banner
banner

चन्द्रागिरीमा पत्रकार र पर्यटन

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघले चन्द्रागिरी हिल्सको हलमा नेपालको पर्यटन विकासबारे पत्रकार अन्तरकृयाको कार्यक्रम आयोजना गर्‍यो । यस कार्यक्रममा ३ नम्बर प्रदेशका मन्त्री केशव स्थापित, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, पर्यटन वोर्डका प्रतिनिधि सुनिल शर्मा, पर्यटनविद योगेन्द्र शाक्य केन्द्रमा थिए भने अन्तरक्रियामा सहभागी थिए, प्रेस काउन्सिलकी प्रतिनिधि शुभेच्छा विन्दु, चन्द्रागिरी हिन्सका महाप्रवन्धक अभिषेक शाह, फोनिजकी अध्यक्ष राज्यलक्ष्मी तथा पत्रकारहरुमा जयप्रकाश त्रिपाठी, निमकान्त पाण्डे, राजन कार्की, पुष्प प्रधान र अन्य धेरै पत्रकारहरु ।
मन्त्री केशव स्थापित आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले बोलबम पर्यटनले नेपालको विकास हुन्न, ट्रेड टुरिजमको सोचमा अघि बढ्नुपर्छ भन्दै उनले पर्यटन विकासको परम्परागत सोचमा सर्जरी गरेमात्र पर्यटन उद्योग वास्तवमा नेपालको प्रगति र समुन्नतिमा फलदायी हुने धारणा अघि सारेका थिए ।
पर्यटनविद योगेन्द्र शाक्यले वर्षेनी ढाई तीनलाख पर्यटक आइरहेको मो भिजिट नेपाल वर्ष २०११ मा ८ लाख ल्याउन सफलता हासिल गरेको र सन २००० मा २० लाख पर्यटन भित्र्याइने दावी गर्दै अव पनि पर्यटन वर्ष असफल भयो भने त्यो असफलता बैंकको लगानी, देशको अपेक्षा र पर्यटन उद्यमीको नैराश्यता सावित हुने तर्क गरेका थिए ।
चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले चन्द्रागिरी नगरपालिका पर्यटन केन्द्र बनाउनका लागि हरेक प्रयत्न गर्ने, त्यसका लागि छलफल र योजना तैयार भइरहेको समेत बताए । नेपाल पर्यटन वोर्डका प्रतिनिधिले पत्रकार मैत्री बन्ने, पर्यटन विकासका लागि सबैले आआफ्ना सामाजिक सञ्जालमा सक्दो योगदान पुर्‍याउन अपिल गरेका थिए । पर्यटन वोर्डले आगामी दिनमा आक्रामण योजनाका साथ पर्यटन प्रवद्र्धनमा लागिपर्ने उनले बोर्डको योजनाको खुलासा गरे ।
किन भुटानमा एउटा पर्यटक लामो समय बस्छ र दैनिक ५ सय डलर खर्च गर्च, नेपालमा दैनिक ७० डलर खर्च गर्ने र त्यो पनि तत्काल फर्किने खालका पर्यटक आउँछन् भन्ने लगायतका पत्रकारहरुको विभिन्न प्रश्न र सुझावलाई मनन गर्दै पर्यटनविद योगेन्द्र शाक्यले क्वालिटी र क्वान्टिटी दुबैलाई ध्यान दिइने र सन २००० मा २० लाख पर्यटक भित्र्याएर नेपाललाई पर्यटन हवका रुपमा विकास गर्ने बताए । यो अन्तरक्रियाको आकर्षणमा थिए प्रदेश मन्त्री केशव स्थापित । उनले सरकारमा बस्नेले झण्डा नबिसाएसम्म पर्यटन विकास नहुने उनको ठहर थियो । मन्त्रीले एउटा ट्वाइलेट बनाउन सक्दैनौं, पर्यटकलाई ट्वाइलेट यता यता भनेर देखाएर पनि पर्यटन विकास हुन्छ भन्दै बनेपामा ९ हजार रोपनीको डाँडो छ, त्यसलाई इलेफेन्ट पार्कका रुपमा विकास गर्नसके पर्यटन केन्द्र बन्नसक्छ भन्ने विचार पनि अघि सारे । मन्त्री स्थापितको मुख्य कुरो थियो– अनुशासन छैन । कहिले राजनीतिक क्रान्ति भन्यौं, अहिले आर्थिक क्रान्ति भनिरहेका छौं । अनुशासनबिनाको क्रान्तिले विकास सम्भव छैन । क्रान्तिवीचको फरक विकास हो, यसका लागि अनुशासन ल्याउनुपर्छ ।
१ सय २६ जातिको देश, विविधता हुनु स्वभाविक हो । यतिमात्र होइन, नेपालका धार्मिक प्रचलन, सांस्कृतिक विविधिता, भूबनोट त्यस्तै, सिंगारिएको प्रकृति, हावापानी, यसपछि बुद्धदेखि सगरमाथासम्म, यहाँका कला, वास्तुकला, इतिहास मनमोहक छ । यही जान्न ज्ञानका भोका विदेशीहरु नेपालमा आउने गर्छन् ।
पर्यटनको सम्भाबना प्रचूर छ, विकास गर्ने दृष्टिकोण छैन । होटल खोल्नुमात्र पर्यटन होइन । हामीमा पर्यटकलाई हेर्ने, गर्ने व्यवहार र तिनलाई आकर्षण गर्ने ज्ञान हुनपनि जरुरी छ । यसरी फोनिजले अन्तरक्रिया सम्पन्न गर्‍यो, सबैका लागि यो केही नयाँपन पनि थियो ।
स्मरणीय छ, यी तिनै केशव स्थापित हुन् जसले राजधानीमा युवायुवतीलाई लभ गर्ने थलो सम्म छैन भनेका थिए, चन्द्रागिरीको नाम उठान गरेका थिए, जसलाई चन्द्र ढकालले यसरी लगानी जुटाए, बनाए र आज राजधानीको पर्यटन केन्द्र नै बनेको छ । यो कामका लागि चन्द्र ढकाल धन्यवादका पात्र छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper