banner
banner

अग्नि परीक्षामा छन् ओली

अधिवक्ता गंगा दाहाल -
बिमस्टेकको चौथो शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । यो सम्मेलनको चुरो कुरो प्रधानमन्त्री ओलीको दुई कुरामा दिएको जोड नै प्रमुख रहेको छ । पहिलो बिमस्टेक सार्कको विकल्प होइन । दोश्रो हिमाल र महासागर जोड्नका लागि बिमस्टेक हो । यी दुई अभिव्यक्तिबाटै ओलीको भिजन फराकिलो देखिन्छ । ओली जुन विशेषतामा उभिएर चुनाव जित्न सफल भए, जुन एजेण्डा र घोषणापत्रबाट जनताको मत जित्न सफल भए, ओली त्यो एजेण्डामा अडिग छन्, उनी सुशासन र समृद्धिका लागि लड्ने नेता हुन् भन्ने प्रष्ट हुन्छ ।
हो, माओवादीसँग मिलेका कारणले अदालतले डामेका केही व्यक्तिलाई छोड्न सिफारिस गर्नुपर्‍यो, करदेखि निर्माण गर्ने ठेकेदारलाई कडा कारवाही गर्न नसकिने अवस्था आयो, माफिया र तस्कर, नैतिकहीन र भ्रष्टलाई पाता कस्न सरकारले सोच्नुपर्ने स्थिति पनि आयो । ओली सरकारमा गएपछि मोदीकै जस्तो ड्रेस लगाएर उभिनुपर्ने अवस्था पनि आयो । त्यतिबेला र यसपटक पनि भारतीय सुरक्षाकर्मीले नेपालमा सुरक्षा नै छैन भन्ने अनुभूति दिनेगरी सैनिक मार्च नै गरे, मोदीको सुरक्षाका नाममा नेपालको सुरक्षा व्यवस्थालाई प्रश्नचिन्हमा उभ्याए ।
यी यस्ता बाध्यता थिए, जसलाई प्रधानमन्त्री ओलीले सहनै पथ्र्यो, पचाउनै पथ्र्यो र यही बेलामा भारतले चलाउन अनुमति दिएका भारुको समस्या, सीमाना मिचिएका र सीमामा हुने भारतीय ज्यादतिका विषयमा प्रम ओलीले वार्ता गर्नैपथ्र्यो, जुन हुनसकेन । यो दु:खद पक्ष हो । तर ओलीको मनसाय, इच्छाशक्ति र चाहना सुशासन र समृद्धि नै हो । उनी बिस्तारै आफ्ना पाइला अघि बढाउँदै छन् । उनको पहिलो भ्रमण भारतमा हुनु परम्परागत होला, चीन भ्रमणबाट पनि नेपालका समदूरी र समानताका सम्बन्धमा सुधार आइरहेको छ ।
प्रश्न उठाउन सकिन्छ । प्रश्नमात्र उठाएर सुशासन र समृद्धि आउने होइन । जनताले मत दिए, साथ दिएका छन् । अव मत र साथको विश्वासलाई परिणाममुखी बनाउने जिम्मेवारी केपी ओलीकै काँधमा आएको छ र उनलाई प्रष्ट थाहा छ, उनको बिफलताले नेकपाको साखमात्र गिर्दैन, भविष्यसमेत अन्धकारमय हुनेछ । कांग्रेसको बिफलता र परिवर्तनपछि बनेका १० सरकार हेरेका भोगेका जनताले त्यसै ओलीको देशभक्तिमा भर गरेका होइनन् । ओलीले पनि बाँकी जीवन जनताकै सेवामा दिन्छु भनिसकेका छन् । यसकारण ओलीका आगामी दिन अग्निपरीक्षामा छन् । ओलीले यो अग्निपरीक्षा पास गरेमात्र उनको नाम इतिहासमा लेखिनेछ । उनलाई पनि डर छ, कतै राष्ट्रघाती हुननपरोस् । मर्दा मलामी नघटुन् । ओलीको नाममा मैनबत्ती नबलोस्, कसैले फूल नचढाउन् । ओलीमा देशभक्ति छ । उनको अन्तिम इच्छा नेपालकै झण्डा हुनुपर्छ । पार्टीको झण्डा त राष्ट्रसेवामा लाग्ने मार्गमात्र हो । प्राप्ति त नेपालको झण्डाको पहिरन नै हुनुपर्छ । 
यसकारण ओलीले मोदी रिसाउन् कि खुसाउन् भनेर भनेका हुन्– प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सार्कको बिकल्प होइन, परिपूरक हुन् । बिमस्टेकप्रति क्षेत्रीय सहयोगको प्रक्रियाका लागि नेपालको मजबुत प्रतिबद्धता छ । बिमस्टेकले केवल हाम्रा देशहरूलाई मात्र जोड्दैन, यसले दक्षिण एसिया र दक्षिणपूर्वी एसियालाई पनि गाँस्छ । बिमस्टेकले महासागरहरूका साथै पहाडहरू जोड्ने र परस्पर निर्भरतालाई बलियो बनाउने छ । उडाइएका अनेक अफवाहलाई यही भनाईले गलत साबित गरेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper