banner
banner

हराउन थाल्यो, टपरी संस्कृति

शुभकार्य अथवा शोककार्य, दुबै अवसरमा आवश्यक पर्ने टपरी, दुना, बोताको संस्कृति बिस्तारै लोप हुन थालेको छ । अव त खण्डे थाल अथवा कागज, प्लास्टिकका थालहरुसमेत मेसिनले बनाउन थालेपछि टपरी, दुना संस्कृति हराउन थालेको हो ।
त्यसो त धेरैजसो विहे ब्रतबन्धका कार्यक्रम, पार्टी पार्टी प्यालेसहरुमा हुन थालेका छन् । जति जमीन छन्, त्यसमा हरेकवर्ष घर निर्माण तीब्र रुपमा बन्न थालेपछि खुला ठाउँको अभावले पनि शुभकार्यहरु पार्टी प्यालेसमा हुनथालेका हुन् ।
अहिलेका केटीहरु अथवा महिलाहरु टपरी दुना गाँस्न पनि जान्दैनन् । जो पहिलेका आमासमूह छन्, तिनीहरु यसमा पारंगत छन् । अहिलेदेखि नै बालिकाहरुलाई टपरी, दुना, बोता गास्न नसिकाउने हो भने जसरी ढिकी, जाँतो, डोको, डालो, ढकी, पिर्काको प्रचलन हराएर गएको छ, त्यसरी नै दुनाबोताको प्रचलन पनि हराउने खतरा छ । आधुनिकताले गाँज्दै लगेको र बढी सुख खोज्ने प्रवृत्ति बढेकाले समेत पुराना संस्कृति र संस्कारहरु हराउन थालेका हुन् ।
अहिले साइत चाहिदैन, लगन हेरिदैन, कात्तिक वा चैतमा समेत बिहे हुनथालेका छन् । बढीभन्दा बढी युवा विदेश जाने भएकाले र भीसाका लागि बिहे भएको प्रमाण खोजिने कारण कोर्ट म्यारिजको प्रचलन भने बढेको छ । यति मात्र होइन, विदेशीसँग विहे गरेर विदेश जानेहरुको लर्को पनि लामै देखिन्छ ।
जे होस्, पूर्वीय संस्कृति र संस्कारमा टपरी, दुना, बोताको आफ्नै महत्व छ, यो महत्वलाई कायम राख्ने हो भने वर्तमान पुस्तालाई टपरी, दुना, बोता गाँस्न सिकाउनु पर्छ । अहिले कोर्सबुकमा नेपाली विषय पढ्न नपर्ने चलन समेत आइसक्यो, यही कारणले गर्दा पनि नेपाली संस्कार बिस्तारै लोपोन्मुख छ । विचार गरौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper