banner
banner

यस्ता पो राष्ट्रपति

गोविन्द प्रसाद पौडेल -
एउटा राष्ट्रपतिका लागि मुलुकवासीका क्रियाकलापप्रति कसरी गर्ववोध हुन्छ, मुलुक कसरी विश्वमा चर्चित बन्छ, मुलुक कसरी सबैका नजरमा चम्किन्छ, त्यसको ज्वलन्त उदाहरण बनिन्, क्रोएसियाकी राष्ट्रपति ५० वर्षकी कोलिन्दा ग्रेवर ।
कोलिन्दा सानो राष्ट्रपति हुन् तर विश्वकप फुटबलपछि चर्चाको ठूलो राष्ट्रकी राष्ट्रपति बनिन् । ठूलो बन्न आकार ठूलो चाहिन्न, राष्ट्रको पहिचान गराउने चरित्र चाहिन्छ, त्यही उच्च चरित्र देखाइन् कोलिन्दाले । राष्ट्रपति हुन् त कोलिन्दाजस्ता । बधाई कोलिन्दा ।
कोलिन्दा हिजोका दिनमा कमाण्डो थिइन् । ८ भाषाकी जानकार कोलिन्दा क्रोएसियाका लागि असल नागरिक पनि हुन् जसले देशलाई जुरुक्कै उठाइन् ।
विश्वकप फुटबलको फाइनलमा फ्रान्ससँग खेल्दै गर्दा राष्ट्रपति कोलिन्दा ग्रेवल किदारोविच आफ्नो देशका जर्सी लगाएर हौसला बढाइरहेकी थिइन् । खेलाडीहरु उत्साहित थिए । यति राम्रो फुटबेल खेले कि खेलमा क्रोएसिया हार्‍यो तर संसारले क्रोएसियाको खेललाई यसरी चर्चा गरे कि मन जित्यो ।
हारेपछि पनि राष्ट्रपति पानीमा भिज्दै आफ्ना देशका खेलाडीहरुलाई अँगालो मारेर प्रशंसा गर्दै थिइन् । फर्केपछि राष्ट्रिय सम्मान गरिन् । एउटा राष्ट्रपतिका लागि राष्ट्रको गरिमा र महिमा कस्तो हुन्छ, अनुकरणीय बनेकी छिन् कोलिन्दा ग्रेवर ।
अचम्म, राष्ट्रपति कोलिन्दा रुस आउँदा इकोनोमी क्लासको टिकटमा आइन् र सर्वसाधारण दर्शक दीर्घामा बसेर आफ्नो देशको टिमलाई हौस्याइन् ।
कोलिन्दा ती राष्ट्रपति पनि हुन् जसले आफ्नो देश फाइनलमा पुगेपछि नाचिन्, देशबासीलाई एकतावद्ध पारिन् । आफ्नो देशलाई चर्चित बनाइन् ।
एजेन्सीको खबर छ– विश्वकपमा कोलिन्दाको काम, अनुशासन र समर्पणको तारिफ जर्ज डब्ल्यू बुश र बाराक ओबामाले पनि गरे । क्रोएशियाको हारपछि भावुक भएकी राष्ट्रपतिले टीमका कप्तानलाई आगालो हालेर कोलिन्दाले सम्झाइन्– हामीले जित्यौं, बधाई छ । मेरो देशको टिम मेरो गर्व हो, देशको गर्व हो ।
नेपालकी राष्ट्रपति छिन् विद्यादेवी भण्डारी । उनको यो दोश्रो कार्यकाल हो । दोश्रो कार्यकालसम्म आइपुग्दा समेत विद्यादेवी भण्डारीमा राष्ट्र, राष्ट्रवाद, राष्ट्रवासी के हो ? राष्ट्रलाई उठाउन राष्ट्रपतिले के गर्नुपर्छ ? जनताको विश्वास कसरी जित्ने ? कसरी सामान्य नागरिकको जीवन यापन गरेर उदाहरण बन्ने ? यस्ता केही पनि विशेषता देखिदैन । यतिमात्र होइन, राष्ट्रपति निवासबाट संसदसम्मको ४ किलोमिटर दूरी आउन उनले सेनाको रिसल्ला, वरिपरि कारगेट, थप सुरक्षामात्र होइन, पुरै सेनाबाट घेरिएर आइन् । घण्टौं बाटो खाली गराइन् । जनताले यति कष्ट पाए कि एउटा राष्ट्रपतिको संसदमा सरकारको नीति पढ्न आउँदा एम्बुलेन्सलाई समेत रोकेर राखियो, विरामीले समेत अस्पताल पुग्न पाएनन् । प्रविधिको विकास यति भइसकेको छ कि राष्ट्रपतिले निवासबाटै पढ्न सक्थिन् । हेलिकोप्टरमा आए पनि जनता बोल्नेवाला थिएन । उनलाई तमासा देखाउनु पर्ने । जनतालाई दु:ख कष्ट दिनुपर्ने ? आखिर नेपालको गणतन्त्र तमासामात्र हो त ?
विद्या भण्डारी कम्युनिष्ट कुन् । कमाण्डो नबने पनि संघर्ष गरेरै आएकी हुन् । सत्तामा पुग्नासाथ उनले त्यो संघर्ष, जनताको संघर्षशील जीवनलाई चटक्कै बिर्सन मिल्छ ? सत्ताको मात लाग्ने भए क्रोएसियाकी कोलिन्दालाई किन लागेन ? विद्या भण्डारीलाई मात्र सत्ताको मात ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper