banner
banner

समस्या बल्झाउने कि समाधान खोज्ने ?

गंगा दाहाल -
१. करको कर कर । २. बेरोजगारीको समस्या । ३. बढ्दो बलात्कार र हिंसाका घटना । ४. गरीवी निवारण । ५. मानव वेचबिखन, ठगी र भ्रष्टाचार । ६. सुशासन र समृद्धि । ७. विधिको शासन । ८. राष्ट्र निर्माण र राष्ट्रिय एकता ।
यी आठ रोगले देशलाई गाँजेको छ । रोग अनेक छन् तर यी अतिरोग हुन् । अतिरोगलाई क्रोनिक हुन दिनुहुन्न । ता कि औषधिले काम नगरोस्, अपरेशन गर्न पनि नमिलोस् । त्यस्तो स्थिति भनेको मृत्यु बरण गर्नुको विकल्प हुन्न । त्यसैले राष्ट्र निर्माण सत्ताधारीको मात्र जिम्मेवारीको कुरा होइन । विपक्षी र आमजनसाधारणले पनि सरकारले प्राप्त गरेको विश्वासमा भरोशा गर्नुपर्छ, सरकारले पनि भरोशा गर्न लायक निर्णयहरु गरेर सही सोचका साथ अघि बढ्नुपर्छ ।
भनिन्छ, एक थुकी सुकी, हजार थुकी नदी । नेपालको यो संक्रमणकालको अन्त्य र शान्ति, समृद्धि र सुशासनको सुरुआत गर्नका लागि प्रत्येक नेपालीको उत्तिकै जिम्मोवारी छ । यतिबेला सरकार असफल हुनु भनेको नेकपामात्र असफल हुनु होइन । संविधान असफल हुनु, संघीयता असफल हुनु, हामी सबै एकैपल्ट असफल हुनु हो । यो परिवर्तन ल्याउने, चाहने सबै असफल हुने कि हामी सबै सफल हुने हो, यतिबेलाको यक्ष प्रश्न यही हो । यसमा सबैले मनन गर्नुपर्छ ।
करको करकर धेरै भयो । कसरी यो करकर समाप्त पार्ने, यसमा सबैले सुझाव दिउँ, सरकारले त्यो सुझाव मानोस् । वैदेशिक रोजगारीमा जानेलाई नेपालमै रोजगारी व्यवस्था गर्न के कस्तो राष्ट्रियनीति र निर्णय चाहिन्छ, त्यसमा पनि सरकार र प्रतिपक्ष बसुन्, आमजनताले सुझाव दिउन् ।
बलात्कार र हत्या कहालीलाग्दो तरिकाले बढ्न थालेको छ । यसमा संसद, सरकार र महिला जागरण बढाउन सरकारले संसदबाटै एउटा निर्णय गरेर सार्वजनिक गर्न जरुरी छ । सरकारका सञ्जालहरु सक्रिय हुनुपर्छ, संचेतना बढाउन सके, बलात्कार र हिंसा स्वात्तै घट्न सक्छ । यसमा उदासीनता किन ?
गरीवी निवारण आजको ठूलो समस्या हो । गरीव पहिचान पत्र धनीले अठ्याएछन्, त्यसमा पनि सत्ताधारी र पहुँचवालाको बोलवाल भएछ । यो अपराध हुनबाट सरकार सचेत हुनुपर्छ । सुकुम्वासी भनेर हुकुमवासी बस्ने, गरीवले पाउनुपर्ने राहत धनीले लुट्ने प्रथाले नेकपाको नाक काटिन्छ, बच्दैन । ठूलो समस्या मानव बेचबिखन, ठगी, व्याप्त भ्रष्टाचार हो । जनप्रतिनिधिले जनताको सेवा गर्ने हो, पदमा पुगेर मेवा खाने होइन भन्ने कडाइ थालिहालौं । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्रीले कस्तो निर्णय गरे, राम्रो कुरा जसबाट सिके पनि हुन्छ । सुशासन र समृद्धिका लागि बिधिको शासन, समानता अनिवार्य छ । विभेदले बिबादमात्र बढाउँछ, अधिनायकवादको आरोप मात्र लाग्छ । यसबाट सत्ताधारीहरुले कसरी बच्ने र आमनागरिकलाई सरकार छ भन्ने प्रत्याभूति दिने ? हाम्रो ठूलो समस्या एकता हो । अनेकतामा एकताको सिर्जना गर्न सकिएन भने भाइ फुटे गवार लुटेमात्र हुन्छ र यसको अवगाल सत्ताधारीको शीरमा बज्रन्छ ।
निष्कर्षमा भन्नुपर्दा, नेकपा त सत्ताको अगुवामात्र हो । पहिलो जनसेवक, राष्ट्रसेवक । त्यसपछिका लस्करमा बाँकी सबै तह र तप्काका नेपालीहरु सेवक हुन् । असल सेवक उही हो, जसले देशको र जनताको भलो कसरी हुन्छ भनेर सोच्न सक्ने विवेक प्रयोग गर्छ । विवेक प्रयोग आजको पहिलो आवश्यकता हो । विवेकहीन बनेर राजनीतिमात्र गर्ने हो भने शान्ति, सुशासन र समृद्धि सपनामा सिमित हुनपुग्नेछ । हामीले सपना साकार पार्न खोजेका हौं । सपना साकार पार्न सपना देख्ने इमान्दार हुनुपर्छ, सपना देख्नेले कर्म गर्नुपर्छ । अरुलाई पनि सपना देख्न र कर्ममा जागरुक र सक्रिय पार्ने उत्प्रेरणा दिनसक्नुपर्छ । मनलागी गर्ने र राजनीति गर्ने होइन, बाँकी चारवर्ष नेकपाले राष्ट्रिय एकता र सहमतिका साथ अघि बढ्न चाहने हो भने देश र देशवासीको जीवनस्तर उठ्छ, शंका छैन । यसका लागि सत्ताले सबैको सहयोग लिन खोज्नु आवश्यक छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper