सरकारले जनताप्रति, नेताले मतदाताप्रति, हरेकले हरेकप्रति गर्ने पूजामा सत्चरीत्र रहेन । सबै स्वार्थका पुतला बनेका छन् । यहीकारण पूजा पूजा हुनसकिरहेको छैन । राजनीतिक परिवर्तन त अनेक देखियो तर परिवर्तन कसकालागि, किन र कुन उद्देश्यका लागि । यही कुरा स्पष्ट छैन । यसको अर्थ पूजामा पवित्रता गुम भएर गएको छ । पूजा देखावटी हुनपुगेको छ ।
एउटा कर्मचारीले सेवा दिन्छु भनेर सपथ खान्छ तर त्यसपछि सेवाका बदलामा सेवाग्राहीले तिरेको कर पनि खान्छ, घूस पनि खान्छ । यही हो पूजामा बिकृति घुसेको । राज्यका कुनै क्षेत्र, कुनै ठाउँ यस्तो छैन, जहाँ निष्पक्षता होस् । अदालतभित्रको फोहरले गर्दा, सिंहदरवारभित्रको अस्तव्यस्तता हेर्दा, स्थानीय निकायहरुमा देखिने मनलागीतन्त्र हेर्दा लाग्छ देश अव माफियाकरण भइसक्यो । जता हेरे पनि सेटिङ, जता हेरे पनि कमिशन र भागबण्डा, जता हेरे पनि मिलेमतोमात्र देखिन्छ । देश मिलेमतोले होइन, बिधिले चलाउने भनेर संविधान जारी गरियो । संविधानको पूर्ण पालना सरकारले नै नगरेको आरोप लाग्यो । जब सरकार नै संविधानको पूजामा खोट राख्छ, खोट देखाउँछ भने सरकारले गर्ने जनपूजा, देशपूजा कसरी खोटरहित हुनसक्छ ? पूजा भनेको इमान हो । इमान नभएपछि जस्तोसुकै फुइँकी लगाएर पारायण अथवा कीर्तन गाए पनि त्यो देखावटीभन्दा बढी के हुन्छ र ? पूजामा पवित्रता ल्याउन जरुरी भयो ।
ल्याउने हामीले नै हो । गर्ने हामीले नै हो । हामी जो जिम्मेवार पदमा छौं, पहिले सुरुआत हामीबाटै हुनुपर्छ । हामी नै कमशल र देखावटी इमानहीन पूजामा छौं भने कसरी पूजाबाट फल, बरदान प्राप्त हुनसक्छ । आजको मूल प्रश्न पूजा गर्नेहरुको इमानको, नैतिकताको र मनदेखिको प्रसन्नताबाट हुनुपर्छ । खाली मेवा खोज्ने, खाने प्रवृत्तिले देश भताभुङ्ग हुनथालेको छ । अराजकता, हिंसा र हत्या बढेर गएको छ । सबैले छातीमा हात राखेर सोचौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper