banner
banner

मेलम्चीको पानी र पशुपतिशमशेर

काठमाडौं । पूर्वमहापञ्च पशुपतिशमशेर जबरा पटक पटक जलस्रोत मन्त्री भए । उनी काठमाडौंमा बस्ने श्री ३ का नाति पनि हुन् जसले राजनीतिक क्षेत्रका रुपमा सिन्धुपाल्चोकलाई चुने । उनले पञ्चायतका आखिरी दिनमा नै भनेका थिए– मेलम्चीको पानी काठमाडौंमा ल्याउन सकिन्छ । पञ्चायतको पतन भयो, बहुदल आयो, पञ्चहरु प्रजातान्त्रिक पार्टी खोलेर काँचुली फेरेर राजनीतिक मैदानमा उत्रिए ।
त्यसपछि जाइका लगायतका सस्थाले मेलम्चीको पानीको अध्ययन थालेका हुन् । यतिमात्र होइन, बहुदलको सुरुकै दिनमा कांग्रेसले मेलम्चीको पानी ल्याएर काठमाडौंलाई दिनको तीनपल्ट धोइदिने हावादारी गफ गरेर पनि भोट बटुले । तर, मेलम्चीको पानी ल्याउने सक्रियता कांग्रेसले गरेनन् । सन २००८ मै मेलम्ची ल्याइसक्ने योजना बन्यो तर मेलम्चीको व्यापक बजेट र आयोजनालाई नेताहरुले कार्यकर्ता भर्तिकेन्द्र बनाए, योजनाको बजेटबाट विदेश घुमे, योजनाका करोडौं पर्ने गाडीहरु नेताहरुले कब्जा गरे ।
सन १९९८ को ४ सय ६४ मिलियनको यो आयोजनामा एडीवीले ऋण सहयोग गरेको हो । मेलम्चीको पानी सुरुङमार्गबाट सुन्दरीजलमा १७० एमएलडी पानी खसालेर राजधानीलाई पर्याप्त पानीमय बनाउने यो योजना सन २०१८ मा पनि आउन मुस्किल मुस्किल परिरहेको छ । बल्ल सुरुङ खनिसकिएकोले आउने असोज मसान्तसम्ममा मेलम्चीको पानी सुन्दरीजलमा झार्ने काम हुन्छ भनिएको छ ।
पञ्चले उहिल्यै भनेको र योजना बनाएको मेलम्ची आयोजना राजनीतिक उतारचढाव र भ्रष्टाचारको खेतीका कारणले ६ वर्षमा आउनुपर्ने मेलम्ची २० वर्षमा बल्ल आउनसक्ने स्थितिमा पुगेको छ । तर यसको लागत ३ दोब्बरले बढेको छ र यो ऋणको भारको पाइ पाई जनतामाथि कर लादेर उठाइने छ ।
यति हुँदा पनि जनता बोल्दैनन्, पूर्वपञ्चहरु अलि बोल्नसक्ने थिए, तिनीहरु चुनाव हारेर सन्निपात लागेको बिरामीजस्तो बनेका छन् । आपसी कलह र मारामार गरेर चुनाव लडेका पूर्वपञ्चहरुको ३ पार्टी यतिखेर तीन चित परेका छन् । हुन त कांग्रेस पनि हरुवा नै हो । तथापि बैकल्पिक शक्तिका रुपमा उदाउन सक्ने पूर्वपञ्चहरुलाई यसपटक एमाले माओवादी गठबन्धनले सखापै पारिदिएको छ । अझै यिनीहरु एकताको पक्षमा उभिन सकेका छैनन् ।
हिन्दुराष्ट्र र राजतन्त्रमा उभिन नसक्दा, मत बाझाबाझ गर्दा पूर्वपञ्च सिद्धिएका हुन् भने कांग्रेसले पनि यही मुद्दा अर्थात वीपीवादलाई अंगिकार गरेको भए यस्तो दयनीय हालत हुनेथिएन ।
अव एमाले र माओवादी केन्द्र मिलेर अघि बढे भने अर्को कतिवटा आवधिक चुनावमा पूर्वपञ्च अथवा कांग्रेसले चियान पनि पर्नेछैन । नेपाल कुनै बेला ३५ वर्ष लामो कम्युनिष्ट शासनजस्तो बन्न बेर छैन भन्छन् विश्लेषकहरु ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper