banner
banner

कलङ्की–थानकोटका ठेकदारले ज्यानमार्ने

धर्मरत्न श्रेष्ठ -
शर्मा शैलुङ कान्छाराम जे भी एण्ड लुम्बिनी शैलुङ साप जेभी, यही हो कलङ्की नागढुंगा सडक निर्माणको ठेकेदार । यिनले जेठ २४ गते अविरल वर्षा भए पनि सडकमा काम भइरहेकोमा उत्तम कार्की भन्ने व्यक्तिले सामाजिक सञ्जालमा आफ्नो कम्पनीमा लाञ्छना लगाउँदै गाली बेइजति गरेकोले उसलाई पक्राउ गरी कारवाही गरिपाउँ भनेर प्रोजेक्ट कोअर्डिनेटर नमराज भण्डारकिो नाममा निवेदन दिएका थिए । त्यसपछि यी ठेकेदारले फोन गरेर ती युवालाई मार्नेसम्मको धम्की दिएको युवा र सडकपीडितहरुले बताएका छन् । यो ठेकेदारले ४ वर्षदेखि कलंकी नागढुंगा सडकमा के काम गरे, कति काम गरे भन्ने कुरा सडकपीडितहरुलाई सोधे पनि थाहा हुन्छ । यिनले राजनीतिक प्रभाव र दबाबमा पेश्की लिने तर काम नगर्ने र पेश्की रकम अन्यत्रै खर्च गर्ने गरेको आरोपसमेत लागेको छ । यिनले समयमा काम नगरेर ठेक्काको समयावधि थप्दै गएका छन् । अहिले पनि नाममात्रको काम गरेजस्तो गरेर जनतालाई हिजो हिलो र आज धूलोको चपेटामा पारेका छन् ।
सामाजिक सञ्जालका अनेक वालहरुमा कलंकी नागढुंगा सडक पीचमा धाँधली गर्ने ठेकेदार जो प्रचण्डका घरबेटी हुन् किन जेल परेनन् ? भनेर लेखिएको भेटिन्छ । मधेशका पुलहरुको ठेकेदार पप्पु यादवका संस्थापक सांसदको पद नै निलम्बनमा परेको छ । यी कलंकी नागढुंगा सडकको ठेकेदार राजधानीका पप्पु यादव हुन् । यस्ता पप्पु यादवहरुलाई प्रचण्डका मान्छे भनेर छाडिनु हुन्न । विधिको शासन गर्ने, सुशासन र समृद्धि ल्याउने हो भने यस्ता ठेकेदार जो शक्तिको आडमा युवालाई ज्यानमार्ने धम्की दिन्छन्, त्यस्तालाई सहुलियत दिनु भनेको अराजकता हो ।
कलंकी–नागढुंगाबासीले पटक पटक माइतीघर मण्डलामा समेत बिरोध प्रदर्शन गरेका छन् । सडक अवरुद्ध पारेर सरकारको ध्यानाकर्षण पनि गरेकै हुन् । तैपनि सरकार यस्ता धाँधली र भ्रष्ट ठेकेदार जो हिंसात्मक चरित्र पनि देखाउँछ, त्यस्ताको पक्षमा लाग्छ, त्यस्ता असामाजिक तत्वलाई संरक्षण गर्छ भने ओली सरकार लोकतन्त्रवादी सरकार हुनसक्दैन, यो त भ्रष्टहरुको सरकार हुनजान्छ ।
यो देशमा ठेकेदारको राज छ कि जनप्रतिनिधिको । संसदमा विकास समिति नै ठेकेदारहरको ठेक्का बन्न दिने, देशभरिका ठेक्कामा कर्मचारी, प्राविधिक र ठेकेदारको सेटिङमा काम कम, भ्रष्टाचार ज्यादा भइरहेको छ । यस्तो शासन भनेको अराजक आशनमा बसेको अन्धो शासन हो । यति सरकार छ भने कलंकी थानकोट सडकको ठेकेदारलाई कारवाही गरेर देखिनुपर्‍यो । कलंकी देखि थानकोटसम्मका हजारौं जनता यो सडकको ठेकेदार कतिसम्मको भ्रष्ट, हिंसावादी हो भनेर बयान दिन तैयार छन् । सरकारले नै यस्ता भ्रष्ट ठेकेदारलाई काखी च्याप्ने हो भने यो सरकारजस्तो भ्रष्ट सरकार अरु छैन भन्न जनता बाध्य हुनेछन् ।
अन्य क्षेत्रका सडक ठेकेदारजस्तै कलंकी नागढुंगा सडकका ठेकेदार पनि भ्रष्ट हुन्, जनमैत्री छैनन् । यिनले बाटो भत्काएर छोडेको बषौं भइसक्यो, धूलो र खाल्डाखुल्डीले धेरै जनता मुटुका बिरामी समेत भएका छन् । कतिले ज्यानसमेत गुमाइसके । ठेक्का लिने तर समयमा गुणस्तरयुक्त काम नगर्ने ठेकेदारलाई छुट दिनु भएन, ठकेदारसँग मिलोमतो गर्ने कर्मचारी प्रशासनलाई पनि कारवाही गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper