banner
banner

उता महाथिर, यता ओली

धर्मरत्न श्रेष्ठ -
चुनाव मलेसिया निर्माता महाथिर मोहम्मदले पनि  जिते । उनले आधुनिक मलेसिया निर्माण गरेर सुस्ताएका थिए, फेरि बिग्रन बिगार्न थालेको भनक पाएर जनतालाई ‘म मरेको छैन’ भनेर के आह्वान गरेका थिए, जनताले उनलाई जिताइदिए । मलेसियाका प्रधानमन्त्री बनेका महाथिरको पहिलो निर्णय यसरी आयो कि उनले सरकारी खर्च र मन्त्रीमण्डलको तलव सुविधा कटौती गरिदिए ।
महिनादिनमै महाथिरले ५० खर्ब डलर राष्ट्रिय ढुकुटीमा फिर्ता ल्याए । गरौं भने सकिनेरहेछ । जनताले उनलाई किन राष्ट्रका धरोहर माने, यो त उदाहरणमात्र हो । महाथिरलाई त्यसै पनि मलेसियालीले राष्ट्रपिता मान्छन् । ९२ वर्षमा देश बिग्रन्न दिन्न भन्दै सत्तामा पुगेका महाथिरले उच्च सरकारी खर्चलाई कटौती गरेर २५१ अर्वमा डलरमा झार्ने र समुन्नतिको दर बढाउने घोषणा गरेका छन् ।
भन्नलाई हाम्रा प्रधानमन्त्री ओलीले पनि घूस खान्न, खान दिन्न भनेका छन् । बिधिको शासनमा चल्छु, सुशासन ल्याउँछु पनि भनेका छन् । आर्थिक क्रान्ति गरेर देशको सम्बृद्धि एकमात्र लक्ष्य छ भनेर हुँकार पनि गरेका छन् । तर यही उनले न त आयल निगमको भ्रष्टाचार छुन सके, न सुन काण्डलाई टुंगोमा पुर्‍याउने इच्छाशक्ति नै देखाए । सुशासन भन्नेले घूसखोरी र अनियमितता गर्नेलाई कडा कारवाही गर्ने चाँजोसमेत मिलाएका छैनन् । खाली चुच्चे रेल, मोनोरेल, पानीजहाजका सपना देखाइरहेका छन् । महाथिरले जसरी भ्रष्टाचारमाथि लगाम कस्न सुरु गरेका छन्, हाम्रा प्रधानमन्त्री त भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियारलाई सक्रिय पार्नसमेत तैयार देखिदैनन् । यिनलाई पनि अख्तियार हनुमान भएकै मन परेको छ ।
मलेसियाजस्तो ठूलो र सम्पन्न मुलुकमा दर्जन मन्त्री बनाएका छन् महाथिरले । हाम्रो त डेढदर्जन मन्त्री, हरेक प्रदेशमा मन्त्री, मलेसियामा एक सरकार छ, नेपालमा त ७ सय ६१ सरकार छन् प्रदेश, केन्द्र, स्थानीय निकाय मिलाएर । यी सबैलाई पाल्नुपर्ने दायित्व आमनागरिकमाथि कर थोपरेर हो, बजेटले थोपरेको छ ।
महाथिरले पत्रकारलाई बोलाएर भने– सरकारको दृष्टि आर्थिक समस्या समाधानमा छ । सरकार उच्च सरकारी कर्मचारीको सुविधा कटौतीलाई ऐच्छिक बनाउँछौं । देशका लागि योगदान गर्न चाहने सबैलाई स्वतन्त्रता छ । हाम्रो निर्वाचन घोषणापत्रमा जे लेखिएको छ, त्यसमा सरकारले तलमाथि गर्दैन, पूरा गरेर देखाउँछ । जुनसुकै बिधि अपनाएर भए पनि देशको अर्थतन्त्र मजबुत पारिने छ ।
यस्तो हुन्छ राजनेता भनेका । प्रधानमन्त्रीले त घोषणापत्रको वास्ता गर्न छाडिसके, सपना देखाएर शासन थालिसके । महाथिर बन्न पाएको अवसर गुमाउँदैछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper