banner
banner

जंगल जंगलमा सशस्त्र तालिम

काठमाडौं । सिरहादेखि दाङको जंगल, चुरे भित्रभित्र नेकपा माओवादी (विप्लव)ले सैन्य तालिम दिएको मात्र होइन, अत्याधुनिक हतियार भित्र्याएको सम्मका खबरले राजनीतिक र कूटनीतिक बृत्तमा समेत सनसनी फैलाएको छ ।
सरकारलाई यो सब खबर छ । सरकारले विप्लव माओवादीका कार्यकर्ता र विप्लवलाईसमेत जहाँ देखे पक्राउ गर्ने आदेश पनि जारी गरेको हो तर अर्धभूमिगत रुपमा आफ्ना पार्टीको संगठन बिस्तार, चन्दा उठाएर आर्थिक मजबुती र लडाकुदस्ता तैयार गरिरहदा पनि सरकार
प्रभावकारी हुन नसकेकाले विप्लव माओवादीको हौसल बढेर गएको छ ।
त्यसै पनि मधेसमा सयभन्दा बढी सशस्त्र समूह जुर्मुराइरहेका छन् भने २ नम्बर प्रदेशका मुख्यमन्त्रीमाथि विदेश जान रोक लगाउने र संसदमै प्रधानमन्त्रीले मोदीको स्वागत गर्दा आन्तरिक मुद्दा उठाएर उजुरी हालेकोमा असन्तुष्टि जाहेर गरेपछि मधेसीहरु उनले उठाएको मुद्दा सही हो, संविधानले विभेद गरेकै हो, हकका लागि मधेस आन्दोलित छ भन्ने शैलीमा व्यापक प्रचार प्रसार गर्न थालेका छन् ।
विप्लव माओवादीका कृयाकलाप सीमावर्ती क्षेत्रमा बढ्नु र बिखण्डनवादी समूह सलबलाउनुले नेकपा बनाएर चुरीफुरीमा लागेका ओली प्रचण्डमाथि नयाँ चुनौती थपिएका छन् ।
हुन त माओवादी जनयुद्धलाई पनि भारतले नै संरक्षण गरेर हुर्काएको थियो भने अव विप्लव समूहलाई पनि हतियार भित्र्याउन सीमाक्षेत्रबाटै सहयोग हुनु भारतको नयाँ पासो हुनसक्छ । पहिलेको पासोमा राजा परे, अवको पासोमा प्रचण्ड, ओली पर्न सक्छन् ।
विप्लव समूहले भाला, लाठी, अत्याधुनिक हतियार चलाउन र लुकेर हान्ने कला सिकाउनु भोलिको नेपाल शान्ति, सम्बृद्धि र सुशासनमा होइन, अर्को रक्तपाततिर उन्मुख भएको अर्थमा विश्लेषण हुनथालेको छ ।
यता प्रचण्डले छोडेका र विप्लवले पनि किनारा लगाएका मोहन वैद्य किरणको समूह पनि चुरे क्षेत्रमा युवाहरु जमघट गराएर सैन्य कवाज खेलाएको देखिएको छ । सरकारको यस्ता घटनाप्रतिको मौनता रहस्यमय मानिएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper