banner
banner

आगोको कोही न मित्र हुन्छ, न शत्रु

राजन कार्की -
हरेक परिवर्तन असन्तुष्टिका कारणले हुन्छ । सन्तुष्टिको खोजी नै परिवर्तन हो । नेपालमा पनि ठूला ठूला राजनीतिक परिवर्तनमात्र होइन, पद्धति नै नयाँ आयो । नयाँ पद्धतिले सन्तुष्टि दिन्छ, जीवन सहज हुन्छ भन्ने जुन अपेक्षा थियो आमनागरिकको, हुनसकेन ।
यतिखेरको मूल प्रश्न भनेको– परिवर्तनबाट अपेक्षा के थियो, के पाए जनताले ? यही हो, यो सावलको जवाफ जिम्मेवार राजनीतिज्ञहरुले दिनुपर्छ ।
जनआवेग कस्तो हुन्छ, गाडिएका क्रमवेलको शवलाई खाल्डो उधिनेर निकालेनन् मात्र, चारदोबाटोमा लगेर झुण्ड्याइदिए । शव झुण्ड्याएर पनि रिस नमरेपछि, शवमाथि ढुंगामुढासमेत हान्यो भीडले । भीडतन्त्र यस्तै हुन्छ ।
जनताले चाहेको भए २०६३ मा के गर्न सक्ने थिएन । यसअर्थमा राजा ज्ञानेन्द्र भाग्यमानी । यथार्थमा जनआवेग ज्ञानेन्द्रमाथि होइन, राजतन्त्र सिध्याउन तैयार पारिएको चक्रव्यूह थियो, यसकारण राजा ज्ञानेन्दलाई महादेव मानेर मरेको संसद व्यूँताउन लगाइयो र जनआवेग त्यत्तिमा शान्त भयो । शीर्ष नेता पुतला थिए, दम दिनेले दम नदिएपछि पुतलाले नाच्न छाडे, तिनलाई बाँदर बनाइयो र लामो समय नचाइयो । हिन्दुराष्ट्र, राजतन्त्रको विध्वंश गराइयो र आजको नयाँ विध्वंशको श्रृंखला चलिरहेको छ ।
नयाँ श्रृंखलामा जनयुद्ध र जनआन्दोलनका हिरोहरुलाई भिलेन बनाउने अध्यायको सुरुआत भइसकेको छ । ओलीजस्ता खरा नेता यतिबेला निम्छरा साबित भइरहेका छन् । इटलीका ग्यारीवाल्डी बन्ने कि गएगुज्रेको, निर्णय ओली आफैले गरुन् । उनीसँगै मलेसियामा महाथिरको दोस्रो पपुलर इनिङ सुरु भएको छ । देश निर्माण, राष्ट्रिय एकता, सुशासन र समृद्धि कसरी ल्याउने, नेताले त्याग र साहस कसरी देखाउने र जनविश्वास कायम राख्ने भन्ने प्रेरणा लिनसक्छन् । ओली पतनमार्गमा लागेको पत्रु देख्न नपरोस्, ओली राजनेता बनुन भनेर हामी नागरिकले यी कुरा भनिरहेका छौं, विरोधी नठानियोस् । किनकि नागरिक सधैं नागरिक हुन्छ, नागरिक बिरोधी हुनसक्दैन । नागरिक बिरोधी हुनेभए आज नेकपाको दुई तिहाई हुने थिएन, हेक्का रहोस् । भारतको नाकावन्दी, केपी ओली प्रधानमन्त्री । सिंगो नेपाल हाहाकार हुनपुग्यो । माधव नेपाल, प्रचण्डले नै त्यसअघि भारतीय प्यादा भनेर आक्षेप लगाइएका, यतिमात्र होइन, प्रचण्डले नै ओलीको नेतृत्वको एमालेलाई तेश्रो लिंगी भन्ने आरोप समेत लगाइएका केपी ओली भारतीय नाकावन्दी विरुद्ध पहाड बनेर उभिए । प्रत्येक नेपालीले सरकारलाई साथ दियो । नेपाली राष्ट्रवाद भारतका सामु झुकेन । शीर ठाडो भो नेपालको ।
शायद मान्छेको शरीरभित्रको एकटुक्रा कलेजो र देशभित्र एकमुठी माटो मान्छे र प्रकृतिको अनुपम देन हो । एकटुक्रा कलेजो र एक मुठी माटोबाट पनि स्वस्थ र सिंगो कलेजो र राष्ट्रवाद हुर्किन सक्छ । त्यतिबेला त्यही उदाहरण बन्यो ओली नेतृत्वको सरकार । त्यही गुणलाई चुनावमा भोट बन्यो र एमालेले जित्यो । यतिबेला नेकपाको दुई तिहाई त्यही नाकावन्दीमा देशभक्त बनेर उभिनुको प्रतिफल हो । जनताको आशीर्वादसहितको बिजय हो ।
इतिहासमा सत्य डगमगाएका अनेक उदाहरण छन् । ओलीको त्यो सत्य, चुनाव जितेपछि सरकार प्रमुख बन्नासाथ डगमगायो । ओली सरकार बनेपछि सुशासन र समृद्धिको नारा खुब उछालेकै हो । भ्रष्टाचारको अन्त्य गर्छु भन्ने पनि उनै हुन् । यहाँसम्म कि हावाबाट विजुली निकाल्ने, भान्सामा ग्यासको पाइप ल्याइदिन्छु भन्ने ओलीले काठमाडौं, लुम्बिनीसम्म चीनको चुच्चे रेल, स्मार्ट सिटीदेखि यही पुसमा पानीजहाज नेपालबाटै चलाउनेसम्मका भाषण गरेकै हुन् ।
भयो के, जनताले पाए के ?
के दियो ओली सरकारले ? मन्त्रीदेखि मेयरसम्म, संसददेखि स्थानीय निकायसम्म दुईतिहाईको दम्भ देखिन्छ, सुशासनको स्तम्भ दिनदिनै धरहरा भाँच्चिएजसरी भाँच्चिदै गएको छ । सेवाग्राही प्रताडित हुँदैछन् ।
यही हो संघीय लोकतन्त्र ? पहिलो बजेट आयो, कालोधनलाई कालो भन्ने हिम्मत गरेन, बजेटमा एकपटक छुट दिने मसला घोल्यो । ६५ अर्वभन्दा बढी भइसक्यो एनसेलले तिर्नुपर्ने लाभकर, सरकारले उठाउन सकेन ।  २ हजार कोठा भाडामा लगाउनेसँग १२ प्रतिशत कर उठाइरहेको छ । स्थानीय निकायमा जन्म, मृत्यु दर्ता, सिफारिसमा समेत हजार प्रतिशतसम्म कर बढायो । मालपोतदेखि घरजग्गा खरिदविक्रीमा समेत कर बढाउन पछि परेन ।
चुनाव जिताउनुमा जनताको अपेक्षा के थियो ? ओली सरकारसँग जनताले के पाए ? मूलकुरो देशको स्वाधीनतामा आँच नआओस् । यिनै ओली भारत गए, मोदीलाई नेपाल निम्त्याए र अरुण सुम्पिए । चीन गएर केही राजमार्ग, केही रोजगारीमूलक उद्योगमा लगानी ल्याउन सकेनन् । यो सरकारले रोजगारी सिर्जना गरेर युवा पलायन रोकोस्, स्वास्थ्य शिक्षा देशभरिमा एउटै होस्, सुलभ होस् । निर्यातमूलक उद्योगहरु सञ्चालन हुन्, विदेशी लगानी ओइरियोस्, पर्यटनको विकास होस् भन्ने थियो । विकास त सडकका खाल्डा खुल्डीजस्तै बेहालमा छन्, धुलो र धुवाँको प्रदूषणमा रुमल्लिएको छ ।
नाकावन्दी अघि जुन दलाली प्रवृत्ति थियो, त्यसको अन्त्य होस् । कानुन बलियो होस्, पहुँच र सेटिङबाट कानुन नमिचियोस्, सक्षमको अधिकार नखोसियोस् भन्ने थियो । केही पनि त भएन । दलाल त नारीजातिलाई नगरबधु बनाउन पो उद्दत हुनथाल्यो । कानुन मन्त्रीले कानुन तोडे, माफी मगाएर उनलाई उन्मुक्ति दिइयो । अर्का मेडिकल माफिया दुर्गा प्रसाईलाई प्रधानमन्त्री ओलीले अझै पक्राउ गर्न सकेनन्, खुलेआम अभिभावक समेतलाई पीडा दिने गरी महिलामाथि हिलो छ्यापिरहेका छन् । दुई तिहाईको सरकार, कानुन बलियो छ, विधिको शासन हो यो भनेर उदाहरण देखाउन सक्दैन भने सरकारको औचित्य कति रह्यो र ?
राजनीतिले कमाउने विश्वास हो । त्यही विश्वास चुनावका बेलामा भोटमा रुपान्तरण हुन्छ र भोटले सत्ताधिकारी बनाउने हो । केपी ओलीले जनविश्वास जिते, भर दिलाए, चुनाव जितेर प्रधानमन्त्री पनि बने । प्रधानमन्त्री बनेपछि उनले कमाएको विश्वासमा खिया लाग्न थालेको छ । उनी यसरी भ्रष्टहरुको जालोमा फसे कि मानौं माकुराको जालोमा माखा (झिंगा) । यो जालोबाट प्रधानमन्त्री निस्कन सकेनन् भने जनताले दिएको विश्वासको मतको अपमान हुनेछ ।
यातायातमा सिण्डिकेट हटाउन ठूलै कसरत गरेका थियो सरकारले, त्यो देखावटीमा सिमित छ । ३ जनाको ज्यान लिने सुनकाण्डको अनुसन्धान प्रधानमन्त्रीले रोके । एयरपोर्टबाट ३८ टन सुन भित्रिएको डरलाग्दो कथा सुरक्षा निकाय नै सुनाइरहेको छ । तस्करीका ठूला माछा पक्राउ गर्ने जानकारी गृहमन्त्री नै दिन्छन् । समानान्तर सरकार चलाउने एनजीओ र सञ्चालकको सम्पत्ति विवरण छानबिन गर्न आदेश दिने गृहमन्त्री एकाएक यू टर्न गर्छन् र मौन हुन्छन् । यो सबका पछाडि राष्ट्रपतिको दबाबले हो भन्ने आरोप सार्वजनिक भएको छ । आलंकारिक राष्ट्रपति भ्रष्टहरुको संरक्षक, योभन्दा आपत्तिजनक खबर अरु के हुनसक्छ ?
आम अपेक्षा थियो– १४ वर्ष जेल बसेका केपी ओली, २७ वर्ष जेल बसेका नेल्शन मण्डेला बनुन् । मण्डेलाको आधा बने पनि देशको भलो हुन्थ्यो । ओलीले जे जति भ्रष्ट, दलाल, तस्करको परिक्रमालाई महत्व दिइरहेका छन्, यो सब देखेपछि ६ महिनामै ओली शासन अधिनायकबादको आधुनिक अवतारजस्तो देखिन थालेको छ ।
ओलीको समय प्रतिपक्षीलाई गाली गर्ने, सत्याग्रहीको मान मर्दन गर्ने, माफियालाई दङ्ग पार्नुमा बितिरहेको छ । ६ महिनामा यो सरकारले गरेको एउटामात्र राम्रो काम के हो ? केही देखाउन सक्दैन यो सरकार । यो सरकारले करको भार थपेर जनजीवनलाई थप आतंकित पारिरहेका छन् । जुन जनताको भोट पाएर सत्तामा पुग्यो यो सरकार, अव तिनै जनता सडकमा उत्रनुपर्ने बाध्यताको सिर्जना भइसकेको छ । बहुमतको सरकारले जनताको आशीर्वाद पाउने काम गर्नुपर्नेमा सराप लाग्ने काम पो गर्नथाल्यो ।
देशमा दुई तिहाईको शासन, सडकमा विरोधको ज्वाला, सरकारको फौजी दमन । यसभित्रको रहस्य जान्न खोज्ने हो भने समाजवाद दलाल पुँजीवाददेखि दलाल पुँजीवादसम्मको कष्टकर यात्रा बन्नपुगेको छ ।
यी सबैको पृष्ठभूमिमा के भन्न सकिन्छ भने बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोग जो बनेको छ र सेता हात्ती सरह सुतेर खाइरहेको छ । ती निकायलाई निस्तेज पारेर नयाँ कानुन ल्याउने तैयारी भइरहेको छ । त्यो कानुनले बेपत्ता र सत्यको खोजी गर्ने होइन, संक्रमणका सबै घटनालाई एउटै डोकोमा हालेर मेलमिलापको नाममा क्षतिपूर्ति दिएर पीडकलाई उन्मुक्ति दिने रफ्फा डफ्फा मिलाइदैछ । यो विधिको शासन हुनसक्दैन । जबसम्म पीडक दण्डित हुँदैन, तवसम्म कानुनको राज छ भन्न सकिन्न । यो सरकारको, लोकतन्त्रमा देखिएका नयाँ नयाँ राजाहरुको क्रियाकलापले राजनीति र नेता भनेका भ्रष्टाचारको अर्को नाम रहेछ, यस्ता नेताले देश हाँकेर देश बन्दैन भन्ने अविश्वासको सञ्चार भइसक्यो । देश हाँक्ने शक्ति त अर्काको टेक्ने लठ्ठी पो रहेछ भन्ने परिसक्यो ।
निष्कर्षमा भन्ने हो भने जनताका लागि नेतातन्त्रको ग्रहण लागेकाले लोकतान्त्रिक आवरणको शासन व्यवस्था महाभारतको वारणावत पर्व र लाहाको घर साबित भइसकेको छ । प्रश्न यत्ति छ, निकास राजनीतिले दिने कि जनताले खोज्ने ? जनता भनेका सलाईको काँटी हुन्, ज्यादा खेलाउँदा, घोटिदा घोटिदा झ्वार्र बल्न पनि सक्छ । डढेलो सल्केपछि त आगोले यिनका मित्रलाई मात्र छोड्छ र ? आगो आगो हो, आगोको कोही न मित्र हुन्छ, न शत्रु ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper