banner
banner

उपमेयर नै श्रीमानबाट कुटिएपछि

अधिवक्ता गंगा दाहाल -
गाउँपालिका, नगरपालिकाहरु स्थानीय सरकार हुन् । सिंहदरवार गाउँसम्म पुग्छ भनेको यही हो । स्थानीय निकाय अधिकार सम्पन्न भएकाले यी निकायको कानुनव्यवस्था मिलाउनेदेखि विकास निर्माणसम्मका चुनौतीहरु छन् । जो जनप्रतिनिधिहरु चुनिएका छन्, तिनले यी चुनौतिहरुको सामना गर्नुपर्छ । अझ महिला सहभागिता व्यापक भएकाले महिलाहरुको लागि त झन धेरै चुनौतिहरु छन्, यी चुनौतिसँग सामना गर्नु पितृसत्तात्मक समाजमा निकै मुस्किल छ ।
यही मुस्किलको सामना कसरी गर्नुपर्छ भन्ने पहिलो घटना गोदावरी नगरपालिकाबाट सार्वजनिक हुनपुगेको छ । सबै महिला प्रतिनिधिको समस्या हो यो ।
जनप्रतिनिधि बनेकी महिला नै प्रहरीमा जानुपर्ने, घरझगडा घरमै सुलह गर्न नसकिने स्थितिले महिला हिंसाले कसरी जरो गाडेको छ हाम्रो समाजमा भन्ने पनि बुझ्न सकिन्छ । लोकतन्त्र त आयो तर महिला स्वतन्त्रता हकका रुपमा रुपान्तरण भइसकेको छैन, यसलाई स्वयम् महिलाले नै अग्रसर भएर समाजको सोचलाई परिवर्तन गर्नुपर्छ । उपमेयरको समस्याले यही शिक्षा दिएको छ सबैलाई ।
गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीलाई श्रीमान ध्रुव अधिकारीले भकुरेछन् । उनका अभिव्यक्तिहरु जे जति आएका छन्, ती पीडादायक छन् । पुरुष र महिला रथका दुई पांग्रा हुन् भने एक पांग्राले रथ चल्न सक्दैन । यो कुरा सबैले बुझ्नुपर्छ । विश्वासमा संसार अडेको छ, अविश्वास गर्ने भए जुनसुकै बेला आकाश खस्छ । अविश्वासमा न घर चल्छ, न समाज । देश चलाउन पनि विश्वास नै चाहिन्छ । उफ्, महिलाका लागि कति पीडादायक छ खबर । जुन परिवार शिक्षित छ, समाज सुधारमा समेत लागेको छ, त्यो परिवारमा महिला हिंसा, अझ त्यसमाथि नगर बनाउन लागिपरेकी, जनताले विश्वास गरेर जनमत समेत पाएकी उपमेयर आफै घरेलु हिंसाबाट पीडित हुन्छिन् भने हिमाल, पहाड, मधेसका महिलाहरुको स्थिति कति दयनीय होला, सहजै अनुमान गर्न सकिन्छ ।
घरझगडा चक्र्यौ, सहन गर्न नसकेपछि उपमेयर ललितपुर प्रहरी परिसरमै पुगेर न्यायको खोजीमा लागिपरिन् । गोदावरी नगरपालिकाकी न्यायिक समितिकी संयोजक जसले सिंगो नगरपालिकामा न्याय सम्पादनसमेत गर्नुपछृ, उनी आफै न्यायको खोजीमा, सुरक्षा चाहियो भनेर प्रहरीमा जानुपर्ने स्थितिले राजधानीमा बढेको महिला हिंसाको ज्वलन्त दृष्टान्त देखाएको छ । जानकारहरुले खुब भनेका थिए– महिला हिंसा हुनेखाने र पढेलेखेका परिवारमा झन बढी हुन्छ ।
श्रीमतीको उजुरीमा, अझ उपमेयरको उजुरीमा श्रीमान ध्रुवलाई प्रहरीले पक्राउ गर्‍यो । त्यसपछि आफन्तजनले सहजकर्ताको भूमिका निभाए, गत मंगलवार थुनिएका श्रीमान बुधवार मुक्त भए । श्रीमान श्रीमतीवीच सुलह भयो ।
ध्रुवले सहज रुपमा बताएका छन्– श्रीमतीले घरका लागि समय व्यवस्थापन गर्न सकिनन् । सामान्य घरझगडा भएको हो, जसको घरमा पनि झगडा हुन्छ । तर कुरो यत्ति होइन । जनप्रतिनिधि भएपछि रातबिहान जनताले गुहार लगाउँछन्, विकास निर्माणका कुरा हुन्छन्, बैठक र नीति निर्णय गर्नुपर्ने हुन्छ । हरेक वडामा पनि जानुपर्छ । यसकारण जनप्रतिनिधि व्यस्त हुनु स्वभाविक हो । यो व्यस्ततालाई पुरुषहरु गलत दृष्टिकोणले हेर्छन् । पुरुषहरु शंका उपशंकाका दृष्टिले पनि हेर्छन् र गाली गर्ने गर्छन् । अदव चाहिन्छ, अनुशासनमा पनि बस्नुपर्छ । यसो भन्दैमा जनप्रतिनिधि भइसकेपछि जनताको कुरा सुन्नैपर्छ, जनताले बोलाएपछि त्यहाँ पुग्नैपर्छ र जुन समस्या हो त्यसको निदानका लागि खटिनैपर्छ । यो खटिने क्रममा अबेर हुनसक्छ, यही समस्याले गदौ महिलाहरु माथि हिंसा हुन्छ । उपमेयरलाई आएको आपत हामी महिलाको आपत हो । यस्ता आपतसँग मुकाविला गर्ने र देशव्यापी महिला हिंसा कम गर्ने दायित्व पनि महिला प्रतिनिधिकै काँधमा छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper