banner
banner

गृहमन्त्रीको आँखामा अझै जनयुद्ध

पदम हमाल -
गृहमन्त्री रामबहादुर थापाले प्वाक्क भनिहाले– ‘नेपालको सेना सामन्ती हो ।’ नेपाली शान्ति प्रकृयाको अध्ययन गर्न आएको अफगानिस्तानको शान्ति परिषदको टोलीकै सामु गृहमन्त्री थापाले यस्तो तीतो टिप्पणी गरेका हुन् । यो टिप्पणीलाई प्रधानमन्त्री र रक्षामन्त्रीले समेत कुनै टिप्पणी गरेनन् । के उनीहरुलाई यस्तो टिप्पणी पाच्य भएको हो र ? नेपाली सेना सामन्ती हो भने नेकपाको दुई तिहाईको सरकार छ, संविधान संशोधन गर्न कसैले रोक्न सक्दैन, सेनाको परिचालन कसरी गर्ने भन्ने नीति पनि बनाउन सक्छ, बनाए भयो त । विदेशीका सामु नेपाली सेनाका बारेमा यसरी तीतो टिप्पणी गर्ने अधिकार गृहमन्त्रीलाई कसले दियो ?
गृहमन्त्रीले नेपाली सेनाको सोच, संस्कार र संरचना नै ठिक छैन भनेका छन्, छैन भने ठिक पार्ने दायित्व अफगानीको कि नेपाल सरकारको ? नेपाल सरकारको गृहमन्त्रीले यसरी बाइफाले टिप्पणी गरेर सेनाको मनोबल गिर्छ कि उठ्छ ?
सेनाभित्र कमजोरी होलान्, कतिपय सामन्ती प्रचलन पनि होला । त्यसलाई विदेशीका सामु धोती फुकालेर देखाउने होइन, सरकारका तर्फबाट सुधार्ने र नेपाली सेनालाई व्यवसायिक बनाउने हो । देशमा समस्या पर्‍यो कि बाटो बनाउनेदेखि पेट्रोल बेच्नेसम्मको काम सरकार लगाउँछ, अनि सेनाभित्र सामन्तीपन बढ्यो भन्छ, सामन्तीपन के के छ, त्यसलाई सरकारले तत्काल सुधार गरोस् ।
नेपाली सेना अन्तिम सुरक्षा कवच हो । राजनीतिले ध्वस्त पारेको राष्ट्रिय वातावरणले राष्ट्रका लागि खतरा बढ्दै गएको छ । यो खतरासँग कसरी लड्ने, लड्ने सरकारले हो, सक्दैन भने अन्य सुरक्षा निकायले हो र कसैले पनि सकेन भने आखिर लड्ने त सेनाले नै हो । त्यो सेनालाई बलियो पार्ने योजना ल्याउ ।
अफगान शान्ति मिसनले गृहमन्त्रीको कुरा सुनेर के सन्देश लिएर गयो होला, नेपाल अझै शान्तिमार्गमा छैन भन्ने सोच्यो कि सोचेन होला ? नेपालको शान्ति प्रक्रिया विश्वमै नौलो हो, सबैले सह्राहना गरेका छन् । पीडितले न्याय र पीडकले दण्ड पाएपछि शान्ति प्रकृया पूर्ण हुन्छ । अफगानी हविवा सरावीको नेतृत्वको टोलीले सेना समायोजनदेखि संविधान निर्माणसम्मको जानकारी लिएको थियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper