banner
banner

सरकार र राष्ट्रपतिलाई प्रश्न खै ?

वाशुदेव वाग्ले -
एक अभियन्ताले लेखे– यो सेना नेपाली होइन, भारतीय नेपाली सेना हो । नेपाली सेना नेपाली हुन्छ, कसरी भारतीय नेपाली सेना हुनसक्छ ? आवेगमा जे पनि भन्न छुट छैन, नेपाली सेनालाई संविधानले बाँधेर राख्ने, राख्न दिने गरी मतदान गर्ने अनि सेनामाथि जाइलाग्ने ? निश्चय नै नेपाली सेनाले राष्ट्रियताको बीचबचाउका लागि काम गर्नुपर्छ । त्यो दायित्व सेनाको हो । तर, सेनालाई राष्ट्रिय सुरक्षा परीषदले सञ्चालन गर्ने, राष्ट्रपति सेनाधिपति हुने व्यवस्था गर्ने मञ्जुरी कसले दियो ? भारतले कि हामी नेपाली मतदाताले ?
सेनाले सीमा अतिक्रमणदेखि हरेक प्रकारका विदेशी हस्तक्षेप नियालीरहेको छ । कुनै कुरा सेनाको नजरबाट हटेको छैन । हामी नानाभाँती हड्ताल, बन्द गर्न सक्छौं, सेनालाई सीमामा खटाउ भनेर आफ्नै सरकारलाई किन दबाब दिन सकिरहेका छैनौं ? नेपाली सेना विश्व शान्तिमा खटिएको छ, नेपालको शान्तिव्यवस्थामा खट्दैन भनेर भ्रम नपालौं । दोष हाम्रो हो, जो राष्ट्रघातक छन्, तिनलाई चुनाव जिताएर सरकारमा पुर्‍याउँछौं, उनीहरु अतिक्रमणकारीका जालोमा परिरहेका छन्, हामी सेनालाई गाली गर्छौं । सेना आफै सरकार होइन, न सेना संविधान हो । सेना व्यवसायिक संगठन हो, जो राजनीतिकरण भएको छैन ।
सेना सबल छ, सेना लोकतान्त्रिक पनि छ । सेना समानुपातिक पनि छ । सेनाभित्र सुधार हुनुपर्छ, सुधारका प्रक्रिया चलिरहेको छ । सुधार निरन्तर प्रक्रिया हो । झण्डै एकलाखको संख्यामा भएको सेनाभित्र केही कूतत्व छन्, तिनलाई सुधार्ने जिम्मा सैनिक संगठनको हो, देख्ने जो कसैले सावधान गराउनै पर्छ । किनकि नेपाली सेना नेपालीको नमक खाएर बनेको संस्था हो, नमकको सोझो गर्नु र नेपाल तथा नेपालीको हित चिताउने सेनाको मुख्य धर्म हो ।
कालापानी, सुस्ता, लिपुलेकमा भारतीय सेना छ । ती नेपाली क्षेत्र हुन् । ६० हजार हेक्टर नेपाली भूभाग भारतले कव्जा गरिसक्यो, गौतम गोविन्दजस्ता युवालाई सीमामै मारिसक्यो । यो कस्तो सरकार हो, सीमाअतिक्रमणका बारेमा बोल्दै बोल्दैन, नागरिक मारिसक्दा पनि खुख खोल्दैन । हामीले बनाएको सरकार राष्ट्रियताप्रति उदासीन छ भने यसमा सेनालाई मात्र दोष दिएर हुन्न ।
कि भन्न सक्नुपर्‍यो, नागरिक उठ्नुपर्‍यो– सरकार फाल सैनिक शासन चाहियो । ल्याउने लोकतन्त्र, खोज्ने सैनिकको सक्रियता । सेनाले अध्ययन गरेर रिपोर्ट गर्ने हो, सेनाको परमाधिपति राष्ट्रपतिलाई यही प्रश्न गर्ने कि नगर्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper