banner
banner

गृहमन्त्रीको के ताल हो यो ?

पदम हमाल -
गृहमन्त्रीको काम कानुन व्यवस्था ठिक पार्ने हो । ठेकेदारलाई बोलाएर थुन्ने हो र ? ठेकेदार नियुक्त गर्ने तालुकदार मन्त्रालय, विभाग, कार्यालय, आयोजनाहरु छन् । तिनीहरुसँग सहकार्य गरेर ठेकेदारहरुले किन टेरेनन् ? कानुन के भन्छ ? कर्मचारीहरुको मिलोमतो अथवा राजनीतिक नेताहरुको संरक्षण के छ ? त्यसमा प्रधानमन्त्रीसँग परामर्श गरेर कानुनलाई क्रियाशील पार्ने हो कि ठेकेदार बोलाएर थुन्छु भन्ने ?
खरावी, बदमासी मन्त्रालयहरुमा छ । मन्त्रालयहरुले जुन जुन कामको ठेक्का लगाएका छन्, ठेकेदारहरुसँग तिनले कमिशन खाएकै कारणले ठेकेदारले अटेर गरेको सबैलाई थाहा छ । जब कर्मचारीले गजेट र बजेट मिलाएर भ्रष्टाचार गरिरहेका छन् भने गृहमन्त्रीले ठेकेदार बोलाएर हुने केही होइन । कानुन मन्त्रालय, तालुकदार मन्त्रालय र प्रधानमन्त्री चुपचाप छन्, ठेकेदारहरुले ठेक्कामा लिएका काम छाडिदिएका छन्, कतिले त कामभन्दा दोब्बर रकम लिएर भागेको खबर पनि छ । तालुकदार मन्त्रालयले केही नभन्ने, गृहमन्त्री सक्रिय हुने भनेको पिँध नतातेर बिड तातेजस्तो भएन र ? लोकतन्त्रमा विधिको शासन हुनुपर्छ, बाहुबली तरिका मान्य हुनसक्दैन । सुशासन कामय गर्ने भए हिम्मत गरेर सबै योजना, आयोजनाहरुमा कुन कुन ठेकेदार छन्, तिनका काम र गुणस्तरबारे सरकारले छानबिन गराओस् । ठेकेदारले नै बकपत्र गरिदिनेछन्, कसले कति घूस खाए, ठेकेदारले कति पाउने हो ? गृहमन्त्रीको काम ठेकेदारलाई पक्राउ गर्ने होइन, ठेकेदारले काम नगर्नुका कारण पत्ता लगाएर दोषीमाथि कारवाही गर्नु ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper