banner
banner

माओवाद प्रचण्डपथ स्वाहा: स्वाह :

रोशन कार्की -
दशा कट्टा हुने, शुभदिन सुरु हुने ज्योतिषको सुझाव मानेर भैंसी पूजा गर्ने प्रचण्डले थानकोटतिर पुगेर नरनारायण बाबाको खुट्टा ढोकेको सुनिएकै थियो, त्यसको केही वर्षपछि अव यसरी आस्तिक, पूर्वीय दर्शनको रुढीवादमा चुर्लुम्मै डुबेर पूजापाठमा देख्नुपर्‍यो ।
पहिले पहिले भनिन्थ्यो, मान्छे पहिले कम्युनिष्ट बन्छ, बिग्रन्छ र कांग्रेस बन्छ । प्रचण्डको हकमा अर्का मोहनचन्द्र अधिकारीको रुपमा देख्न थालिएको छ ।
मोहनचन्द्र अधिकारी, कम्युनिष्ट आन्दोलन, झापा क्रान्तिका नायक, आजकल रुद्राक्षको माला लाएर मन्त्र जपनामा दिन बिताइरहेका छन् । देवासुर संग्राम लेख्ने लेखक मोदनाथ प्रश्रित पनि आस्थिक बनेका छन् । जसरी महाकवि देवकोटाले आखिर श्रीकृष्ण रहेछ एक भनेर जीवन त्यागे, मान्छेहरुको निर्वाणा आखिरमा भगवानमा लीन हुनुनै रहेछ ।
यसकारण प्रचण्डको यो पूजापाठ देखेर मान्छेहरु भन्न थालेका छन्– ॐनमो शिवाय स्वाहा: मा प्रचण्डपथ, माओवाद सबै स्वाहा: हुन थालेको छ । जतिसुकै लडाकालाई उफारे पनि, स्कूलिङमा उचाले पनि स्वयम् माष्टरको यो गतिमतिले के स्पष्ट पार्छ भने सबका मालिक एक । आखिर श्रीकृष्ण रहेछ एक ।
जनयुद्धताका कसैले काजकिरिया गर्न पाएनन्, मन्दिरमा पिसाव फेरियो, आस्था भत्काइयो, क्रान्ति भनेको बिनास हो भनेर इतिहास, गौरव, महिमा र गरिमा मात्र होइन मानवीय संवेदनको विनास नै गरियो । त्यो बिनासलीलाको घाउ आज पनि चहराइरहेको छ । तर, जनयुद्धका सेनापति यतिबेला पूजापाठमा व्यस्त हुनथालेका छन् । हिजोको क्रान्ति अग्रगमन थियो भने यो कतातिरको गमन हो ? मोक्षमार्ग यही थियो भने हिजोको त्यति ठूलो विनासलीलाको अर्थ र औचित्य के रह्यो ? सही थियो भनेर कसरी र कुन तर्क दिएर प्रमाणित गर्ने ? बुझ्नेहरु छक्क परेका छन् ।
सत्ता भनेको सूर्यमुखी नै रहेछ । नेताहरु जब सूर्यमुखी हुन्छन्, उनीहरुको दृष्टिले सत्ताबाहेक केही नदेख्दो रहेछ ।
आमनागरिक आस्थावान छन् भन्ने थाहा पाएपछि नेताहरु यसरी कर्मकाण्ड गर्न कत्ति नलजाउने रहेछन् ।
माओवाद पनि यसरी सहज तरिकाले बाहुनबादमा रुपान्तरण हुनेरहेछ ।
आधुनिक चेतना थियो माओवादमा, छलाङ लगाउने तर्कनाहरु थिए, हिम्मत र आँट थिए, सत्ताको लोभमा ती सबै सिद्धान्तहरु यसरी छेपाराले रङ बदलेजसरी कति सजिलै क्रान्तिवाद बाहुनबाद बन्नेरहेछ । १० वर्षे जनयुद्धमा १७ हजारभन्दा मान्छे मरे, मारिने वातावरण बनाइयो । यसमा दोष राज्यको छ, राज्यविरुद्ध धावा बोल्नेको पनि कम छैन । यो अपराधको छिनोफानो गर्न भनेर गठन गरिएको बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगको २ वर्षे कार्यकाल सकिएर फेरि म्याद थपियो । ती आयोगले उजुरी लिने बाहेक केही काम गरेका छैनन् । कारण स्पष्ट छ, सरकारमा यिनै दलहरु गएका छन् र राजनीतिक दबाबमा ती आयोगहरुले काम गर्नसक्ने वातावरण नै छैन । फेरि ती आयोगहरुमा जो आयुक्तहरु नियुक्त भए, तिनीहरु यिनै दलले छनौट गरेका पात्रहरु रहेका छन्, यसकारण पनि ती आयोग अपाङ्ग छन्, तिनले काम गर्ने सवालै छैन ।
यहीकारण बेपत्ता र मारिएका व्यक्तिका परिवारजन रगतको आँसु रोइरहेका छन् । उनीहरुलाई न्याय दिने कसले ? संक्रमणकालीन न्याय व्यवस्थापन गर्ने कसरी ? कम्युनिष्टहरु जसरी पनि आममाफी दिएर जनयुद्धका सबै फौजदारी र अन्य अपराधलाई सफाइ गर्न खोजिरहेका छन् । तिनका सामु चुनौती छ भने अन्तर्राष्ट्रिय मानवाधिकारवादीहरु धरहरा बनेर उभिनुमा छ । अहिले पनि अन्तर्राष्ट्रिय समुदाय नेपालको जनयुद्धका मुद्दाहरुलाई निगरानी गरिरहेका छन् । यहीकारण माओवादी नेतृत्व तह निकै अप्ठेरोमा परेको छ भने सरकारले पनि निर्णय गर्न सकिरहेको छैन । अव के गर्ने, जनयुद्धका मामिला सरकारका सामु यक्ष प्रश्न बनेर उभिएको स्थिति छ ।
संक्रमणकालीन न्याय व्यवस्थापन नभएसम्म संविधान कार्यान्वयन भयो भन्न सकिने अवस्था छैन । कुनै पनि बेला यो मामिला अन्तर्राष्ट्रिय समुदायले उठाउन सक्छ र नेपालमाथि हस्तक्षेप नहोला भन्न पनि सकिन्न । यो फोटो नेता प्रचण्डले हुलाकी सडकअन्तर्गत सिरहा खण्डको जिरो प्वाइन्ट मानिने बरियारपट्टीमा २०७४ चैत्र ६ गरे मंगलबार शिलान्यास गर्दै गरेको तस्बिर हो । हुलाकी सडक ९ सय ७५ किमि र उत्तर–दक्षिण जोडिने सहायक सडकसहित १ हजार ७ सय ९२ दशमलव ४२ किमि स्तरोन्नतिका लागि ४७ अर्ब २४ करोड बजेट विनियोजन गरिएको सडकमा धार्मिक विधिअनुसारको पूजाआजाबाट सुरुआत गरिदैछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper