banner
banner

राप्रपा : न हलो, न मुङग्रो ?

धर्मरत्न श्रेष्ठ -
कमल थापा, पशुपतिशमशेर जबरा र डा.प्रकाश चन्द्र लोहनीको ३ थरि राप्रपा छ । पटक पटक जुट्ने र नेतृत्व तथा आपसी क्रियाकलापबाट रुष्ट बनेर फुट्ने, यस्तो बारम्बार भइरहेको छ यी पूर्वपञ्चको पार्टीमा ।
अहिले फेरि राप्रपा र राप्रपा प्रजातान्त्रिक वीच फेरि एकीकरणको प्रक्रिया सुरु भएको छ । यी दुबै पार्टीले बुद्धिमान तामाङ र पशपतिशमशेर जबरावीच वार्ता थालनी गरेका छन् र यस्तो वार्ता एकमात्र सांसद राजेन्द्र लिङदेनले पनि चलाइरहेका छन् । राजेन्द्रले यो एकीकरणमा डा.प्रकाशचन्द्र लोहनीलाई समेत सहभागी गराउने भित्री प्रयास जारी राखेका छन् । उनले बुझेका छन्– अव एक नभई संंगठन बलियो हुन्न र कम्युनिष्टको जीतको श्रृंखला तोड्न सकिन्न । यद्यपि राजेन्द्रलाई केपी ओलीले समर्थन दिएर चुनावमा जित्न जिताउन सम्भव बनाएका थिए ।
बुद्धिमान तामाङका अनुसार हामी पार्टी एकीकरण गर्ने प्रस्ताव लिएर राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति राणाको निवासमा पुगेका थियौं, हामीले राखेको प्रस्ताव राणाले सहर्ष स्विकार्दै पार्टी टुक्रिएकै बिन्दुबाट एकीकरणको प्रक्रिया सुरु गर्न आफू र आफ्नो पार्टी पंक्ति तयार रहेको जनाउ दिएका छन् ।
यद्यपि समस्या उही छ, पदीय हैसियत र कार्यकारी पदहरुको बाँडफाँड । विधानबारेकोसहमति । पशुपति शमशेर जबराले दीपक बोहरा, विक्रम पाण्डे, सुनिल थापासमेत रहेको एकीकरण सम्भव बनाउने समिति निर्माण गरेका छन् ।
यता राप्रपाले टंक ढकाल, राजेन्द्र लिंगदेनको समितिलाई अधिकार दिएको छ ।
अव राप्रपा एकीकरण हुने तैयारी त सुरु भएको छ । एकीकरण पनि होला । यसअघि एकीकरण भएको केही महिना पनि चल्न सकेन । पशुपतिशमशेर जबरा विद्रोह गरेर निस्किए । डा.प्रकाशचन्द्र लोहनीले पनि कमल थापाले अधिनायकवादी तरिकाले पार्टी सञ्चालन गर्न थालेको आरोप लगाएका थिए । एकीकरण फेरि होला, फेरि पनि यी पूर्वपञ्चहरुका वीचमा मतैक्य कायम रहला कि केही समयमै फेरि नेतृत्व र कार्यशैलीकै विषयलाई लिएर मतभेद हुने हो, भन्न सकिन्न ।
एकीकरण भएको थियो, मिलेर चुनावमा गएको भए चौथो शक्ति, ३७ सांसदबाट १ मा झर्नुपर्ने थिएन । अहिले राप्रपा न हलो, न मुंग्रोको स्थितिमा छ । बुद्धि बंगारो पलाएको भए त ठिकै छ, नौटंकी हो भने के अर्थ रह्यो र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper