banner
banner

प्रजातन्त्रका लागि हिन्दुराष्ट्र र राजसंस्था

कम्युनिष्टले बढारेर विपक्षीहरुलाई पन्छाएपछि र सत्तामा कब्जा गरेपछि प्रजातान्त्रिक शक्तिहरु कांग्रेसदेखि राप्रपासम्म निकट हुनपुगेका छन् ।
चुनाव हार्नुको मूल कारण आन्तरिक गुटबाजी, पार्टी विभाजन, हिन्दुराष्ट्र र राजसंस्थाको महत्वमा टेक्न नसक्नु हो भनेर विश्लेषण भएपछि कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपाका अध्यक्ष कमल थापा गुटबाजी र पार्टी विभाजनको अन्त्य गर्दै हिन्दुराष्ट्र र राजसंस्थामै फर्कने र यही सिद्धान्तमा मजबुतीका साथ उभिने प्रयासमा छन् ।
राप्रपाका अध्यक्ष कमल थापाले अव तीन टुक्रा भएको राप्रपालाई एक बनाउने र अव कहिल्यै विभाजन नहुने पार्टी बनाउन लागिएको उद्घोष गरेका मात्र छैनन्, उनले देश जोगाउनका लागि हिन्दुराष्ट्र र शाहबंश चाहिएको हो भनेका छन् । चुनाव अघिको चौथो पार्टी राप्रपा यतिबेला एक सिटमा साँघुरिएर ओझेलमा परेको छ । कांग्रेस पनि कम्युनिष्टहरुबाट बढारिएर मरीच हुनपुगेको छ । यही चुनाव हारलाई विश्लेषण गरेर दुबै तप्काले आफ्नो कमजोरी पत्ता लगाएका हुन् ।
कमल थापा, पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीका रुपमा राप्रपा चुनाव अघि तीन टुक्रामा थियो भने कांग्रेसभित्र शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको तीन गुट देखिएको थियो । जसले गर्दा कांग्रेस र राप्रपा दुबैको चुनावमा बेइज्जतीपूर्ण हार भएको थियो । 
यसरी आपसी मनमुटाव र फुटको नतिजा नै चुनावमा हारको कारण रह्यो, स्पष्ट रुपमा राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा उभिन नसक्दा पनि जनता रिसाएर सबै भोट एमालेतिर खन्याइदिएका थिए । एमालेको जितको असल कारण कांग्रेस र राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रप्रति आफ्नो दृष्टिकोण स्पष्ट पार्न नसक्नु हो ।
राष्ट्रिय राजनीतिमा प्रभावकारी राप्रपा प्रभावहीन बन्न पुगेको छ भने विपक्षी कांग्रेस कमजोर भएका कारण दुई तिहाईको बहुमतसहित नेकपा प्रतिपक्षलाई समेत बेवास्ता गरेर अघि बढिरहेको छ । यी दुबै पार्टीले के अनुभव गरेका छन् भने हिन्दुराष्ट्र र राजसंस्थावादीको भोट नै यसपटकको आमनिर्वाचनमा निर्णायक भयो । राप्रपा र कांग्रेसको चुनावी हार भयो, यो हारबाट उभ्रनका लागि दुबै पार्टी निकट सहयोगी भएर र सिद्धान्तत: भएका कमजोरीलाई सुधारेर अघि बढ्नुपर्ने छ । सम्भवत: चुनाव हारले राजसंस्था र हिन्दुराष्ट्रको महत्वमात्र बढाएको छैन, प्रजातान्त्रिक व्यक्ति, पार्टी र संस्थाहरुलाई समेत निकट पुर्‍याउन थालेको छ ।
विश्वमा कम्युनिष्ट धार कमजोर भइरहनु र एकाएक नेपालमा कम्युनिष्ट शासक बन्नु, त्यो पनि चमत्कारपूर्ण बहुमतका साथ, यो विषयका बारेमा विश्वभरिका प्रजातान्त्रिक सोचहरुले विश्लेषण गरिरहेका छन् ।
प्रजातन्त्रका लागि हिन्दुराष्ट्र र राजसंस्था प्रवल हुनथाल्यो अव ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper